प्रधान सेनापति खुला म्याराथनमा जुम्लाका रोकाया प्रथम

काली बहादुर परियार
जुम्ला,२७ माघ ।

नेपाली एथलेटिक्समा पछिल्लो समय निरन्तर चर्चा कमाइरहेका जुम्ला चन्दननाथ नगरपालिका -८ का धावक राजन रोकायाले सेनापति खुला म्याराथनमा ऐतिहासिक प्रदर्शन गर्दै आफूलाई वर्षकै उत्कृष्ट खेलाडीको रूपमा स्थापित गरेका छन् ।

माघ २४ गते शनिबार सम्पन्न प्रतियोगितामा रोकायाले २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा फिनिस गर्दै कोर्स रेकर्ड कायम गर्नुका साथै यस वर्षका उत्कृष्ट नतिजाहरूको सूचीमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएका छन् ।

बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा सहित सम्पन्न प्रतियोगिताको फिनिस नेपाली सेनाको एथलेटिक्स ग्राउण्डमा भएको थियो । यही मैदानमा रोकायाले यस अघि पनि १० किलोमिटर र ५ किलोमिटर दूरीमा आर्मी रेकर्ड तोड्दै उत्कृष्ट प्रदर्शन गरि सकेका छन् ।

१० किलोमिटर दौडमा २९ मिनेट १२ सेकेन्डको टाइम सहित पहिलो स्थान हासिल गर्नु उनका लागि वर्षकै सर्वोत्कृष्ट उपलब्धिमध्ये एक बन्यो । नेपालमै मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि रोकायाले आफ्नो क्षमता प्रमाणित गरेका छन् ।

यस्तै महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरे । हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए भने, महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम भएको निर्देशनालयले जनाएको छ ।

बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्रछात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

भारतमा सम्पन्न फोर्थ साउथ एसियन च्याम्पियनसिपमा उनले १० किलो मिटर दौडमा तेस्रो स्थान हात पार्दै नेपाललाई पोडियममा उभ्याएका थिए । त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघद्वारा आयोजित रोड रेसमा पनि उनले पहिलो स्थान हासिल गरे ।

एकै वर्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर पोडियम फिनिस गरे पछि रोकायालाई यस वर्षको उत्कृष्ट प्लेयर घोषित गरिएको छ । यो उपलब्धिलाई उनले केवल व्यक्तिगत जितको रूपमा होइन, सामूहिक मेहनतको परिणामको रूपमा व्याख्या गरेका छन् ।

भावुक हुँदै रोकायाले आफ्ना दिवंगत आमा बुवालाई सम्झिँदै भनेका छन्, मेरो जीवनको प्रत्येक दौड तपाईंहरूको सपना थियो । आज यो सफलतामा तपाईंहरू साथमा नभए पनि, हरेक मेडल तपाईंहरूकै नाममा हो ।

सामाजिक सञ्जालमा उनले लेखेको म तपाईहरू लाई सँधै सम्झिरहेकाे छु बाबा,आमा, सन्देशले धेरैलाई भावुक बनाएको छ । उनले आफ्नो सफल यात्रामा सहयोग गर्ने कोच उत्तम खत्री, हरि बहादुर रोकाया, कर्ण चौधरी, श्रीकुमारी दल गुल्म परिवार, त्रिभुवन आर्मी क्लब, राष्ट्रिय खेलकुद परिषद्, एथलेटिक्स संघ र राष्ट्रिय टिम तयारी मिसन प्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

धैर्य, अनुशासन र निरन्तर अभ्यासको प्रतीक बनेका राजन रोकाया आज केवल विजेता मात्र होइनन्, नेपालका हजारौँ युवाका लागि प्रेरणाको नाम बनेका छन् ।

प्रधान सेनापति खुला म्याराथनमा जुम्लाका रोकाया प्रथम

संघीयता बोझ होइन, अवसर हो:मुख्यमन्त्री आचार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *