प्रतिनिधिसभा निर्वाचन–२०८२ : आज उम्मेदवारको मनोनयन दर्ता: सामाजिक सञ्जालमा गरिने प्रचार प्रसारमा कडाई

ओम शाही

सुर्खेत,  ६ माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ४४ दिन बाँकी छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायधिस सुशीला कार्की नेतृत्वको सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेको छ । सरकारले निर्वाचनको मिति तय गरेयता चुनावको तयारी व्यापकरुपमा अघि बढाई रहेको छ ।

निर्वाचन तयारीकै क्रममा निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नामावाली सार्वजनिक गरिसकेको छ, भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको मनोनयन दर्ता आज (मंगलबार)लाई तोकिएको छ । मंगलबार नै दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । प्राप्त उजुरीमाथि छानबिन गरी माघ ७ देखि ८ गतेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । निर्णयपछि ८ माघमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिने प्रक्रिया सम्पन्न भएपछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिने गरी निर्वाचन कार्यतालिका बनाइएको छ ।

अन्तिम नामावली प्रकाशनपछि ९ माघमा नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । निर्वाचनको अन्तिम तथा महत्वपूर्ण चरणका रूपमा २१ फागुनमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले तोकिएको समयसीमाभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न उम्मेदवार, राजनीतिक दल तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ ।

कर्णालीका कुन जिल्लाबाट कसले पाए टिकट ?

आगामी निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)ले उम्मेदवार टुङ्गो लगाएका छन् । तीन दलले कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउँदा नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म नौ निर्वाचन क्षेत्रका उम्मेदवार छानेको छ ।

कांग्रेसले जाजरकोट, रुकुम पश्चिम र सुर्खेत–१ मा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र २ बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा उम्मेदवार बनेका छन् ।

कालीकोटबाट नगेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लंक रोकाया उम्मेदवार छन् । यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख– १ बाट रवीन्द्रराज शर्मा र २ बाट लक्ष्मी पोखरेल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्दा एमालेले जाजरकोटबाट डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

नेकपाले यसपटक रुकुम पश्चिमबाट गोपाल शर्मालाई उम्मदेवार बनाएको छ । जनार्दन शर्माले पार्टी छोडेपछि शर्मालाई अघि सारिएको हो । यस्तै, जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बन्दा दैलेख–१ बाट अम्बरबहादुर थापा, २ बाट योगेन्द्रबहादुर शाही उम्मेदवार बनेका छन् ।

थापा पूर्वसमाजवादी हुन् भने शाही पूर्वएमाले हुन् । थापा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए भने शाही २०७९मा सम्पन्न प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । उतिबेला शाही एमालेका विनोदकुमार शाहसँग पराजित भएका थिए ।

त्यस्तै, सुर्खेत–१ बाट जीतबहादुर राना, २ बाट झक्कबहादुर मल्ल नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् । डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सल्यानबाट रमेश मल्ल र हुम्लाबाट दिपेन्द्र रोकाय, कालीकोटबाट महेन्द्रबहादुर शाही र मुगुबाट चन्द्रबहादुर शाही नेकपाकोतर्फबाट उम्मेदवार बनेका छन् । बुढा र शाही पूर्वसमाजवादी हुन् ।

त्यस्तै, कांग्रेसले हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर शाही, जुम्लाबाट दीपबहादुर शाही, डोल्पाबाट कर्णबहादुर बुढालाई टिकट दिएको छ । यस्तै, कालिकोटबाट हर्ष बम, दैलेख–१ बाट दिक्पालकुमार शाही, दैलेख–२ बाट बासना थापा, सल्यानबाट केशबहादुर विष्ट र सुर्खेत–२ बाट नारायण कोइरालाले टिकट पाएका छन् । त्यस्तै, रास्वपाले पनि कर्णालीका सबै जिल्लाबाट उम्मेदवार टुङ्गो लगाएको छ ।

रास्वपाले सुर्खेत–१ बाट टेकबहादुर सिंह, सुर्खेत–२ बाट रमेशकुमार सापकोटालाई टिकट दिएको छ । यस्तै, दैलेख–१ बाट नन्दकिशोर बस्नेत, दैलेख–२ बाट बखतबहादुर शाही, सल्यानबाट ललित चन्द, डोल्पाबाट देबसिंह एडी, हुम्लाबाट टासी ल्हाजोम लामाले टिकट पाएका छन् । मुगुबाट भुवन टमटा, जाजरकोटबाट रागब कार्की, रुकुम पश्चिमबाट मानबहादुर शाही र जुम्लाबाट पूर्वसांसद बिनिता कठायत उम्मेदवार बनेका छन् ।

सामाजिक सञ्जालका प्रचार प्रसारमा कडाई

निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका प्रावधानहरू कडाइका साथ लागू गर्ने जनाएको छ । आचारसंहिता अनुसार सार्वजनिक संस्था, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणले निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ ।

आयोगका अनुसार कुनै पनि सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकाय तथा तिनअन्तर्गतका परियोजनाको स्रोत, साधन र सम्पत्ति राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न निषेध गरिएको छ । आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा अन्य कार्यक्रमहरूमा अवरोध पुग्ने गतिविधि गर्न, निर्वाचनसम्बन्धी सामग्री वा सूचनामा तोडमोड गर्न पनि कडाइका साथ रोक लगाइएको छ ।

यस्तै, सरकारी तथा अर्धसरकारी कार्यालय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय तथा महाविद्यालयको परिसर प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, सभा वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित पहिरन, स्टिकर, झोला, ब्याच, ट्याटु लगायतका साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वा प्रदर्शन गर्नसमेत निषेध गरिएको छ ।

घर वा जग्गाधनीको स्वीकृति बिना निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच पुर्‍याउने, चरित्रहत्या गर्ने वा अपमानजनक प्रचारप्रसार गर्न रोक लगाइएको छ । बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्नसमेत पूर्ण निषेध गरिएको छ ।

आचारसंहिताले निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नपाइने तथा सार्वजनिक आवागमन अवरुद्ध हुने गतिविधि गर्न नहुने स्पष्ट गरेको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न, झुटा एकाउण्ट वा साइट सञ्चालन गर्न तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी दुष्प्रचार गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै निर्वाचन आयोग, आयुक्त वा कर्मचारीको विश्वसनीयता र प्रतिष्ठामा आँच पुर्‍याउने लाञ्छना, उम्मेदवार वा व्यक्तिको चरित्रहत्या तथा मानहानी गर्ने सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा त्यसको परिणाम सार्वजनिक गर्न पनि निषेध गरिएको छ ।

मतदाताको गोप्यता भङ्ग गर्ने, मतदानस्थलमा खटिएका कर्मचारीसँग वादविवाद गर्ने, अनुमति बिना मतदानस्थल वा मतगणनास्थलमा तस्बिर वा भिडियो खिच्ने कार्य गर्न नपाइने आयोगले जनाएको छ । कुनै पनि किसिमले निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने गतिविधि गरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत आयोगले दिएको छ ।

प्रतिनिधिसभा निर्वाचन–२०८२ : आज उम्मेदवारको मनोनयन दर्ता:  सामाजिक सञ्जालमा गरिने प्रचार प्रसारमा कडाई

सम्पादकीय : दलहरुमा नसुध्रिएको आन्तरिक लोकतन्त्र !

Leave a comment

Your email address will not be published. Required fields are marked *