प्रलोभन देखाई किशोरी भारत लैजान खोज्ने युवती पक्राउ

गाेल्डेन बुढा
जुम्ला,२८ असार ।
वैदेशिक रोजगारी र आकर्षक रोजगारीको प्रलोभन देखाएर एक किशोरीलाई भारततर्फ लैजाने प्रयास गरेको आरोपमा जुम्लामा एक युवती पक्राउ परेकी छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गत असार १८ गते बिहान करिब साढे १० बजे चन्दननाथ नगरपालिका–४ टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लैजाने तथा ब्युटी पार्लरमा काम लगाइदिने आश्वासन दिँदै भारततर्फ लैजान खोजिएको थियो।घटनामा संलग्न रहेको आरोपमा मुगुको खत्याड गाउँपालिका–९ घर भई हाल चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बसोबास गर्दै आएकी १९ वर्षीया सुनिता तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।प्रहरीले तिवारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरेको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालका अनुसार मानव बेचबिखन तथा ओसारपसारजस्ता गम्भीर अपराध नियन्त्रणका लागि प्रहरीले अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कसैलाई बेचबिखन गर्ने वा बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरेको कसुर अदालतबाट प्रमाणित भए कसुरको प्रकृतिअनुसार १० वर्षदेखि २० वर्षसम्म कैद तथा ५० हजारदेखि २ लाखसम्म जरिवानाको व्यवस्था छ। नाबालिगलाई लक्षित गरी गरिएको मानव बेचबिखन वा ओसारपसारसम्बन्धी कसुरलाई कानूनले गम्भीर अपराधका रूपमा लिएको छ।





