बर्दिया राष्ट्रिय निकुञ्जमा सिकारी मृत्यु प्रकरण उजाडियो टोपबहादुरको परिवार
ओम शाही
सुर्खेत, १० चैत ।
गएको २३ फागुनमा सिकार खेल्न निस्किएका बराहताल गाउँपालिका–२, रानिघाटका ३३ वर्षीय टोपबहादुर खत्री मृत भेटिएका छन् । त्यो दिन खत्रीसँगै अन्य पाँच जना जंगली जनावरको सिकार गर्न प्रतिवन्धित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा प्रवेश गरेका थिए । सोही दिन टोबहादुरको मृत्यु भएको थियो ।
उनीहरुसँगै गएका अन्य साथीहरुले टोपबहादुर हिँड्नेक्रममा लडेको र उनले बोकेको भरुवा बन्दुक पड्कदा लागेको गोलीले घटनास्थलमै मृत्यु भएको भनेका छन् । टोपबहादुरको मृत्यु भएपछि उनीसँगै गएका अन्य पाँच जना घर फर्केर त्यसको भोलिपल्ट भारततर्फ भागेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटना घटेको १७ दिनपछि टोपबहादुरको शव बर्दिया राष्ट्रिय निकुञ्जको रातामाटा पोष्टदेखि दुई किलोमिटर पश्चिमतर्फतको खोला किनारामा भेटिएको पुष्टि गरे ।
घटना बाहिरिएपछि खोजिमा लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेत र बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा नेपाली सेनाको टोलीले सोमबार टोपबहादुरको शव फेला पारेको हो । मृतक टोपबहादुरको पोष्टमार्टमपछि जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुसन्धान अघि बढाउने शाहीले बताए । उनका अनुसार टोपबहादुरको मृत्युको कारण अनुसन्धानपछि मात्रै खुल्ने छ ।
टोपबहादुरको मृत्युपछि फरार भएर भारत पुगेका अन्य व्यक्तिले घटनास्थलको लोकेशन दिएपछि शव फेला परेको हो । शाहीले घटनामा संलग्नहरुलाई पक्राउ गरेर नेपाल ल्याउने प्रयास जारी रहेको बताए । ‘घटनामा संलग्न भएकाहरुले टोपबहादुर लडे पश्चात आफैले बोकेको बन्दुक पड्किएर मृत्यु भएको भनेका छन्,’ शाहीले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । फरार भएकाहरु पक्राउ परेपछि मृत्युको कारण खुल्छ ।’
१० दिनपछि बाहिरिएको थियो घटना
२३ फागुनमा सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । जिल्लाको बराहताल गाउँपालिका–१ र २ का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसहित १७ किलोमिटर दुरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए ।
उक्त सिकारी समूहमा थिए, बराहतला गाउँपालिका–१, ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र बराहताल–२, रानिघाटका ३३ वर्षीय टोपबहादुर खत्री ।
त्यस्तै, लेकवेशी नगरपालिका–८, गंगटेका ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरुसँगै थिए । देश प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो । सुरक्षा निकायको ध्यान चुनावमा केन्द्रित भएको अवस्थामा उनीहरु सिकारका लागि जंगल छिरेका थिए ।
स्थानीयका अनुसार उनीहरु मौका छोपेर सिकारका लागि निकुञ्जमा पसिरहन्थे । पूर्वयोजना मुताविक निकुञ्ज प्रवेश गरेका उनीहरु अकस्मात २४ फागुनमा घर फर्किए । तर घर फर्कने मध्येमा थिएनन्, ३३ वर्षीय टोपबहादुर खत्री । चोरी सिकारी गर्न नपाइने कडा कानुनको नजरअन्दाज गरेर निकुञ्ज पसेकाहरु घर फर्कदा भने निकै हतास देखिन्थे ।
यसको कारण थियो, सँगै गएका टोपबहादुरको मृत्यु । बिहान सिकार गएकाहरु एक्कासी घर फर्के, तर टोपबहादुर फर्केनन् । घर फर्केकाहरुले उनी उतै जंगलमा मरेको सुनाए । तर मृत्युको कारण भने खुलाएनन् । आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरु भारततर्फ भागे । यो घटना १० दिन अर्थात २ चैतमा मात्र सार्वजनिक भएको थियो ।
पिडकहरुले परिवारका सदस्यलाई टोपबहादुरको मृत्यु भएको खबर कसैलाई नभन्नु भनेका थिए । तर घटनाका बारेमा सिकार खेल्नसँगै गएका सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतरालाई १ चैतमा घटनाका बारेमा सुनाइन । घटनाका बारेमा थाहा पाउना साथ महतरा तत्काल प्रहरी चौकी रानिघाट पुगेपछि घटनाको रहस्य बाहिर आएको थियो ।
घटना घटेको बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र रातामाटे र बराहताल गाउँपालिकाको वडा नम्बर १ सिमावर्ती क्षेत्र हुन् । उत्तरी पानी ढलो सुर्खेत र दक्षिण पानी ढलो बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछन् । कानुनले जंगली जनावरको सिकार गर्ने कार्यलाई दण्डित गरेपनि यस निकुञ्ज क्षेत्रसँग सिमा जोडिएका वस्तीका नागरिकहरु अझै पनि लुकिछिपी चोरी सिकारीमा संलग्न हुँदै आएका छन् ।
उजाडियो टोपबहादुरको परिवार
टोपबहादुरको मृत्यु भएपछि उनको परिवार उजाडिएको छ । २३ फागुनको शनिबार टोपबहादुरलाई घरबाट निस्केको देखेका दुई छोराले अब बुवाको आश्रय पाउने छैनन् । टोपबहादुरको परिवारमा श्रीमती, ११ र ६ वर्षीय दुई छोरा छन् ।
दैनिक ज्याला मजुदरीका लागि भारत जाने गरेका टोपबहादुरकी श्रीमती डिलमाया थापाले स्थानीय भेरी माध्यमिक विद्यालयको बालविकास कक्षामा अस्थायीरुपमा पढाउँदै आएकी थिइन । श्रीमान्को ज्याला मजदुरी र आफुले पढाएवापत आउने पारिश्रमिकले उनीहरुको परिवार चलेकै थियो । उनको परिवारसँग यो भन्दा अन्य आयस्रोत छैन । त्यस दिन उनका साथिहरुले टोपबहादुरलाई फोन गरेका थिए ।
पटक–पटक श्रीमान्को मोवाइलमा फोन आएको डिलमायाले सुनेकी थिइन । तर उनीहरु बीच के कुरा भएको थियो भन्ने विषयमा भने उनी अन्जान थिइन । टोबहादुरलाई साथीहरुले बारम्बार आउन कर गरेपनि उनी जाने मनसायमा भने थिएनन् ।
साथीहरुले बारम्बार आउन कर गरे । अन्ततः एकाएक निर्णय लिएर श्रीमती र छोराहरुलाई केही नभनी हिँडेका टोपबहादुर भने अब कहिल्यै घर फर्कने छैनन । टोपबहादुरको मात्र नभई उनीसँगै अवैधरुपमा निकुञ्ज प्रवेश गरेका अन्य पाँच जनाको परिवार पनि धरासायी अवस्थामा पुगेको छ । उनीहरुमाथि टोपबहादुरको हत्या गरेको अभियोग त लाग्ने नै छ ।
अनुमतिबिना हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा कैद सजायसमेत भोग्नुपर्ने छ । घटनामा संलग्न व्यक्तिहरुको आश्रयमा उनीहरुका परिवार रहेको देखिन्छ । टोपबहादुरलाई जंगलमै छाडेर भागेकाहरु तत्काल जोगिएका छन् । तर प्रहरीले उनीहरुलाई एक न एकदिन पक्राउ गरेर कानुनी दायरामा भने ल्याइ छाड्ने छ ।
उनीहरुको खोजिमा प्रहरी परिचालन भइसकेको छ । डिलमायाले जंगलमा मृत भेटिएका टोपबहादुरको शव बर्दियाको भुरिगाउँमा कुरिरहेकी छन् । उनले जबरजस्ती आफ्ना श्रीमान्लाई बोलाएर जंगलमा लगि हत्या भएको आशंका गरिरहेकी छन् । घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने माग उनको छ ।
टोपबहादुरको मृत्यु भएपछि अब डिलमायाको थाप्लोमा नाबालक छोरा हुर्काउने कठिन जिम्मेवारी थपिएको छ । यति मात्र होइन अब उनको काँधमा श्रीमान्लाई न्याय दिलाउने बोझिलो भारीसमेत परेको छ ।





