सम्पादकीय : सडकबाट कहिलेसम्म माग्ने न्याय ?

सुर्खेतकी इनिशा विक मृत्यु प्रकरणमा सामुहिक बलात्कारपछि हत्या भएको दावी गर्दै जिल्ला सरकारी वकील कार्यालय अदालत पुगेको छ । प्रहरी अनुसन्धानको राय बमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामुहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । घटानमा संलग्न चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको छ । कानुनको विवादमा परेका बालकहरुले मृतकलाई जवरजस्ती करणी गरी ज्यान मारेको वारदात पुष्टी भएको देखिई निज बालकहरुले सामूहिक जवर्जस्ती करणीतर्फको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसूर अपराध गरेको तथा कर्तव्य ज्यानतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसूर गरेको तथ्य पुष्टी हुन आएको अभियोगपत्रमा भनिएको छ । उनीहरु विरुद्ध सामूहिक जबर्जस्ती करणीतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरित उपदफा (२) र उपदफा (७) बमोजिमको कसूरमा सोही संहिताको दफा २१९ (३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय माग गरिएको छ ।

यस्तै, सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने ठहर अभियोग पत्रमा गरिएको छ । गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, कि १६ वर्षीया इनिशाको रहस्यमय तवरबाट मृत्यु भएको थियो । त्यस दिन विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । अस्पतालले लगत्तै उनलाई मृत घोषणा गरेको थियो । सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । गौलीको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको थियो । पक्राउ परेका ति किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका छन् । प्रहरी अनुसन्धानको राय बमोजिम सरकारी वकील कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरिसक्दा पनि आफन्तले न्याय नपाउने आशंका गरिरहेका छन् । उनीहरुले घटनामा संलग्नमाथि कडा सजाय हुनुपर्ने माग राख्दै आएका छन् ।

पीडित परिवारले अदालत अघि धर्नासमेत दिदै आएका छन् । अदालतमा विचाराधिन मुद्दा प्रभावित हुने आशंकाका बीच पीडित परिवारले इनिशाको शव बुझ्‌न मानेका छैनन् । यो राज्यका न्याय निरुपण गर्ने निकाय र नागरिकबीचको ठुलो खाडल हो । घटना घटेकै दिनदेखि पीडित परिवारले प्रहरीको अनुसन्धानदेखि अदालतको भूमिकामा विश्वस्त नहुनु भनेको न्याय निरुपण गर्ने निकायहरु शक्तिको प्रभावमा पर्छन कि भन्ने डर हो । अर्कोतर्फ पीडक भनिएका अन्य तीन जनाका आफन्तले पनि सबुत प्रमाणले निर्दोष देखाएको अवस्थामा अनावश्यक मुद्दा चलाइनुलाई अन्यायको आँखाबाट हेरेका छन् । यस विषयमा सम्मानित अदालतले कसुर बमोजिम सजाय र निर्दोषलाई न्याय दिने नै छ । यसमा महत्वपूर्ण विषय कुनै पनि जघन्य अपराधमा जोडिएका व्यक्तिहरुले कानुन अनुसार सजाय पाउनु पर्दछ । यसमा दुई मत छैन । तर अभियोग करार भई मुद्दा चलिसकेको अवस्थामा अनावश्यक विरोध वा समर्थन गर्न जरुरी छैन । यसमा राज्यका निकायले घटनाको संवेदशिलताका आधारमा पीडित पक्षलाई विश्वासमा लिएर न्याय प्रभावित नहुनेमा आश्वत पार्नतर्फ ध्यान दिनु पर्दछ । जसले भोलिका दिनमा न्याय पाउनकै लागि सडकमा आउनुपर्ने अवस्थाको अन्त्य होस् ।

सम्पादकीय : सडकबाट कहिलेसम्म माग्ने न्याय ?

घुयँत्राे:“न्यायालय कि पार्टी कार्यालय? ९० वकिलको भीडमा

सम्पादकीय : सडकबाट कहिलेसम्म माग्ने न्याय ?

ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए

Leave a comment

Your email address will not be published. Required fields are marked *