ठेकेदारको लापरबाहीले बेलीब्रिज निर्माण अलपत्र

मुगु, ७ असोज ।

गमगढी–सोरु ग्रामीण सडक अन्तर्गत मुगु कर्णाली नदीमा निर्माणाधीन बेलीब्रिज एक वर्षदेखि अलपत्र परेको छ । भुक्तानी नपाएको भन्दै ठेकेदारले बीचैमा काम छोडेपछि पुल निर्माणको काम अलपत्र परेको हो । सोरु गाउँपालिकासम्म आउजाउ गर्ने सवारी साधन र यात्रुको सहजताका लागि पुल निर्माणको काम थालिएको थियो । पुल निर्माणको जिम्मा जल्पररवीरचक्र जेबीले लिएको छ ।

एक वर्षभित्रै निर्माणको काम सक्ने गरी कम्पनीले अघिल्लो असारमा गाउँपालिकासँग ३ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेको थियो । नदीमा पुल नबन्दा गमगढीदेखि सोरु पुग्न दुईवटा जिप फेर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल शाहीले बताए । ‘पुल निर्माण भए एउटै गाडीमा घर अगाडी नै पुगिन्थ्यो,’ उनले भने, ‘यात्रुबाहक सवारी साधनले पुल नहुँदा झन सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार यात्रुहरु गमगढीदेखि तारापानीसम्म एउटा जिपमा र सिपदेखि सोरुकोटसम्म अर्को गाडीमा चढ्नुपर्ने बाध्यता छ । दुईवटा गाडी फेर्दा भाडा पनि महँगो भएको उनले गुनासो गरे । गमगढीदेखि सोरु जाने यात्रुले अहिले १ हजार २ सय रुपैयाँ भाडा तिरिरहेका छन् । गाउँपालिकाले दिनुपर्ने बाँकी रकम भुक्तानी नगर्दासम्म पुल निर्माण सुचारु नगर्ने ठेकेदार कम्पनीको अडान छ ।

ठेकेदारले यसअघि नै २ करोड २ लाख रकम लिइसकेका छन् । गत साउन महिनामा बाँकी रकम भुक्तानीका लागि निवेदन र बिल–भरपाई पेश गरेपनि गाउँपालिकाले बेवास्ता गर्दा पुल निर्माण रोकिएको कम्पनीका प्रोपराइटर हेमराज शाहीले बताए । उनका अनुसार बेलीब्रिजका लागि सबै निर्माण सामग्री योजनास्थलमा आइपुगेको छ । ‘नदी वारिपारि पर्खाल र ड्यामसमेत बनाइसकेका छौं,’ उनले भने, ‘गाउँपालिकाले भुक्तानी नदिँदा दक्ष कामदारलाई पारिश्रमिक दिन समस्या भएपछि निर्माण रोकिएको हो ।’ भुक्तानी पाए एक महिनाभित्रै पुल निर्माण सकिने उनको दाबी छ । मुगमकार्मारोङ गाउँपालिकास्थित लुम्स बेलीब्रिजको १२ लाख रुपैयाँ अझै भुक्तानी नपाएको उनले गुनासो गरे ।

गाउँपालिकाले भने ठेकेदारले काम सुरु गरेपछि मात्र भुक्तानी प्रक्रिया सुरु हुने जनाएको छ । ठेकेदारको लापरबाहीले वर्षायाममा यात्रुले सास्ती भोगिरहेको सोरु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र शाहीले बताए । ‘ठेकेदारले लिनुपर्नेभन्दा बढी रकम यसअघि नै लिइसकेका छन्,’ उनले भने, ‘सरकारी नियमअनुसार पुल निर्माणको काम सकिएपछि मात्र अन्तिम किस्ता भुक्तानी हुनेछ ।’

ठेकेदारको लापरबाहीले बेलीब्रिज निर्माण अलपत्र

लाप्चा बगर आफ्नै भएको चीनको दाबी

ठेकेदारको लापरबाहीले बेलीब्रिज निर्माण अलपत्र

मदिरा जन्य पदार्थ नष्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *