२०८३ असार ३० गते
×

Now Playing

बन्द हुनै थालेको त्यो विद्यालय  बन्यो कोही नहुनेको शिक्षालय

ओम शाही

सुर्खेत, ३० असार ।

हरेक बिहानको १० बजेको घण्टी बज्नासाथ सल्यानको सारदा नगरपालिका–५ तल्लो मार्केस्थित जनकल्याण प्राथमिक विद्यालयको प्रांगण बालबालिकाको चहलपहलले भरिन्छ । कोही प्रार्थनाको तयारीमा हुन्छन्, कोही खेलमैदानतिर दौडिरहेका हुन्छन् । 

विद्यालय परिसरमै रहेको आवासमा केही बालबालिका बिहानको खाना सकेर कक्षातर्फ लाग्दै गरेका भेटिन्छन् । उनीहरूमध्ये धेरैका लागि यो विद्यालय केवल पढ्ने ठाउँ होइन, घर पनि हो । तर, तीन वर्षअघि यही विद्यालयको दृश्य बिल्कुलै फरक थियो । पाँच वटा कक्षा कोठामा जम्मा ६ जना विद्यार्थी थिए । विद्यालयमा दुई जना शिक्षक मात्रै थिए । जीर्ण भवन, बस्नै नमिल्ने कक्षाकोठा र घट्दो विद्यार्थी संख्याका कारण विद्यालय बन्द हुने संघारमा पुगेको थियो । यही अवस्थामा २१ साउन २०८० मा शिक्षक कृष्णबहादुर वली जनकल्याण प्राथमिक विद्यालयमा सरुवा भएर आइपुगे । उनी अहिले विद्यालयको सहायक प्रधानाध्यापकको रुपमा कार्यरत छन् । 

‘पहिलो पटक विद्यालयमा आउँदा अवस्था निकै दयनीय थियो,’ उनी सम्झिन्छन् । ‘विद्यार्थी थिएनन्, भवन जीर्ण थियो, अभिभावकको विश्वास हराइसकेको थियो । विद्यालय कसरी जोगाउने भन्ने नै सबैभन्दा ठूलो चुनौती थियो ।’ विद्यालयको यस्तो अवस्था देखेपछि सारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले वलीलाई एउटा जिम्मेवारी दिए—बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई फेरि चलायमान बनाउने । 

‘नगर प्रमुखज्यूले विद्यालयलाई कसरी पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने अध्ययन गर्न भन्नुभयो,’ वली भन्छन् । ‘मैले उहाँसमक्ष दुई कुरा राखेँ—पहिलो, भौतिक पूर्वाधार सुधार गर्नुपर्छ । दोस्रो, शिक्षक व्यवस्थापन गर्नुपर्छ ।’ त्यसपछि विद्यालयको पुनर्जीवन अभियान सुरु भयो । नगरपालिकाको पहल र विभिन्न दातृ निकायको सहयोगमा विद्यालय भवन मर्मत गरियो । खानेपानी, शौचालय, डेस्क–बेन्चलगायत आधारभूत पूर्वाधार व्यवस्थित भए । कक्षाअनुसार शिक्षकको व्यवस्थापन पनि हुन थाल्यो । तर, वलीका लागि सबैभन्दा ठूलो चुनौती अझै बाँकी थियो—विद्यालयमा विद्यार्थी कसरी ल्याउने ? गाउँका अधिकांश बालबालिका निजी विद्यालयमा पढ्थे । सरकारी विद्यालयप्रति अभिभावकको विश्वास हराइसकेको थियो । 

त्यसपछि वलीले कार्यालयमा बसेर विद्यार्थी पर्खने होइन, गाउँ–गाउँ पुग्ने निर्णय गरे । २०८० भदौको पहिलो सातादेखि उनी घरदैलो अभियानमा निस्किए । अभिभावकसँग भेटे । सरकारी विद्यालयमा फेरि विश्वास गर्न आग्रह गरे । विद्यालयमा भएका परिवर्तन देखाए । त्यसको परिणाम पहिलो वर्षमै देखियो । विद्यालयमा ३६ जना नयाँ विद्यार्थी थपिए । त्यसपछि विद्यार्थी संख्या निरन्तर बढ्दै गयो । अहिले जनकल्याण प्राथमिक विद्यालयमा एक सय ४० विद्यार्थी अध्ययनरत छन् । 

शिक्षकको संख्या दुईबाट बढेर ६ पुगेको छ भने गत वर्षदेखि कक्षा ६ सञ्चालनको अनुमति पनि प्राप्त भएको छ । विद्यालय किन रित्तियो भन्ने खोजी गर्दा अर्को तथ्य पनि भेटियो । सहायक प्रधानाध्यापक वलीका अनुसार २०७५ सालपछि विद्यालयमा आएको एउटा विकास योजनाको कार्यान्वयनलाई लिएर विद्यालय व्यवस्थापन, अभिभावक र स्थानीय तहबीच विवाद सिर्जना भएको थियो । 

त्यसपछि अभिभावकले आफ्ना छोराछोरी अन्यत्र पढाउन थाले । विद्यार्थी घट्दै गए र विद्यालय बन्द हुने अवस्थामा पुग्यो । तर, अहिले जनकल्याण प्राथमिक विद्यालयको परिचय विद्यार्थी संख्या बढेको विद्यालयका रूपमा मात्रै सीमित छैन । यो विद्यालय अहिले ४७ जना आश्रयविहीन बालबालिकाको घर बनेको छ । बिहानको प्रार्थनामा उनीहरूको स्वर गुञ्जिँदा सहायक प्रधानाध्यापक वलीलाई दुई वर्षअघि देखेको सुनसान विद्यालय सम्झना आउँछ । उनी भन्छन्, ‘विद्यालय जोगाउनु भनेको भवन जोगाउनु होइन, भविष्य जोगाउनु रहेछ ।’

झण्डै १२ वर्षअघि बाबुआमा गुएमाकी १३ वर्षीय आकृति खत्री कक्षा ६ मा अध्ययनरत छिन् । उनी भन्छिन्, ‘म सानै हुँदा बुवा बित्नु भयो त्यसपछि आमाले छाडेर जानु भयो भन्ने सुनेको छुँ । बुवाआमा नभएपछि मलाई निकै गारो भएको थियो । अहिले यहीँ स्कूलको होस्टेलमा बस्छु । अब मलाई केही पनि चिन्ता लाग्दैन ।’ सारदा नगरपालिकाको शिक्षा नीतिअनुसार यस विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । 

सोहीअनुसार ७ जेठ २०८२ मा आवासीय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आयो । सुरुमा ३५ जना बालबालिकालाई राखिएको आवासमा अहिले ४७ जना बस्छन् । जहाँ उनीहरुको सनौलो भविष्य कोरिदै छ । यहाँ सबैभन्दा पहिले बाबुआमा दुवै गुमाएका बालबालिकालाई प्राथमिकता दिइन्छ । त्यसपछि आमा वा बुवामध्ये एक जना गुमाएका, पारिवारिक विघटन वा आर्थिक अभावका कारण पढाइ छोड्ने जोखिममा रहेका बालबालिकालाई पनि विद्यालयले आश्रय दिन्छ । 

‘अभिभावकत्व र आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो,’ नगर प्रमुख भण्डारी भन्छन्, ‘हामीसँग पर्याप्त स्रोत छैन । तर दाताको सहयोग जुटाएर भए पनि यस्ता बालबालिकालाई शिक्षाको पहुँचमा राख्ने प्रयास गरिरहेका छौँ ।’ आवासीय विद्यालय सञ्चालन भने सहज छैन । 

स्थानीय तहलाई शिक्षा व्यवस्थापनको जिम्मेवारी भए पनि सीमित स्रोतका कारण दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण रहेको नगर प्रमुख भण्डारी स्वीकार गर्छन् । विद्यालयका होस्टल इन्चार्ज कर्णबहादुर पुनका अनुसार हालसम्म नगरपालिका र विभिन्न दाताको सहयोगबाट आवासमा रहेका बालबालिकाको खानपान र बसोबास व्यवस्थापन हुँदै आएको छ । दीगो व्यवस्थापनका लागि विद्यालयले आफैँ पनि नयाँ उपाय खोजिरहेको छ । 

विद्यालयले चार रोपनी जग्गामा तरकारी खेती सुरु गरेको छ । यसबाट हुने आम्दानी आवास व्यवस्थापनमा खर्च गर्ने र बचत रकमबाट कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने आश्रित बालबालिकाको बैंक खातामा प्रत्येक वर्ष १० प्रतिशतका दरले रकम जम्मा गर्ने योजना बनाइएको छ । यसले माथिल्ला कक्षामा आश्रयविहिन बालबालिकालाई शिक्षा लिन सहज हुने अपेक्षा विद्यालयको छ ।

बन्द हुनै थालेको त्यो विद्यालय   बन्यो कोही नहुनेको शिक्षालय

गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना 

Leave a comment

Your email address will not be published. Required fields are marked *