राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमालेको गठवन्धन : कर्णालीमा दुई सिटका लागि कांग्रेस–एमाले र नेकपाबीच प्रतिस्पर्धा

ओम शाही
सुर्खेत, २४ पुस ।
आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गठवन्धन गरेर अघि बढ्दा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) ले एकल उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचन आयोगले बुधबारलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम मिति तय गरेको थियो । आगामी फागुनमा एक राष्ट्रपतिबाट मनोनितसहित १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिदै छ । ती मध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो । बाँकी एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । फागुनमा पदावधि सकिनेमा कर्णालीका दुई जना छन् ।
जसमा महिलातर्फ सुर्खेतकी सुमित्रा विसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्मा छन् । यी दुई सिटमा कांग्रेस–एमाले र नेकपाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । विसी एमाले र शर्मा तत्कालिन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ ।
कांग्रेस–एमालेको गठवन्धनबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिं रखालको मनोनयन दर्ता हुँदा नेकपाको तर्फबाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतारा शाहीले मनोनयन दर्ता गराएका छन् । शाही जुम्ला र रखाल दैलखकी हुन् । अन्तिम समयमा तीन दलबीच भागवण्डा नमिलेपछि नेकपाले कर्णालीबाट रिक्त दुई पदमा मनोनयन दर्ता गराएको हो । शाही नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति हुन् । उनी २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए ।
यस्तै, उनी २०७९ मा सम्पन्न कर्णाली प्रदेशसभा सदस्यमा कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र चुनाव लडेका देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । यस्तै, रखाल २०७४ मा समानुपातिकतर्फ एमालेबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन । उनी गएको मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएकी थिइन् । नेकपाबाट राष्ट्रियसभा उम्मेदवार बनेका शर्मा र महतारा नयाँ अनुहार हुन् ।
सातै प्रदेशबाट ४४ जनाले गरे उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार, सातै प्रदेशबाट विभिन्न दलका गरी ४४ जनाले मनोनयन दर्ता गराएका छन् ।
कोसी प्रदेशबाट ५, मधेसबाट ११, बागमतीबाट ६ र गण्डकी प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, लुम्बिनीबाट ८, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ४ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ । त्यसपछि पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्नेछ । त्यही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ । त्यही साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पुस २८ गते चुनाव चिह्न प्रदान गरिने भएको छ । माघ ११ गते मतदान हुनेछ ।
नेकपाले गुमाउँदै एक सिट
यस पटकको राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट नेकपाले भएको एक सिट पनि गुमाउने निश्चत छ । एमालेले आफ्नो यसअघिको एक सिट जोगाउँदा कांग्रेसले भने कर्णालीबाट एक सिट थप्ने छ । कर्णालीमा प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ ।
यी दुई दलको कुल मतभार तीन हजार ५८ छ । कर्णालीमा कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य कांग्रेसका एकजना पनि छैनन् । तर, कर्णालीमा कांग्रेस मतभारमा सबैभन्दा अगाडि छ । मतभारका हिसावले दोस्रोमा नेकपा र तेस्रोमा एमाले छ । राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।
कर्णालीमा कांग्रेससँग प्रदेशसभातर्फ १४ सांसद र ५९ पालिका प्रतिनिधि गरी कुल एक हजार आठ सय ६३ मतभार छ । यस्तै, तत्कालीन माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी कुल एक हजार ६ सय एक मतभार छ ।
तत्कालीन एकीकृत समाजवादीको एक प्रदेशसभा सदस्यको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर दुई सय ४३ छ । यसो हुँदा नेकपासँग कुल एक हजार आठ सय ४४ मतभार हुन्छ । यस्तै, एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी एक हजार एक सय ९५ मतभार छ । राप्रपाको १ प्रदेश सांसदको ५३ र स्वतन्त्रको १ प्रदेश सांसद तथा ६ पालिका गरेर एक सय ६७ मतभार छ । यद्यपी, कांग्रेसबाट बागी लडेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही कांग्रेसमा फर्किसकेका छन् ।
यी हुन् पदावधि सकिन लागेका सांसद
आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन सकिदै छ । रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन् ।
भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन् । त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ ।






