छिन्चुमा विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै : निःशुल्क स्वास्थ्य शिविरबाट ६३१ जना लाभान्वित

सुर्खेत, १५ असार ।
Happy Souls र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। असार १३ गते आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट ६३१ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्।
गोपाल निना फाउन्डेसन नेपालगञ्जको समन्वयमा छिन्चु स्वास्थ्य चौकी, हाम्रो बहिनी सुर्खेत तथा सुर्खेत महिला स्वास्थ्य क्लिनिकको सहकार्यमा सञ्चालन गरिएको शिविरको उद्देश्य ग्रामीण तथा आर्थिक रूपमा विपन्न नागरिकलाई आफ्नै समुदायमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।

शिविरमा वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सोजन सापकोटा, मनोरोग विशेषज्ञ डा. सुशिल समदर्सी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राम विष्ट, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. गणेश तिवारी तथा कन्सल्टेन्ट जनरल फिजिसियन एवं इमरजेन्सी फिजिसियन डा. सरोज गिरीले बिरामीहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्नुभएको थियो।
शिविरमा शल्यसम्बन्धी समस्या, मानसिक स्वास्थ्य, महिला तथा प्रसूति स्वास्थ्य, हाडजोर्नी तथा नशारोग, साथै विभिन्न दीर्घ तथा सामान्य रोगका बिरामीको परीक्षण गरिएको थियो। विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा निःशुल्क सेवा पाउँदा स्थानीय बासिन्दा उत्साहित हुनुका साथै उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता पनि कम भएको सहभागीहरूले बताएका छन्।

आयोजकका अनुसार ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले समयमै रोग पहिचान, आवश्यक परामर्श तथा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, नियमित स्वास्थ्य परीक्षणप्रति नागरिकलाई सचेत बनाउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने जनाइएको छ।
Happy Souls र गोपाल निना फाउन्डेसन नेपालगञ्जले आगामी दिनमा पनि दुर्गम तथा सेवा पहुँच कम भएका क्षेत्रमा यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।







