सम्पादकीय : कर्णालीको ऊर्जामा लगानी बढ्ने संकेत

कर्णालीका नदीहरू केवल बग्ने पानीका स्रोत होइनन्, नेपालको ऊर्जा भविष्य निर्माण गर्ने आधार पनि हुन् । यही सम्भावनालाई थप बल दिने गरी मुगु जिल्लामा प्रस्तावित तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना अघि बढ्ने प्रक्रियामा प्रवेश गरेको छ । उत्पादन अनुमतिपत्रका लागि सार्वजनिक सूचना जारी भएसँगै आयोजना कार्यान्वयनतर्फको अर्को महत्वपूर्ण चरण सुरु भएको छ । करिब ५५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण हुने यो आयोजना समयमै सम्पन्न भए सन् २०३३ सम्म राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत थपिनेछ । यसले कर्णालीको ऊर्जा समृद्धिको यात्रामा अर्को महत्वपूर्ण इँटा थप्नेछ । कर्णालीलाई जलस्रोतको दृष्टिले नेपालकै सबैभन्दा धनी प्रदेश मानिन्छ । विभिन्न अध्ययनले यहाँ झण्डै १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सकिने सम्भावना औँल्याएका छन् । तर, दशकौँसम्म पूर्वाधारको अभाव, लगानीको कमी, प्रसारण लाइनको कमजोर अवस्था र राज्यको उदासीनताले यो अपार सम्भावना कागजमै सीमित रह्यो । पछिल्ला वर्षमा भने जलविद्युत क्षेत्रमा निजी तथा सरकारी लगानी बढ्दै गएको छ । माथिल्लो मुगु कर्णाली आयोजना पनि त्यही सकारात्मक परिवर्तनको संकेत हो ।

यो आयोजना केवल तीन सय ६ मेगावाट विद्युत उत्पादन गर्ने परियोजना मात्र होइन । यसले दुर्गम मुगुमा सडक, पुल, सञ्चार, रोजगारी, स्थानीय व्यवसाय र पर्यटन विकासका नयाँ अवसर सिर्जना गर्न सक्छ । आयोजना निर्माणका क्रममा हजारौँले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउनेछन् भने स्थानीय उत्पादनको बजार विस्तार हुनेछ । निर्माणपछि पनि विद्युत, यातायात र अन्य पूर्वाधारको पहुँच विस्तार हुँदा समग्र स्थानीय अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गर्न सकिन्छ । रारा क्षेत्रसँग जोडिएको मुगुको पर्यटन विकासमा समेत यसले सहयोग पुर्‍याउने सम्भावना छ । तर, ऊर्जा समृद्धिको लक्ष्य केवल आयोजना घोषणा गरेर पूरा हुँदैन । वातावरणीय प्रभाव न्यूनीकरण, स्थानीय समुदायको अधिकार संरक्षण, उचित क्षतिपूर्ति, पुनःस्थापना र लाभ बाँडफाँटलाई उत्तिकै प्राथमिकता दिनुपर्छ । नदीको प्राकृतिक बहाव, जैविक विविधता र जलचर संरक्षणमा विशेष ध्यान नदिइए दीर्घकालीन समस्या उत्पन्न हुन सक्छ । त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कनका सर्तहरू कडाइका साथ कार्यान्वयन गरिनु आवश्यक छ। स्थानीयवासीलाई आयोजना विरोधी होइन, साझेदार बनाउने नीति अवलम्बन गरिए मात्र दीगो सफलता सम्भव हुन्छ । 

अर्कोतर्फ, उत्पादित विद्युत सहज रूपमा राष्ट्रिय प्रणालीमा जोड्ने प्रसारण लाइन समयमै निर्माण हुनु उत्तिकै महत्वपूर्ण छ । नेपालमा धेरै जलविद्युत आयोजना उत्पादन सम्पन्न भएर पनि प्रसारण पूर्वाधार ढिलो हुँदा समस्या भोगिरहेका उदाहरण प्रशस्तै छन् । त्यसैले उत्पादन, प्रसारण र बजार व्यवस्थापनलाई एउटै योजनाअन्तर्गत अघि बढाउनुपर्ने आवश्यकता छ । कर्णाली अब गरिबी र पछौटेपनको परिचयबाट होइन, ऊर्जा उत्पादनको केन्द्रका रूपमा चिनिनुपर्ने समय आएको छ । माथिल्लो मुगु कर्णालीजस्ता आयोजना त्यस दिशातर्फका महत्वपूर्ण पाइला हुन् । तर, यस्ता परियोजनालाई समयमै सम्पन्न गर्ने, वातावरणीय दायित्व पूरा गर्ने र स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने सुनिश्चितता गर्न सके मात्र कर्णालीको जलसम्पदा वास्तविक अर्थमा समृद्धिको आधार बन्नेछ । ऊर्जा उत्पादनबाट प्राप्त लाभ कर्णालीकै विकास, औद्योगिकीकरण र जनजीविकाको रूपान्तरणमा रूपान्तरण गर्न सकियो भने मात्र कर्णालीको अपार जलसम्पदाले प्रदेश र राष्ट्र दुवैको भविष्य उज्यालो बनाउनेछ ।

सम्पादकीय : कर्णालीको ऊर्जामा लगानी बढ्ने संकेत

‘सास नआएपनि लास आओस्‌’

Leave a comment

Your email address will not be published. Required fields are marked *