विद्यार्थीमै सेवा र सामाजिक उत्तरदायित्वको संस्कार : जीवन ज्योतिद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

कोहलपुर, १५ असार ।
बाँकेको कोहलपुरस्थित जीवन ज्योति माध्यमिक विद्यालयले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै सरकारी विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय पहलमा कोहलपुर नगरपालिका–१० स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
“ज्ञान नै उज्ज्वल भविष्यको आधार हो” भन्ने मूल भावनाका साथ
सञ्चालन गरिएको कार्यक्रममा जीवन ज्योतिका विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम बचत गरी आफूजस्तै आर्थिक रूपमा कमजोर साथीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री संकलन गरेका हुन्। विद्यार्थीहरूको यो प्रेरणादायी अभियानले सहयोग, सद्भाव, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अझ बलियो बनाएको विद्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी कोहलपुर नगरपालिका–१० की वडा अध्यक्ष गौरा भट्टराईले आफ्नो वडाभित्र रहेको निजी विद्यालयले सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि गरेको सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउँदै विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका केही काम विद्यालयले आफ्नै पहलमा गरिदिँदा वडाको जिम्मेवारीसमेत केही हदसम्म हलुका भएको महसुस भएको बताउनुभयो। आगामी दिनमा पनि वडा कार्यालय र विद्यालयबीच यस्तै सहकार्य, समन्वय र सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्दै उहाँले यस्ता अभियानले शिक्षामा समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

जीवन ज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सरकारी विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीमा सानैदेखि सेवा, सहयोग, सहानुभूति र नेतृत्व विकासको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।

विद्यालयका शिक्षक प्रकाश कुँवरले यस्ता सहयोगले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका बालबालिकालाई ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले कापी, कलमजस्ता आधारभूत सामग्रीको अभावले धेरै विद्यार्थीको नियमित अध्ययन प्रभावित हुने भएकाले यस्तो सहयोगले उनीहरूलाई विद्यालयमा नियमित उपस्थित हुन, गृहकार्य गर्न, आत्मविश्वासका साथ अध्ययन गर्न र पढाइप्रति थप उत्साहित बन्न महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले सहयोग पाउने विद्यार्थीमा मात्र होइन, सहयोग गर्ने विद्यार्थीमा समेत मानवीय संवेदना, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पुरन चौधरीले जीवन ज्योति माध्यमिक विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गरेको बताउनुभयो। विद्यालयका प्रतिनिधिहरूले जीवन ज्योतिबाट प्रेरणा लिएर अन्य निजी विद्यालयहरूले पनि सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न सके शिक्षामा समान पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राखेको बताउनुभयो।

कार्यक्रममा सहभागी जीवन ज्योति माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूले आफ्नै सानो बचतबाट साथीहरूको शिक्षामा सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका थिए। उनीहरूले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने अवसर पाएकोमा गर्व महसुस भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कोहलपुर क्षेत्र मात्र नभई बाँके जिल्लामै उत्कृष्ट शैक्षिक गुणस्तर, अनुशासन, नवप्रवर्तन तथा सामाजिक सेवाका गतिविधिमा अग्रणी विद्यालयका रूपमा परिचित जीवन ज्योति माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सकारात्मक संस्कारको विकासमा निरन्तर उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ। विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक जीवन, नैतिक मूल्य र सामाजिक चेतनासँग जोड्दै विद्यार्थीलाई असल नागरिकका रूपमा तयार पार्ने अभियानलाई समेत प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ।









