‘सास नआएपनि लास आओस्‌’

ओम शाही

सुर्खेत, २६ असार ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ माझिगाउँका डण्डपाणी सुवेदीको दैनिकी यतिबेला असमान्य अवस्थाबाट गुज्रिरहेको छ । उनलाई न रातमा निद्रा लाग्छ, नत दिनमा चैनसँग बस्न सक्छन् उनी । एक साता (१८ असार) यताका दिनहरु डण्डपाणीका लागि आशा र निराशाका बिच व्यतित भइरहेका छन् । 

उनी बैचन मुद्रामा यताउता गरिरहन्छन्, मोवाइलमा आउने फोन, सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक फिडमा राखेका साम्रगी नियाल्नु दैनिकी जस्तै बनेको छ उनलाई । रेडियो तथा अनलाइन समाचार माध्ययमा प्रकाशित हुने र बज्ने समाचारहरु पुरै पढ्छन् र सुन्छन् । उनको पीडाको पछाडि दुई छोरा गुमाउनुमा जोडिएको छ । 

उनले आठ दिन अघि सडक दुर्घटना भई कर्णाली नदीमा खसेका आफ्‌ना दुई छोराको सास नआएपनि लासको प्रतिक्षा गरिरहेका छन् । उनमा मात्रै एउटा झिनो आशा छ—कर्णाली नदीमा खसेका आफ्ना दुई छोराको सास नभए पनि लास आओस् ।

१८ असार २०८३ को बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खसेको थियो । दुर्घटनाग्रस्त गाडीका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी उनै डण्डपाणीका छोरा हुन् । 

रामप्रसाद जेठा र तुलाराम डण्डपाणीका कान्छा छोरा हुन् । दुर्घटना भएको आठ दिन बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ । उनीहरू जीवित छन् वा कर्णाली नदीको भंगालोले सधैंका लागि निल्यो भन्ने यकिन हुन सकेको छैन । यही अनिश्चितताले सुवेदी परिवारलाई असह्य पीडामा पारेको छ । दुर्घटनामा गाडीमा सवार पाँच जनामध्ये दुई जनाको शव फेला परेको छ । 

कालीकोटको पचालझरना गाउँपालिका–९ का मेखे (मेगे) तिरुवाको शव सोमबार (२२ असार) दुर्घटनास्थलबाट करिब एक सय ५० किलोमिटर तल कैलालीको मोहन्याल गाउँपालिका–स्थित कर्णाली नदी किनारमा भेटिएको थियो । उनका छोरा रवीन्द्र तिरुवाले टीकापुर अस्पताल पुगेर शवको पहिचान गरेका थिए । मेखेका भाइ जेखे तिरुवाको शव भने दुर्घटना भएकै दिन फेला परेको थियो । तर, चालक तुलाराम, सहचालक रामप्रसाद, गाडीमा सवार यात्रु रास्कोट नगरपालिकाकी सिर्जना खड्का र गाडी कर्णाली नदीको भेलमा अझै बेपत्ता छन् । 

दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले खोजीलाई सघन बनाइरहेका छन् । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दावी गरेपनि कर्णालीको धमिलो र उच्च बहावको भंगालोमा ति उपकरण कामयावी बन्न सकेका छैनन् । डण्डपाणीलाई दुई छोरा गुमाउनुको पीडामात्र छैन, दुर्घटनासँगै आफ्नो सम्पूर्ण जीविकोपार्जनको आधार पनि कर्णाली नदीको बर्खे भेलसँगै बगेको छ । 

रोजगारीको गन्तव्य भारतमा बनाएका तुलाराम र रामप्रसाद गत वर्षको दशैंमा घर फर्केका थिए । दुई भाई मिलेर गाडी चलाउने इच्छा गरेपछि दुर्घटनाग्रस्त गाडी बैंकबाट ऋण लिएर खरिद गरिएको थियो । 

सहचालकलाई दिइने पारिश्रमिक बचत हुने आशाले रामप्रसाद पनि भाईसँगै गाडीमा हिँड्थे । प्रायजसो दैलेख, कालीकोट, जुम्ला रुटमा उनीहरु परिवारको भविष्य सुनौलो बनाउन हिँडिरहन्थे । उनीहरुले गाडी र परिवारको खर्च कटाएर भएको आम्दानी बैंकको कर्जा तिर्थे, बाँकी केही रकम बचत गर्थे । 

छोराहरुलाई सुरक्षित तबरबाट गाडी चलाउन डण्डपाणीले भनिरहन्थे । बिडम्बना अहिले डण्डपाणीका सामु न कमाउने छोरा छन्, न त ऋणमा किनेको गाडी नै । अब उनका अघि गाडी किन्न लिइएको ऋणको थुप्रोसँगै जीवनभर छोरा गुमाउनुको पीडाको पहाड उभिएको छ । 

तुलाराम र रामप्रसादका चार छोराछोरीको भार अब बुढौली हुँदै गएको डण्डपाणीको काँधमा थपिएको छ । ‘मेरो सम्पूर्ण सम्पत्ति बैंकमा धितो राखेर ऋण लिएको थिएँ । अहिले गाडी पनि गयो, दुई छोरा पनि बेपत्ता भए । घरमा साना नातिनातिना छन् । अब परिवार कसरी पाल्ने र बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने । 

सरकारले खोजी कार्य जारी राखे पनि अझ प्रभावकारी रूपमा खोजी गर्नुपर्ने उनको आग्रह छ । ‘सास नभेटिए पनि मेरो छोराको लास भेटियोस् । कम्तीमा अन्तिम संस्कार त गर्न पाउँ । यही अन्तिम आशामा बसेको छु,’ उनले भावुक हुँदै भने । कर्णाली राजमार्गले उजाडिएको डण्डपाणीको मात्रै होइन गाडीमा सवार अन्यको परिवार बाँच्ने आधारको पर्खाइमा बस्नु बाहेको विकल्पमा छैन । 

‘मेरा दुई छोरा नै परिवारका मुख्य सहारा थिए । अहिले उनीहरू छैनन् । अब हाम्रो परिवार कसरी बाँच्ने भन्ने चिन्ता मात्रै बाँकी छ । सरकारले खोजीलाई अझ तीव्र बनाओस् र पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था गरिदियोस् भन्ने अपेक्षा छ,’ डण्डपाणीले भने ।

‘सास नआएपनि लास आओस्‌’

सम्पादकीय : कर्णालीको ऊर्जामा लगानी बढ्ने संकेत

‘सास नआएपनि लास आओस्‌’

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

Leave a comment

Your email address will not be published. Required fields are marked *