पाँच वर्षमा सुर्खेतमा सात हजारबढीमा डेंगी संक्रमण, वीरेन्द्रनगर उच्च जोखिममा

ओम शाही
सुर्खेत, ७ साउन ।
सुर्खेत जिल्लामा पछिल्ला वर्षहरूमा डेंगी संक्रमणको जोखिम निरन्तर बढ्दो क्रममा देखिएको छ । परीक्षणको दायरा विस्तार भएसँगै संक्रमण पुष्टि हुने बिरामीको संख्या पनि वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ । पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर ४९ हजार आठ सय ११ जनामा डेंगी परीक्षण गरिएकोमा सात हजार एक सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी जोखिममा रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै वीरेन्द्रनगर नगरपालिकामा एक हजार नौ सय २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । प्रदेशको प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको वीरेन्द्रनगरमा जनघनत्व बढ्दै जाँदा डेंगी संक्रमणको जोखिम पनि उच्च बन्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय विसीका अनुसार जिल्लामा डेंगी परीक्षणको पहुँच विस्तार हुँदै गएपछि वास्तविक संक्रमितको पहिचान पनि बढेको हो । उनका अनुसार विगतका तुलनामा अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण सेवा सहज रूपमा उपलब्ध भएकाले संक्रमण पुष्टि हुने संख्या बढेको देखिएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार पाँच सय ३० जनामा डेंगी परीक्षण गरिएको थियो । तीमध्ये नौ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछिको आर्थिक वर्ष २०७९/०८० मा परीक्षणको संख्या बढेर आठ हजार चार सय १६ पुगेको थियो, जसमा एक हजार चार सय ८४ जनामा डेंगी पुष्टि भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार नौ सय ५२ जनामा परीक्षण गर्दा पाँच सय ७१ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । त्यसपछि संक्रमण फेरि उकालो लागेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार तीन सय १६ जनामा परीक्षण गर्दा एक हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको थियो । गत आर्थिक वर्ष २०८२/०८३ मा १४ हजार पाँच सय ९७ जनाको परीक्षण गर्दा दुई हजार दुई सय सात जनामा संक्रमण पुष्टि भएको विसीले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूका अनुसार डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया चारदेखि सात दिनभित्र रोगका लक्षण देखिन थाल्छन् । एक्कासी उच्च ज्वरो आउने, शरीरमा डाबर देखिने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने र पेट तथा आन्द्रासम्बन्धी समस्या देखिनु डेंगीका प्रमुख लक्षण हुन् ।
वरिष्ठ मलेरिया निरीक्षक विसीका अनुसार एक पटक कुनै एक प्रजातिको डेंगी भाइरसबाट संक्रमित भएपछि सोही प्रजातिबाट पुनः संक्रमण हुँदैन । तर, अन्य प्रजातिको भाइरसबाट पुनः संक्रमण हुन सक्छ । विशेषगरी दोस्रो पटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी जटिल र जोखिमपूर्ण हुने भएकाले लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्ने उनको सुझाव छ ।
उनका अनुसार साउनदेखि असोजसम्मको अवधि डेंगी संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिन्छ । यही कारण यी महिनालाई डेंगी सचेतना महिनाका रूपमा मनाउँदै विभिन्न रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयले डेंगी नियन्त्रणका लागि स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, समुदायस्तरमा जनचेतना विस्तार, लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान तथा आवश्यक स्वास्थ्य सामग्री वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ । सरकारी स्वास्थ्य संस्थामा डेंगी परीक्षण सेवा प्रभावकारी बनाउन परीक्षण किट खरिद गरी वितरण गरिएको छ ।
निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई समेत डेंगी रोगको पहिचान, उपचार र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको विसीले बताए । यसबाट सरकारीसँगै निजी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस्तै, जनस्वास्थ्य सेवा कार्यालयले स्थानीय तहसँगको समन्वयमा सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरिरहेको छ ।
अभियानअन्तर्गत लामखुट्टेले फूल पार्ने तथा हुर्किने सम्भावित स्थानको खोजी गरी नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । वडा तहमा जनप्रतिनिधिसहितको टोली परिचालन गरेर सरसफाइ, समुदायस्तरीय जनचेतना अभिवृद्धि तथा लामखुट्टे नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन् ।
स्क्रब टाइफस, मेलेरिया र कालाजारको जोखिम पनि कायमै
सुर्खेतमा डेंगीसँगै अन्य किटजन्य रोगको जोखिम पनि कायमै रहेको तथ्यांकले देखाउँछ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर २६ हजार ६ सय ९३ जनामा स्क्रब टाइफस परीक्षण गरिएकोमा एक हजार आठ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८३ हजार पाँच सय पाँच जनामा मेलेरिया परीक्षण गर्दा एक सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पाँच वर्षमा नौ हजार ६ सय ७४ जनामा कालाजार परीक्षण गरिएकोमा दुई सय ३३ जनामा रोग पुष्टि भएको तथ्यांक छ । औलोको जोखिम पनि पूर्ण रूपमा हटिनसकेको देखिएको छ । कार्यालयका अनुसार पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर ७३ हजार ३७ जनामा औलो परीक्षण गरिएकोमा एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ ।
वरिष्ठ मलेरिया निरीक्षक वसीले डेंगीसहित किटजन्य रोगको जोखिम न्यूनीकरणका लागि घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी संकलन हुने भाँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउने र ज्वरो आएमा आफैं औषधि सेवन नगरी तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरे ।





