कालीकोटमा दैनिक उपभोग्य वस्तुको मुल्य आकाशियो

तुलराज पाण्डे
कालीकोट, २ भदौं ।
कालीकोट जिल्लामा लगातारको बर्षाले बाटो वन्द भएका कारणले ब्यापारीले खाद्य वस्तुमा भारी मुल्य बृद्धि गरेपछि नागरिक निकै मर्कामा परेका छन् । बाढी तथा पहिरोले जोखिममा पारेको क्षेत्रमा खाद्य वस्तुको मुल्य निकै बृद्धि भएपछि नागरिक मर्कामा परेका हुन । जिल्लाको रास्कोट नगरपालिकामा एक बोरा चामलमा पाँच सयदेखि आठ सयसम्म मुल्य बृद्धि गरिएको छ ।
केही अगाडी रु दुई हजार एक सयले पाउने सुमो चामलको मुल्य अहिले आएर दुई हजार आठ सयमा उपभोक्ताले किन्नु परेको छ । स्थानीय समाजसेवी दशरथ उपाध्यायले एक हप्ता अगाडी आफैले दुई हजार एक सयमा किनेको चाम आज फेरी किन्दा आठ सयको वढी मुल्य तिर्नु परेको बताउनुभयो । उहाँले वाढी तथा पहिरोका कारणले वाटो वन्द छ । खाद्यान्न आएको छैन ।
तर धेरै अगाडी आयत गरेको चामलमा ब्यापारीले कालोवजारी गरेको आफुले पाएको बताउनुभयो । ‘मान्छेद्धारा बोकाएको हो भने मुल्य वढी हुनु ठिकै हो ।’ स्टोरमा राखिएको चामल संकटका बेला ब्यापारीले मुल्य बृद्धि गरेर नागरिकको ढाड सेकिरहेका छन् । एक हप्ता अगाडी रास्कोटमा डल्फीन चामलको मुल्य एक हजार सात सय थियो । अहिले आएर दुई हजार पाँच सय रुपियाँमा बिग्री गरिरहेका छन् ।
माला चामलमा पनि पाँच सय थप मुल्य लगाईएको छ ।पहिला एक हजार पाँच सयमा बिग्री हँुदै आएको माला चामलको अहिले उपभोक्ताले दुई हजार एक सय तिर्नु परेको छ । तेल चिनीमा भने त्यती चर्को मुल्य निधारण नगरिएको उपभोक्ताको भनाई छ । एक पाकेट तेलमा २५ रुपियाँ बढि लिनुलाई नागरिकले चर्को मानेका छैनन । नुन, तेल, चिनीमा २० देखि २५ रुपिँया सम्म वढी मुल्य लिने गरेपनि चामलमा भने निकै वढी लिने गरेका छन ।
रास्कोट नगरपालिकाले नागरिकको समस्यालाई ध्यानमा राखेर सुपथ मुल्य पसल स्थापना गरेको छ । तर पहिरोले सडक पुरै बगरमा परिणत गरेका कारणले खाद्यान्न आपुर्ति गर्न नसक्दा वजारमा ब्यापारीको एकाधिकार चलेको छ । नगर प्रमुख काँशिचन्द्र वरालले ब्यापारीको एकाधिकार तोड्न सरकारले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको भएपनि आपुर्तिमा सडक बगर हँुदा समस्या भएको बताउनुभयो । अब सरकारले अध्ययन, अनुसन्धान, अनुगमन गरेर अति गरेका ब्यापारीलाई कार्वाहि गर्ने बताउनुभयो । रास्कोट एक प्रतिनिधि पात्र मात्र हो । जिल्लाका अन्य स्थानीय तहमा पनि चर्को मुल्य लिने गरेको नागरिक स्तरवाट गुनासो आएको छ ।






