साक्षर जिल्ला घोषणा भए पनि जुम्लामा अझै हजारौं निरक्षर

गाेल्डेन बुढा

जुम्ला,११ जेठ ।
राज्यले विद्यालय विस्तार, निःशुल्क शिक्षा, साक्षरता अभियान र शिक्षामा पहुँच बढेको दाबी गरिरहँदा जुम्लाको भने फरक तथ्यांक देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका हजारौं नागरिक अझै अक्षर चिन्न नसक्ने अवस्थामा छन्। अझ गम्भीर पक्ष, पुरुष र महिलाबीचको साक्षरताको खाडल अहिले पनि गहिरो छ।जिल्लाका अधिकांश स्थानीय तहमा पुरुष साक्षरता दर ७० देखि ८० प्रतिशत माथि पुगेको छ। तर महिलाको साक्षरता दर अझै ५०–६५ प्रतिशतको सीमाभित्र छ। यसले शिक्षा पहुँचमा लैंगिक समानता अझै स्थापित हुन नसकेको स्पष्ट देखाउँछ। चन्दननाथ नगरपालिका जिल्लामै तुलनात्मक रूपमा अगाडि देखिए पनि त्यहाँको अवस्था पनि पूर्ण सन्तोषजनक छैन। राष्ट्रिय जनगणना २०७८ अनुसार ५ वर्ष र साे माथिको कुल जनसंख्या १९ हजार ५ सय ३ मध्ये पढ्न र लेख्न दुवै सक्ने (साक्षरता) दर ७७.५८ प्रतिशत छ। जसमध्ये महिला ६७.८१ प्रतिशत र पुरुष ८७.७४ प्रतिशत छन्। पढ्न सक्ने मात्र ०.४९ प्रतिशत छन् भने पढ्न र लेख्न दुवै नसक्ने २१.८५ प्रतिशत छन्।पातारासी गाउँपालिका भित्र कुल १५ हजार २ सय ३६ जनसंख्यामध्ये पढ्न र लेख्न सक्ने साक्षरता दर ६४.५३ प्रतिशत देखिन्छ। जसमध्ये पुरुष ७३.४३ प्रतिशत र महिला ५६.०६ प्रतिशत छन्। पढ्न मात्र सक्ने ०.५९ प्रतिशत र दुवै नसक्ने ३४.५८ प्रतिशत छन्।कनकासुन्दरी गाउँपालिका भित्र कुल १२ हजार ३ सय ७४ मध्ये पढ्न लेख्न सक्ने साक्षरता दर ६८.२७ प्रतिशत छ। पुरुष ७७.८१ प्रतिशत र महिला ५९.११ प्रतिशत छन्। पढ्न मात्रै सक्ने ०.५८ प्रतिशत र दुबै नसक्ने साक्षरता दर ३०.७२ प्रतिशत छ।सिंजा गाउँपालिका को कुल ११ हजार ३ सय ९४ जनसंख्या छ। उक्त गाउँपालिकामा पढ्न–लेख्न सक्ने साक्षरता दर ६१.२० प्रतिशत छ। पुरुष ६८.५६ प्रतिशत र महिला ५३.६२ प्रतिशत छन्। पढ्न सक्ने ०.४५ प्रतिशत र दुवै नसक्ने ३६.२९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।गुठिचौर गाउँपालिका भित्र जम्मा ९ हजार ९ सय ३३ जनसंख्या मध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ६९.१९ प्रतिशत छ। जसमा पुरुष ७९.०८ प्रतिशत र महिला ५९.७१ प्रतिशत छन्। यस्तै पढ्न मात्रै सक्ने १.६१ प्रतिशत देखिन्छ भने लेख्न र पढ्न नसक्ने २८.५६ प्रतिशत रहेको छ।तातोपानी गाउँपालिका भित्र कुल १४ हजार २ सय ५० जनसंख्याको साक्षरता दर ७०.२७ प्रतिशत छ। जसमा पुरुष ७८.४० प्रतिशत र महिला ६२.४२ प्रतिशत छन्। पढ्न सक्ने मात्रै ०.५२ प्रतिशत छन् भने दुवै नसक्ने २९.१२ प्रतिशत छन्।तिला गाउँपालिका मा १३ हजार २९ जनसंख्याको पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ७१.६९ प्रतिशत छ। जसमध्ये पुरुष ७९.०३ प्रतिशत र महिला ६४.५५ प्रतिशत छन्। पढ्न सक्ने मात्रै ०.८६ प्रतिशत र दुवै नसक्ने २७.३५ प्रतिशत छन्।हिमा गाउँपालिका को कुल १० हजार ८ सय ४७ जनसंख्या मध्ये पढ्न र लेख्न दुवै सक्ने साक्षरता दर ७२.७३ प्रतिशत छ। पुरुष ८०.०८ प्रतिशत र महिला ६५.४० प्रतिशत छन्। पढ्न मात्रै सक्ने दर ०.८३ प्रतिशत छ भने पढ्न र लेख्न दुवै नसक्ने २६.३१ प्रतिशत छन्।तथ्यांकले देखाएको यो यथार्थ शैक्षिक अवस्था मात्र होइन, जुम्लाको सामाजिक यथार्थ पनि हो। विद्यालय भवन थपिए, पाठ्यपुस्तक पुगे, नीतिमा शिक्षा प्राथमिकतामा पर्‍यो, तर गाउँका धेरै महिलासम्म अक्षर पुग्न सकेन। गरिबी, बालविवाह, घरेलु श्रम, चेतनाको कमी र दुर्गम बस्तीमा कमजोर शैक्षिक पहुँचले महिला शिक्षा अझै पछि परेको देखिन्छ। धेरै परिवारमा छोरा विद्यालय पठाउने र छोरीलाई घरको जिम्मेवारीमा राख्ने परम्परागत सोच अझै जीवित छ। त्यसको प्रत्यक्ष असर साक्षरता दरमा देखिएको छ।सिंजा र पातारासीजस्ता गाउँपालिकामा एकतिहाइभन्दा बढी नागरिक अझै पढ्न र लेख्न नसक्ने अवस्थामा हुनु भनेको तथ्यांक मात्रै होइन, राज्यको शिक्षा नीतिमाथिको गम्भीर प्रश्न पनि हो।साक्षरता दर बढ्नु मात्र विकास होइन, त्यो अवसर, चेतना र आत्मनिर्भरताको आधार हो। तर जुम्लाको पछिल्लो तथ्यांकले शिक्षा पहुँचको यात्रा अझै अधुरो देखाएको छ।२०८१ मंसिर ११ गते जुम्लालाई साक्षर जिल्लाका रूपमा घोषणा गरिएको थियो। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक सार्वजनिक भयो। राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ।तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधान छ। हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा हुनुपर्छ।तथ्यांकअनुसार हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७.०० प्रतिशत, सिंजा गाउँपालिकामा ९५.५ प्रतिशत, पातारासी गाउँपालिकामा ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिकामा ९५.७७ प्रतिशत, तिला गाउँपालिकामा ९५.४ प्रतिशत र गुठिचौर गाउँपालिकामा ९५.७३ प्रतिशत नागरिक साक्षर भएको विवरण सार्वजनिक गरिएको थियो।प्रदेश सभा सांसद देवेन्द्र बहादुर शाही र समन्वय प्रमुख गौरीनन्द आचार्य ले संयुक्त रूपमा जुम्लालाई साक्षर जिल्ला घोषणा गरेका थिए।

साक्षर जिल्ला घोषणा भए पनि जुम्लामा अझै हजारौं निरक्षर

ढटेलाे तेल तिर,जुम्ली महिलाको आकर्षण

साक्षर जिल्ला घोषणा भए पनि जुम्लामा अझै हजारौं निरक्षर

साक्षर जिल्ला घोषणा भए पनि जुम्लामा अझै

Leave a comment

Your email address will not be published. Required fields are marked *