जुम्ला प्रतिनिधिसभा चुनाव : पाँच उम्मेदवारबीच कडा प्रतिस्पर्धा

गाेल्डेन बुढा
जुम्ला ,१७ फाल्गुन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र भएको जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा र प्रगतिशील लोकतान्त्रिक पार्टी, सहित ९ राजनैतिक दल र एकजना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।जुम्लामा पाँच उम्मेदवारको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। नेपाली कांग्रेसका तर्फबाट पुर्व जिल्ला सभापति दिपबहादुर शाही, नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत, नेपाली कम्युनिष्ट पार्टीबाट संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, राप्रपाका प्रवक्ता तथा विगठित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र )शाही, र रास्वपाका केन्द्रीय नेतृ तथा बिगठित प्रतिनिधिसभा सांसद विनिता कठायतको उम्मेदवारी परेको छ।यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट बिर्खबहादुर रावत, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट बिर्खबहादुर शाही, जनमत पार्टीका तर्फबाट रनिल बिक्रम शाहीले उम्मेदवारी दिएका छन्। यसैगरी भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फका उम्मेदवार नरेश भण्डारी, नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही, नेकपा एमालेका तर्फका उम्मेदवार शान्तिलाल महत, राप्रपाका ज्ञानबहादुर शाही बिच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ, भने रास्वपाका विनिता कठायत पनि प्रतिस्पर्धीका रुपमा देखिने सम्भाबना छ।
यति मात्र होईन जुम्ला देशको धेरै चर्चित स्थान मध्यमा एक पर्दछ। झापा–५, चितवन ३, रुकुम पश्चिम, सर्लाही ४ सहितका क्षेत्रमा जसरी चुनावी चर्चा चलिरहेको छ, त्यसैगरी यस पटक एउटा मात्रै निर्वाचन क्षेत्र भएको जुम्लामा निर्वाचन निकै रोचक बन्ने भएको हो।रोचक के छ, भने गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, तत्कालिन नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी सहितको गठवन्धन मैदानमा रहँदा मुख्यगरि नेपाली कांग्रेस सहित दलको आन्तरिक झगडाका कारणले मतदाता ढल्किएका थिए। जसका कारण चुनावी परिणाम राप्रपाका ज्ञानबहादुर शाहीको हातमा पर्यो। ज्ञानबहादुर शाहीको उम्मेदवारी यस पटक पनि जुम्लामा परेको छ।यस पटक जुम्लामा अर्को रोचक पक्ष भने जुम्ला विकासका आर्किटेक्चर मानिने भिजनरी नेता नरेश भण्डारीको उम्मेदवारीले तरंग छाएको छ। पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको धरोहर मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, जुम्ला उज्यालो गरिरहेको ९ सय ९८ वाटको चुकेनी जलविद्युत परियोजना, निर्माणाधिन हजारौं खानेपानी धाराको बृहत धौलीगाड खानेपानी आयोजनाका परिकल्पनाकार तथा पहलकर्ता समेत रहेका भण्डारी अहिले जुम्लाका लागि प्रमुख प्रतिस्पर्धी देखिनु हुन्छ।संविधानसभा सदस्य समेत रहेका भण्डारीले यस पटक निर्वाचन जसरी पनि नेकपा जित्ने दावी गर्दै छन्। उनले विगतका विकासका ठोस काम र सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक, जुम्लाको तिला गाउँपालिकामा ३२ मेघावाटको बिजुली, कर्णालीमा मानव विकास सुचांक, भुगोल, दुर्गमता र विकासको आधारमा कानुन निर्माण गरि बजेटको सुनिश्चितता गर्ने पहल सहितका एजेण्डा अगाडि सारेका छन्। भण्डारीले विगतका आधा दर्जन काम अधुरा पुरा गर्ने बताउँदै चुनावी मैदानमा उत्रिएका छन्।जुम्लामा नेपाली कम्युनिष्ट पार्टी पछि समाजवादी पनि एकता भएपछि सांगठनिक रुपमा पहिलो पार्टी भएको नेकपाले दावी गर्दै आएको छ। नेकपा जुम्लाले एक हजार नौ सय ९९ समितिको प्रचार समिति पनि खटाएको छ।नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा आफू जित्ने दाउमा प्रचार तिब्र बनाएको छ। अघिल्लो पटक कांग्रेसले उम्मेदवार नपाएको अवस्थामा यस पटक आफ्नो उम्मेदवार पाएको छ। नेपाली कांग्रेस जुम्लाका पुर्व जिल्ला सभापति दिपबहादुर शाहीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभाको टिकट दिएको छ।२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले गठवन्धनमा कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार भएन। तर प्रदेश (क) मा पनि आन्तरिक झगडाले चरम रुप लिएपछि कांग्रेस भित्रकै देवेन्द्र बहादुर शाहीले निर्वाचन जितेका थिए। काग्रेसले त्यस बेला गठवन्धनले प्रदेश सभापति ललितजंग शाहीलाई प्रदेश क्षेत्र (क) मा टिकट दियो, तर कांग्रेसका प्रभावशाली नेता देवेन्द्रबहादुर शाही स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए।हाल भने मेलमिलाप भएर प्रदेश सदस्य देवेन्द्र फिर्ता भएपछि ललितजंग शाहीलाई राष्ट्रियसभाको मतदान गरेर अंकमाल गरेको तस्बिरले मेलमिलापको संकेत दिएको छ। यसमा पनि दिपबहादुर शाही सांगठनिक रुपमा जुम्ला कांग्रेस भित्रका बलिया नेता मानिन्छन्।राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले पनि चुनावी अभियान तिब्र रुपमा अगाडि बढाएको देखिन्छ। २०७९ सालको निर्वाचनमा निर्वाचन जित हासिल गरेपछि अहिले पनि चुनाव जित्ने दाउमा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही हुनु हुन्छ। तर सांसद जितेपछि जनताका विकासका वाचा खासै पुरा नभएको गुनासो पनि उत्तिकै छ।एक चरणमा पुर्वराजा ज्ञानेन्द्र शाह र अर्को चरणमा हिमानी शाह र उनका छोरा हृदयन्द्र जुम्ला ल्याएर चर्चा छाएका ज्ञानबहादुर शाहीले पुर्वराजपरिवारको शक्ति प्रदर्शन जुम्लामा समेत गरेका थिए। अहिले भने चुनावी मैदानमा आएपछि आफ्नो खासै एजेण्डा नभएको र पछि काम गर्ने बताएका छन्।यता नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत पनि चुनावी मैदानमा हुनुहुन्छ। नेकपा एमाले जुम्लाले महतको चुनावी प्रचार तिब्र बनाएको छ। घरदैलो तथा प्रचार कार्यक्रमलाई तिब्र बनाएका महतले नेकपा एमाले फागुन २१ को निर्वाचन जित्ने दावी गरिरहेका छन्।यता रास्वपाका उम्मेदवार तथा विगठित संसदकी सदस्य विनिता कठायतले पनि चुनावी प्रचार तिब्र बनाएकी छिन्। उनले यस पटकको निर्वाचनमा रास्वपाको माहोल राम्रो भएकाले आफू बलियो उम्मेदवार भएको दावी गरेकी छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने एक मात्र महिला उम्मेदवार पनि उनी नै हुन्।जुम्लाले हालसम्मको इतिहासमा संघीय सांसद दोहोर्याएको छैन। तर नरेश भण्डारी यो भाष्यलाई तोड्दै आफू निर्वाचन जसरी पनि जित्ने दावी गर्दै छन्।स्थानीयवासीहरूका अनुसार यस पटक जुम्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ। हाल जिल्ला निर्वाचन कार्यालयका अनुसार जुम्लामा ७१ हजार ७ सय ३९ मतदाता रहेका छन्।
जसमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष मतदाता छन्।यसअघि २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। हालको तथ्यांकसँग तुलना गर्दा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएको देखिन्छ। नयाँ मतदातामध्ये १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला रहेका छन्।






