इनिशामाथी सामुहिक बलात्कार नभएको प्रहरी अनुसन्धानको निष्कर्ष
सुशील खड्का
सुर्खेत, १२ चैत ।
२३ फागनु विहान ५ः३० बजे अनमोल गौली आफन्तको घर खजुरबाट निस्किन्छन् । १० मिनेटमै उनी मंगलगढी चोक पुग्छन् । त्यहाँबाट उनी ५ः४० बजे अटोरिक्सा चढेर पश्चिम लाग्छन् । केहीबेरमा उनी रेडियो नेपालको प्रादेशिक कार्यालयको अगाडी झरेर उत्तर लाग्छन् । उनीहरु कहाँ भेट्ने ? कसरी जाने ? भन्ने विषयमा २२ फागुन राती नै तय भएको हुन्छ ।
विहान ह्वाटसपमा कुरापछि अनमोलन योजना अनुसार नै वीरेन्द्रनगर–१, को गैरीगाउँ टोल पुग्छन् । अनमोल र इनिशाको भेट त्यहीँ हुन्छ । दुवै जना देउतीथान निस्कने हटलाइन भएर प्रदेश आयुर्वेद अस्पतालको बाटो भएर जंगल जान्छन् ।
विहान ६ः२६ बजे आयुर्वेद अस्पताल अगाडीको बाटो भएर गएको रेकर्ड सीसीटिभीमा देखिन्छ । चार मिनेटपछि दुवै जना अस्पतालको उत्तरको गाउँ भएर जंगलतर्फ लाग्छन् । त्यो बेला विहानको ६ः३० बजेको थियो र गाउँकै एक महिलाले दुवै जनालाई देखेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
‘दुवै जना जनजागरण सामुदायिक वन भित्र गएको देखेको तर कसैले सोधेनन्,’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछिको दुई घण्टाको समयमा सबै घटना भएको देखिन्छ ।’ जंगल छिरेको बाटो कुनै बेला गोठीकाँडा जाने छोटो पैदल मार्ग हो । ‘अनमोल र इनिशाले त्यहीँ मार्ग पछ्याएर जंगल गएको देखिन्छ,’ अनुसन्धान अधिकृत भन्छन्, ‘जंगल पुगेपछि सुरुमा एक ठाउँ बसेको र पछि अलि असुरक्षित महसुश गरेपछि अर्को स्थानमा पुगेर शारीरिक सम्पर्क राखेको देखिन्छ ।’
शारिरीक सम्पर्क राखेको केही बेरमै ईनिशा बेहोस भएको र उनलाई बचाउन अनमोलले कृत्रिम सास दिने र खुट्टाको पैतला तथा हातमा मालिस गरेका थिए । त्यो क्रममा प्रेमी अनमोलले गरेका सबै प्रयासले काम नगरेपछि अन्तिममा विहान ८ः२५ बजे साथी दिपेश ढकाललाई फोन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
दिपेशले तत्कालै आउन सवारी नभएको जानकारी गराउँछन् । दिपेशले कुराकानी गरेको रेकर्ड उनैको घरको सीसी टिभीमा देखिन्छ । दिपेश तत्कालै आउन असम्भव देखिएपछि अनमोलले सँगै पढ्ने अर्को साथीलाई ८ः३० बजे फोन गरेका थिए । इनिशा बेहोस भएर होस नआएकाले अस्तापल लैजानुपर्ने भन्दै साथीहरुलाई फोन गरेको ति अनुसन्धान अधिकृत बताउँछन् ।
अनमोलले बोलाएका दुवै साथी निर्धारित समयमा नपुगेर दिपेश ९ः०७ बजे र दुई जना पैदलै ९ः११ बजे गएको रेकर्ड प्रदेश आयुर्वेद अस्पतालकै सीसीटिभी क्यामरामा रेकर्ड भएको प्रमाणको रुपमा प्रहरीले प्रतिवेदनसँगै पेश गरेको छ ।
‘तीनमध्य पछि गएका दुई जना अनमोल र इनिशासँगै पढ्ने साथी हुन् भने अर्का बालक दाइ गएपछि उनी पनि पछि लागेर गएको देखिएको छ,’ ति अनुसन्धान अधिकृत भन्छन्, ‘पछि गएका तीन जना घटनास्थल पुग्दा इनिशा बेहोस रहेको र तत्काल उपचारका लागि अस्पताल लैजानुपर्छ भन्दै एक जना जंगलबाट स्थानीयलाई बोलाउन तल झरेको देखिन्छ ।’
गाउँलेलाई बोलाउन तल झरेका साथीले ९ः४७ बजे स्थानीय रामबहादुर नेपालीलाई भनेका थिए, ‘माथि एक जना साथी बेहोस भएकी छन् । तत्कालै उद्दार गरेर अस्पताल लैजानु पर्नेभयो । गइदिनुपर्यो ।’ रामबहादुरले तत्कालै अस्थायी प्रहरी विट सहिद पार्कको टोलीलाई खवर गरेका थिए । स्थानीय र प्रहरी घटनास्थल पुग्दा इनिशा ब्यहोस अवस्थामा थिइन् भने अनमोल अर्धअचेत अवस्थामा थिए ।
प्रहरीले तत्कालै अनमोललाई उपचारका लागि प्रदेश अस्पताल पठाएको थियो । घटनास्थलबाटै अनमोल र त्यसपछि अन्य तीन जना बालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
कसरी भइन इनिशा बेहोस् ?
प्रहरी घटनानस्थलमा पुग्दा इनिशा बोहोस अवस्थामा भेटाएको थियो । प्रारम्भिक रुपमा हातको नाडी छाम्दा नचलेको जस्तो देखेपछि उनको पहिचानको लागि प्रहरी अनुसन्धान अघि बढाएको हो । घटनाको सबै प्रक्रिया र इनिशाका आफन्तलाई बोलाउदासम्म दिउँसोको १ बजेको थियो । इनिशाको बलात्कारपछि मृत्यु भएको प्रहरीले घटना भएको दिनदेखि नै बताउँदै आएको थियो ।
कानुनतः १८ वर्ष मूनीका बालबालिकाहरुले सहमतिमै शारिरीक सम्पर्क राखेपनि त्यसलाई बलात्कार ठहर्ने उल्लेख छ । तर इनिशाको मृत्यु सामुहिक बलात्कार हो वा हैन् भन्ने विषयमा अनुसन्धान अघि बढाएको हो । प्रहरीले थालेका अनुसन्धानमध्य सबैभन्दा पहिला पोष्टमार्टम रिपोर्ट आएको हो ।
त्यो बेलासम्म इनिशामाथि सामुहिक बलात्कार भएको र दोषीलाई हदैसम्मको कारवाही माग राख्दै प्रदर्शन देशभर चर्किरहेको थियो । पोष्टमार्ट रिपोर्टमा शारिरीक सम्पर्क राखेको समयमा इनिशा गोप्य अंगभित्र चोट देखिएको र ब्लड बढी भएका कारण होसमा नआएर उनको मृत्यु भएको उल्लेख छ ।
भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले गरेको पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको छ । परिवारले यो विषयमा शुरुदेखि नै विमती जनाउदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धानको दायरालाई अझै फराकिलो बनाउन प्र्रहरी अनुसन्धान ब्यूरोको टोली सुर्खेत पुगेको हो । अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलबाट एउटा कण्डम प्रयोग गरिएको, तीन वटा नखोलिएको र इनिशाका लागि चुरा, गजरा, टिकुली र केक घटनास्थलमा भेटाएको थियो ।
यस्तो छ प्रेमी अनमोलको बयान
२३ गते शनिबार बिहान ७ बजे इनिशा र म सल्लाह गरेरै वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगलमा गयौं । इनिशाका लागि काँटा चुरालगायत विभिन्न गिफट ल्याएको थिएँ । इनिशा र मैले दुई वर्षयता शारीरिक सम्पर्क राख्दै आएका थियौं ।
त्यो दिन पनि धेरैबेरको गफगाफपछि दुवैको सहमतिमा तयार भयौं । सम्पर्क राखिसकेपछि इनिशाको यौनांगबाट अत्यधिक रगत बग्यो । अनि इनिशा बोल्न छोडिन् । म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ । जुत्ता र मोजा खोलेर खुट्टा तथा हातमा मालिस गरे । ८ः२५ मिनेटमा मैले मिल्ने साथीहरूलाई फोन गरेर आफ्नो समस्या राखेँ तर उनीहरुले तत्कालै आउन इन्कार गरे ।
पटक पटक फोन गरेपछि ३ जना साथी आए । इनिशा नबोलेपछि साथीहरू जंगल नजिक रहेको गाउँमा स्थानीयलाई खबर गर्न गए । गाउँले आइपुगेपछि प्रहरीलाई खवर गरे । प्रहरी आएर अस्पताल पुर्याउँदा १० बजिसकेको थियो ।
कुन–कुन विषयमा गरियो अनुसन्धान ?
प्रहरीले मृतक इनिशा र आरोपित बालकहरूको मोबाइल, पोलियाग्राफी, विद्युतीय सामग्री, इनिशाको भजाइनल स्वाव लगायतका प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टकसिकोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाएको थियो ।
यीमध्ये इनिशाको मोबाइल नेपालमा नखुलेकाले बाहिर पठाइएको छ भने, डिएन परिपोर्ट मात्रै आउन बाँकी छ । घटनास्थलमा ‘अहिलेसम्म आएका रिपोर्टहरुले कहीँ कतैपनि सामूहिक बलात्कार पुष्टि हुने आधार छैनन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापा भन्छन्, ‘हामीले अनुसन्धान सकेर मुद्दाको फायल सरकारी वकिल कार्यालय बुझाइसकेका छौं ।’
अनुसन्धान प्रतिवेदनमा आजिवन कैदको माग
प्रहरीले बुझाएको रिपोर्टमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष निकालेको छ ।
मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको प्रवक्ता बुढथापाले बताए । अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । यता, सरकारी वकिल कार्यालयले अध्ययन गरेर आइतबारसम्म अभियोग पत्र सुर्खेत जिल्ला अदालतमा पेश गर्ने जानकारी दिएको छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भइ हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा गत फागुन २३ गते विहान बलात्कारपछि बेहोस अवस्थामा भेटिएकी थिइन् । परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ । इनिशाको शव १९ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।





