बाँके पूर्ण खोपयुक्त जिल्ला कायम : ११ हजार ५६४ बालबालिका पूर्ण खोपको पहुँचमा

बाँके ,३० असार ।
बाँके जिल्लाका आठवटै स्थानीय तहका ११ हजार ५६४ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ। खोज तथा खोप अभियान सञ्चालन गर्दै जिल्लाका सबै लक्षित बालबालिकालाई राष्ट्रिय खोप निर्देशिका अनुसार आवश्यक खोप उपलब्ध गराइएको हो।
जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अनुसार जिल्लाभरका १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्था यकिन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा ११ हजार ५६४ जना बालबालिका पहिचान गरिएकामध्ये १० हजार ७९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले आवश्यक सबै खोपको मात्रा प्राप्त गरिसकेको पाइएको थियो।
सर्वेक्षणबाट ७६५ जना बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको तथ्य खुलेको थियो। तीमध्ये १८ जना ‘शून्य डोज’ अर्थात् कुनै पनि खोप नलगाएका र ७४७ जना बीचमै खोप छुटेका ‘ड्रपआउट’ बालबालिका रहेको पाइएको थियो।
जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले खोज तथा खोप अभियान सञ्चालन गरी पहिचान भएका सबै बालबालिकालाई आवश्यक खोप प्रदान गरिएको बताउनुभयो। उहाँले अभियानमार्फत जिल्लाका सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको उल्लेख गर्नुभयो।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार खोपबाट वञ्चित बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको अभियानले सकारात्मक परिणाम दिएको छ। उहाँले खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट सुरक्षित राख्ने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई समयमै सबै खोप लगाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले खोप लगाउने उमेरका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मी, स्थानीय तह र अभिभावकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई क्षयरोग, रोटाभाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज इन्सेफालाइटिस, दादुरा, रुबेला, टाइफाइड तथा एचपिभीलगायत १४ प्रकारका सरुवा रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ।
स्वास्थ्य कार्यालयले खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै खोपबाट वञ्चित हुने अवस्था अन्त्य गर्न अभिभावक, समुदाय तथा स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।





