पोषण कार्यक्रमको समीक्षा

सुर्खेत, ५ जेठ ।
सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारिताका बारेमा समीक्षा गरिएको छ । प्रदेश योजना आयोगले ४ र ५ जेठमा आयोजना गरेको समीक्षा गोष्ठीमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पोषण परियोजनाको प्रभावकारिताका बारेमा समीक्षा गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कागजी नीति मात्र नभई स्थानीय तहसम्म व्यवहारिक रूपमा कार्यान्वयन गर्नु, पोषणमैत्री स्थानीय शासनलाई संस्थागत बनाउनु, तथा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र सरसफाइ क्षेत्रबीच समन्वय मजबुत बनाउँदै बाल तथा मातृ पोषण सुधार गर्नु रहेको आयोजकले जनाएको छ ।
गोष्ठीमा सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, सम्बन्धित पालिकाका पोषण शाखा प्रमुख तथा विषयगत शाखाका कर्मचारीहरूको सहभागिता थियो । सहभागी सबै स्थानीय तहहरूले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै पोषणमैत्री स्थानीय शासनलाई संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, आगामी दिनमा पोषण सुधारलाई दीगो बनाउन स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।






