जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म

गाेल्डेन बुढा
जुम्ला,२८ असार ।
रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।एकातिर १४ हजार बिरुवासहित जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक स्याउ बगैँचा स्थापना गर्ने परान धराला छन् भने अर्कोतर्फ वार्षिक ६० लाख रुपैयाँ कारोबार गर्ने हिमालयन एग्रो फर्मका सञ्चालक ललितजंग महत।तातोपानी गाउँपालिका–१ राका गाउँका परान धरालाले तातोपानी–५ ऐरेनी मा ३२ हजार वर्गमिटर जग्गा लिजमा लिएर १४ हजार किराप जातका स्याउका बिरुवा रोपेका छन्। करिब ८० लाख रुपैयाँ लगानी मा स्थापना गरिएको बगैँचा जुम्ला–सुर्खेत कर्णाली राजमार्ग छेउमा रहेको छ।१५ वर्षदेखि तरकारी खेती र स्याउ नर्सरीमा संलग्न धरालाले तीन वर्षभित्र उत्पादन सुरु गरी वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।परानले १५ वर्षअघि सात लाख रूपैयाँ लगानीमा १५ रोपनीमा तरकारी खेतीबाट कृषि यात्रा सुरु गरेका थिए । उनले गोलभेँडा, तितेकरेला, काक्रा, भेडेखुर्सानी, अकबरे खुर्सानी लगायतका मौसमी/बेमौसमी तरकारी उत्पादन गरे ।

उनको तरकारीले गाउँदेखि सहरसम्मको माग धानेको थियो ।“हामीजस्ता युवाले त्यसै बस्नु त भएन नि। ऋण खोजेरै राम्रो जातका स्याउको ठूलो बगैँचा बनाएको छु,” धरालाले भने।उनको योजनामा कृषि विकास कार्यालय जुम्लाले स्याउ–ओखर कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ (५० प्रतिशत) अनुदान उपलब्ध गराएको छ। उक्त रकम बिरुवा खरिद, खाडल खन्ने, मोटर जडान तथा घेराबार मा खर्च गरिएको छ।कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी का अनुसार यस वर्ष जुम्लामा २० वटा नयाँ स्याउ बगैँचा थपिएका छन्। तीमध्ये परान धरालाको बगैँचा क्षेत्रफल र बिरुवाको संख्याका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो हो।धरालाले बगैँचाका लागि लिएको जग्गाको वार्षिक ८ देखि १० लाख रुपैयाँ भाडा तिर्ने सम्झौता गरेका छन्। प्रति वर्गमिटर ३० रुपैयाँ का दरले भाडा तिर्नुपर्ने भएकाले उत्पादन आउनुअघि नै ठूलो आर्थिक जोखिम उठाएका छन्।कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार, जुम्लामा ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेति भइरहेको छ । बर्षेनी स्याउ बगैंचाको संख्या बढ्दै गएकोले किसानले स्याउ खेतिलाई प्रमुख आयआर्जनको माध्यम बनाउन थालेका छन् । तर उत्पादित स्याउ बजारसम्म पुर्याउने देखि रोगको संक्रमण नियन्त्रण गर्न राज्यले सहयोग गर्नुपर्ने किसानहरुको माग छ ।
ललितजंगको एग्रो फर्मबाट वार्षिक २५ लाख रुपैयाँ नाफा
यता चन्दननाथ नगरपालिका–७ महतगाउँ का ललितजंग महत ले सञ्चालन गरेको हिमालयन एग्रो फर्म जुम्लामा व्यावसायिक हाँस तथा कुखुरापालनको नमूना बनेको छ।दुई हजार वर्गमिटर आफ्नै जग्गामा सञ्चालित फार्ममा स्थानीय जातका हाँससहित साकीनी, खजुरा साकीनी, न्यू ह्याम्पसायर, घाँटीखुइले, सांगिनी, उल्टे,ब्यालेक अस्टलक र गिरीराज लगायतका विभिन्न प्रजातिका कुखुरा पालिएका छन्।

हाल फार्ममा एक सयभन्दा बढी हाँस, ८० वटा टर्की, लौकट तथा दुई हजार दुई सयभन्दा बढी कुखुरा छन्।चार वर्षअघि ३० लाख रुपैयाँ लगानीबाट सुरु गरिएको फार्ममा अहिले करिब ८० लाख रुपैयाँ लगानी पुगेको छ। महतका अनुसार फार्मबाट वार्षिक करिब ६० लाख रुपैयाँ कारोबार हुने गरेको छ भने २५ लाख रुपैयाँ शुद्ध आम्दानी भइरहेको छ। हालसम्म फार्मबाट करिब एक करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ।“म प्रकृतिप्रेमी छु। यही कर्ममा रमाउन पाउँदा आनन्द मिल्छ,” महतले भने।फार्ममा वर्षायाममा स्थानीय रूपमा उत्पादन हुने मकै, जौ र गहुँबाट तयार गरिएको दाना प्रयोग गरिन्छ भने हिउँदमा आवश्यक दाना नेपालगञ्जबाट ल्याइन्छ। बजारको माग बढे पनि उत्पादनले सबै माग धान्न नसकेको महत बताउँछन्।कृषिमा उल्लेखनीय योगदान पुर्याएबापत ललितजंग महत कर्णाली प्रदेश सरकारको ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’ बाट सम्मानित भइसकेका छन्। उनले ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरेका छन्। त्यस्तै सामाजिक विकास मन्त्रालयको महिला उद्यमी पुरस्कारअन्तर्गत एक लाख रुपैयाँ राशिको पुरस्कार समेत पाएका छन्।उनको लक्ष्य हिमालयन एग्रो फर्मलाई कृषि र पर्यटन प्रवर्द्धनको नमूना केन्द्रका रूपमा विकास गर्ने रहेको छ।यसैबीच जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र पशु अस्पताल तथा पशु सेवा कार्यालय लगायतका सरोकारवाला निकायको टोलीले परान धरालाको स्याउ बगैँचाको अनुगमन गरेको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले याे फर्मलाइ स्राेत केन्द्र बनाउन लागिएको बताए।अहिले फर्म केन्द्रकाे प्रक्रियामा छ,मापदण्डअनुरूप अगाडि बढेको खण्डमा स्रोत केन्द्र हुनेछ।यद्यपि, जुम्लाबाट वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम भने रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय का अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को असोज मसान्तसम्म ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका छन्।तीमध्ये आर्थिक वर्ष २०८१/८२ मा ६३२, २०८०/८१ मा ७८३, २०७९/८० मा १,४०५, २०७८/७९ मा ६०० र २०७७/७८ मा ३३६ जनाले राहदानी लिएका छन्।विदेशिने युवाको संख्या बढ्दै गए पनि परान धराला र ललितजंग महतजस्ता युवाले स्वदेशमै कृषि उद्यमबाट सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।






