यार्साको संकटले दैनिकी गुजारा धरापमा

गाेल्डेन बुढा

जुम्ला,७ साउन ।
जुम्लाको पातारासी गाउँपालिका–३ हुरी गाउँका ३३ वर्षीय लालिराम बुढा यार्सागुम्बा संकलन गर्न छिमेकी जिल्ला मुगुका विभिन्न पाटनमा जान थालेको झन्डै १७ वर्ष नाघ्यो। यस वर्ष पनि उनी जेठ २८ गते साथीहरूसँग ठूलो मैथान पाटन पुगे। पाँच दिनसम्म कठिन हिमाली बाटो हिँडेर करिब ३५ हजार रुपैयाँ बराबरको बन्दोबस्तीको सामान बोकेर पाटन पुगेका उनीहरूले जेठ ३ गतेदेखि यार्सा संकलन सुरु गरे। तर असार ६ गतेसम्म उनले जम्मा ३ सय ५५ वटा यार्सागुम्बा मात्रै संकलन गर्न सके। त्यो पनि अपेक्षित मूल्य नपाएपछि घरमै बोकेर फर्किनुपर्‍यो।‘डरलाग्दा भीरपाखा छिचोल्दै ज्यानको बाजी राखेर पाटन पुगियो, विगतको जस्तो यार्सा पाउन सकेनौँ,’ उनले भने, ‘खर्च बढ्दै गयो, दिनभरि पाटनमा डुले पनि यार्सा पाउन मुस्किल भएपछि असारको पहिलो सातामै गाउँ फर्कियौँ।’उनका अनुसार पाटनको सबै खर्च कटाएपछि ५० हजार रुपैयाँ आम्दानी गर्न पनि यस वर्ष कठिन भयो। जबकि गत वर्ष यार्साबाट उनले ४ लाख ८६ हजार रुपैयाँ कमाएका थिए,त्यसअघिको वर्ष ४ लाख ३१ हजार रुपैयाँ आम्दानी भएको थियो।लालिरामले नौ वर्षअघि पातारासी गाउँपालिका–४ स्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरबाट एसएलसी उत्तीर्ण गरेका थिए। तर घरको कमजोर आर्थिक अवस्थाका कारण पढाइ अघि बढाउन सकेनन्। उनी घरका जेठा छोरा हुन्। बाल्यकालमै बुबाको निधन भयो। अहिले घरमा आमा, श्रीमती र एक छोरी छन्। एक भाइ भने ज्वाइ बस्न लागि घरबाहिर गएका छन्।घरको खेतीपातीले वर्षभरि खान पुग्दैन।

त्यसैले यार्सागुम्बा नै परिवारको मुख्य आधार बनेको छ।‘घरको खेतीपातीले छ महिना पनि खान पुग्दैन,’ उनले भने, ‘यार्सागुम्बाले नै वर्षभरिको खर्च धान्थ्याे। एक महिना पाटनमा कडा मेहनत गर्‍यो भने वर्षभरि खान–लगाउन पुग्थ्याे ?’ तर यो वर्ष भएन।उनी अहिले जुम्ला सदरमुकाम खलंगास्थित जीएमडी बोर्डिङ स्कुलमा गेटपालेको काम गर्छन्। मासिक १३ हजार रुपैयाँ तलब पाउँछन्। तर त्यो आम्दानीले मात्रै परिवार धान्न नसक्ने भएकाले प्रत्येक वर्ष यार्सा संकलनमा जानैपर्छ।यस वर्ष पाटन प्रवेश शुल्क प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तिरे। पाल हाल्न पाँच हजार पाँच सय रुपैयाँ थप खर्च भयो। बाटोभरि खाने पिठो, चामल, चिउरा, सातु, चाउचाउदेखि ओढ्ने–बिछ्यौना बोकेर पाटन पुग्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।

जुम्लाको सिंजा गाउँपालिका–६ का मनोज बुढा पनि पत्नी कल्पनासहित दुई सातासम्म पाटन बसे। झन्डै ३० हजार रुपैयाँ खर्च गरेर मुगुको पाटन पुगेका उनीहरूले जम्मा १० वटा यार्सा मात्रै संकलन गरे।‘छ वटा मैले पाएँ, चार वटा श्रीमतीले पाइन्,’ उनले भने, ‘कुनै दिन एउटा पनि पाइँदैनथ्यो, पाइए पनि एउटा मात्रै भेटिन्थ्यो। सबै फर्किन थालेपछि हामी पनि फर्कियौँ।’पाटनमै चिसो लागेर उनकी श्रीमती कल्पना दुई दिन बिरामी परिन्।‘माथि भीरैभीर, तल नदी। त्यस्तो ठाउँमा हिउँ पन्छाएर बाटो बनाउँदै पाटन पुगियो,’ उनले भने, ‘उत्पादनै कम भयो। पोटिलो यार्सा पनि भेटिएन। त्यसैले छिट्टै फर्कनुको विकल्प रहेन।’गत वर्ष उनीहरूले यार्साबाट करिब ५० हजार रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष भने पाटन पुग्न लागेको खर्चसमेत उठेन।‘मूल्य पनि थिएन,’ उनले भने, ‘दुई सय ५० देखि तीन सय रुपैयाँ प्रतिगोटा मात्रै भनियो। यसपालि बेचेनौँ, घरमै ल्यायौँ।’उनका अनुसार यार्साबाट जीविकोपार्जन गर्न नसकिने अवस्था आएपछि भारत मजदुरी जानुको विकल्प नरहने देखिएको छ।‘घरको खेतीले पाँच–छ महिनाभन्दा बढी पुग्दैन,’ उनले भने, ‘हाम्रो मुख्य पेशा नै यार्सा हो। वर्षभरिको खर्च जुटाउन मुस्किल हुन्छ।’भर्खरै सुर्खेतबाट कक्षा १२ उत्तीर्ण गरेकी बिमा रोकाया पनि यस वर्ष दिदी–भिनाजुसँग पाटन पुगेकी थिइन्। राम्रो यार्सा बेचेर कोरियन भाषा कक्षा, ब्याचलर अध्ययन, कोठाभाडा र अन्य खर्च जुटाउने योजना थियो।१२ हजार रुपैयाँ खर्च गरेर पाटन पुगेकी उनले मुस्किलले चार वटा मात्रै यार्सा भेटाइन्।‘दुई दिनसम्म हिउँ पर्‍यो,’ उनले भनिन्, ‘जाँदा–आउँदाको दुःखको त कुरै नगरौँ। लेक लाग्ने, भीरबाट खस्ने, बिरामी हुने जोखिम मोलेर रातभरि हिँड्नुपर्छ। यो वर्ष यार्सा पनि कम फल्यो, मूल्य पनि पाएनौँ। पोहोरपरार डेढ महिनासम्म बस्थ्यौँ, यसपालि दुई सातामै फर्किनुपर्‍यो। लिएको खर्च पनि उठेन।’गत वर्ष उनले ८४ वटा यार्सा संकलन गरेर ६० हजार रुपैयाँभन्दा बढी कमाएकी थिइन्।

सिंजा गाउँपालिका–५ की बिस्नकली बुढा पनि झन्डै साढे नौ हजार रुपैयाँ खर्च गरेर मुगुको पाटन पुगेकी थिइन्। उनले सात वटा मात्रै यार्सा भेटाइन्।उनका अनुसार पाटनमै प्रतिगोटा दुई सय ५० देखि तीन सय रुपैयाँ मूल्य तोकिएको थियो। उनले बिक्री नगरी घरमै ल्याइन्।ओैषधी हुन्छ भनेर,‘दाजुले खानुभयो,’ उनले भनिन्।बिस्नकलीले ब्याचलर सकेकी छन्। लोकसेवा आयोगको तयारी गर्ने योजना थियो। तर यार्साबाट खर्च जुटाउने सपना यस वर्ष पूरा हुन सकेन।स्थानीयका अनुसार यस वर्ष अनुकूल वर्षा नहुनु, जलवायु परिवर्तन, वन विनाश, मानवीय गतिविधिको बढ्दो दबाब, आगलागी तथा यार्साको प्राकृतिक प्रजनन क्षमता घट्दै जानुले उत्पादनमा उल्लेख्य गिरावट आएको छ।यता संकलकहरूको जोखिम भने वर्षेनि उस्तै छ। कठिन भूगोल, अत्यधिक हिमपात, भीरपाखा, अस्थिर मौसम र असावधानीका कारण बर्सेनि संकलकहरूले ज्यान गुमाउनेदेखि घाइते हुनेसम्मका घटना दोहोरिन्छन्।

जुम्लाको पातारासी,गुठिचाैर,तातोपानी,तिला गाउँपालिका र सिंजा क्षेत्रका अधिकांश बासिन्दा कृषि उत्पादनले वर्षभरि गुजारा नचल्ने भएकाले यार्सा र अन्य जडीबुटी संकलनमै निर्भर छन्। लालिराम संगै पाटन पुगेका पातारासी–३ हुरी गाउँका खेम बुढाका अनुसार यार्सा मात्रै होइन, वर्षभरि मौसमअनुसार कटुको, पाँचऔँले, समयो, घुच्ची च्याउ, पदमचाल, लटेचुक, भुत्ले, सतुवा, अतिस, सेतकचिनीलगायतका जडीबुटी संकलन गरेरै परिवार चलाउनुपर्ने बाध्यता छ।‘जडीबुटीबाट आम्दानी नभए भारत मजदुरी जानुको विकल्प छैन,’ उनले भने, ‘हाम्रो मुख्य आयस्रोत नै जडीबुटी हो। उनका अनुसार हिमपात हुने समयबाहेक वर्षभरि कुनै न कुनै जडीबुटी संकलन भइरहेको हुन्छ।

यार्सागुम्बा अहिले पनि कर्णालीका हजारौँ परिवारको मुख्य जीविकोपार्जनको आधार हो। जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालीकोट, दैलेख, जाजरकोट, बाजुरा, मनाङ र मुस्ताङलगायत जिल्लाबाट हरेक वर्ष हजारौँ संकलक पाटन पुग्छन्। संकलकहरूका अनुसार बन्दुक (पेस्तोल) बोकेका लुटेराहरू पाटनमै सक्रिय हुन्छन्। यार्सा बेचेर नगद बोकेर सुरक्षित घर फर्किनु नै एउटा युद्ध जिते सरह हुने उनीहरूको अनुभव छ। त्यसैले राति सुत्दा पनि यार्साको झोला ढाडमै बाँधेर सुत्नुपर्ने बाध्यता छ।हरेक वर्ष महिला, युवा, विद्यार्थीदेखि काखे बालबालिकासहितका परिवार यार्साको खोजीमा पाटन उक्लिन्छन्। मुगुका छापाखोला, टाँके, रिमाड, हङदङ खोला, च्यार्कुलेख, छुमुरु, छुङडुङ, भावर खोला, असी पाटन, नयाँवन, टाङवाक, झोवालेख, वाङरी रमाना, धोवार खोला, च्याङ्जीलगायत दुई दर्जनभन्दा बढी पाटन अहिले पनि यार्सागुम्बा संकलनका प्रमुख गन्तव्य हुन्।स्थानीय सरकारको बजेटका पाना रोजगारीका योजनाले भरिएका हुन्छन्। कार्यान्वयन शून्य छ। ‘हामीले ‘गाउँमा सिंहदरबार आयो’ भन्ने सुनेका हौँ,’ उनिहरु भन्छन्, ‘तर सिंहदरबार आए पनि रोजगारी आएन। कुरा धेरै छन्, काम छैन।’युवाहरू भन्छन्, ‘हामीलाई ठूलो सपना चाहिँदैन, आफ्नै गाउँमा पसिना बगाउने अवसर होस्, कहिले आउला त्यो दिन, जब गाउँमै रोजगारी पाउँछौं?’व्यवस्था बदलियो, सत्ता फेरिए, भाषण बदलिए तर दैनिकी त्यही छ। गाउँ अझै सुनसान छ, युवाहरू अझै पाटन र कालापहाडको बाटोमै छन्। ‘गाउँमा सिंहदरबार आयो तर रोजगारी आएन’,

यार्साको संकटले दैनिकी गुजारा धरापमा

स्वास्थ्य, सामाजिक सुरक्षा र महिला सशक्तीकरणमा जानकी

यार्साको संकटले दैनिकी गुजारा धरापमा

सम्पादकीयः न्याय निरुपणमा विलम्ब नगर !

Leave a comment

Your email address will not be published. Required fields are marked *