राप्तीसोनारीका आठ वटै वडामा ल्याब सेवा विस्तार, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा

बाँके ,२८ असार ।

स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका नागरिकका लागि अब सामान्य स्वास्थ्य परीक्षणका लागि नेपालगञ्ज वा कोहलपुर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ। गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिका–७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमबीच ल्याब सेवाको उद्घाटन गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए। उनले गाउँपालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार ल्याब सेवा विस्तार गर्दै आएको जानकारी दिँदै अब राप्तीसोनारीका आठवटै वडामा ल्याब सेवा सञ्चालनमा आएको बताए।
अध्यक्ष पौडेलका अनुसार स्वास्थ्य परीक्षणका लागि नागरिकले नेपालगञ्ज वा कोहलपुर पुग्नुपर्ने अवस्था क्रमशः हट्दै गएको छ। गाउँमै सेवा उपलब्ध हुँदा समय, खर्च र दुःख तीनैको बचत हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय नागरिकले पाउने उनले बताए।
यसअघि सामान्य रगत, पिसाब तथा अन्य प्रयोगशाला परीक्षणका लागि पनि पालिकाबाहिर जानुपर्ने बाध्यता थियो। तर फत्तेपुर स्वास्थ्य चौकीमै ल्याब सेवा सञ्चालनमा आएपछि बिरामीले सहज, छिटो र कम खर्चमा आवश्यक परीक्षण सेवा पाउन थालेका छन्।
वडा नं. ७ का अध्यक्ष रामलखन थारूले गाउँमै ल्याब सेवा सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घरोगी तथा आर्थिक रूपमा विपन्न परिवारलाई यस सेवाबाट ठूलो राहत मिल्ने उनको भनाइ छ।
“स्वास्थ्य सेवामा सहज पहुँच नागरिकको आधारभूत अधिकार हो। अब सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ। यसले समय बचत हुनुका साथै आर्थिक भार पनि घटाउनेछ,” उनले भने।
राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसीका अनुसार पालिकाले चरणबद्ध रूपमा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्दै ल्याब सेवा विस्तार गरेको हो। आठवटै वडामा ल्याब सेवा सञ्चालनमा आएपछि रोगको समयमै पहिचान, उपचारमा सहजता तथा स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास उनले व्यक्त गरे।
स्थानीयवासीले पनि गाउँमै ल्याब सेवा उपलब्ध भएपछि स्वास्थ्य परीक्षण सहज भएको, अनावश्यक यात्रा र अतिरिक्त खर्चबाट मुक्ति मिलेको तथा आवश्यक सेवा समयमै प्राप्त गर्न सकिने वातावरण बनेको बताएका छन्। स्थानीय तहबाट स्वास्थ्य पूर्वाधार सुदृढीकरण र सेवा विस्तारका यस्ता प्रयासले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई थप मजबुत बनाएको छ।

राप्तीसोनारीका आठ वटै वडामा ल्याब सेवा विस्तार, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा

“जब नागरिकले आशा गुमाउँछ: दुई घटनाले उठाएका

राप्तीसोनारीका आठ वटै वडामा ल्याब सेवा विस्तार, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा

जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको

Leave a comment

Your email address will not be published. Required fields are marked *