चार जिल्लाको विद्युत सेवाको दिगोपनामा रुकुम प्रशासनको पहल

रुकुम पश्चिम, २ साउन ।
पछिल्लो समय पटक–पटक विद्युत अवरुद्ध हुने, झ्याप–झ्याप जाने, लामो समयसम्म विद्युत पुनः सञ्चालन नहुने, सामान्य हावाहुरी तथा वर्षाको समयमा सेवा प्रभावित हुने, न्यून भोल्टेज तथा लाईन ट्रिप हुने समस्या बढेको छ । जसको कारण आम नागरिक, उद्योग व्यवसाय, स्वास्थ्य संस्था, शैक्षिक संंस्था, सञ्चार क्षेत्र तथा सरकारी सेवा प्रवाह समेत प्रभावित भएकोले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले समस्या समाधानका लागि पहल गरेको छ ।
विद्युत आपूर्ति अत्यन्त अनियमित हुन थालेपछि वास्तविक समस्या तथा चुनौती पहिचान गर्न प्रशासनले नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र रुकुम पश्चिमलाई निर्देश्न दिएको हो भने विद्युत सेवाको दिगोपनाका लागि विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा पहल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार विद्युत सेवा उपर व्यापक गुनासो आएपछि विद्युत वितरण केन्द्रलाई वास्तविक समस्या, कारण, चुनौती र समाधानका उपायहरु उल्लेख गरेर प्रतिवेदन नै तयार गर्न निर्देशन दिईएको हो ।
प्रशासनको निर्देशनपछि अध्ययन गरेर प्रतिवेदन पेश गरिएको विद्युत वितरण केन्द्रका प्राविधिक प्रमुख पारस सुवेदीले जानकारी दिए । उनका अनुसार विद्युत आपूर्ति अनियमित हुनुमा पूर्ण विद्यूतिकरण कार्यमा ढिलासुस्ती भएको छ भने प्रसारण तथा वितरण प्रणालीमा पनि समस्या रहेको छ ।
त्यसैगरी प्राविधिक रुपले विभिन्न समस्याहरु रहेका छन् भने व्यवस्थापकीय र दीर्घकालिन पूर्वाधारको समेत अभाव रहेको छ । प्राविधिक प्रमुख सुवेदीले रुकुम वितरण केन्द्रबाट रुकुमपश्चिम जिल्लाका अधिकांस क्षेत्र, रुकुमपूर्वको सम्पूर्ण क्षेत्र, जाजरकोट र सल्यान जिल्लाका केहि क्षेत्रमा विद्युत सेवा प्रवाह हुँदै आएको जानकारी दिए । यस केन्द्रबाट २५ हजार २८३ ग्राहकलाई विद्युत सेवा उपलब्ध गराईएको छ भने करिब चार हजार पाँच सय घरधुरी अझै विद्युतीकरण हुन बाँकि रहेका छन् ।
विद्युत वितरण केन्द्रबाट गहन रुपमा अध्ययन भएर आएको प्रतिवेदन र समस्या समाधानका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरु उल्लेख गरेर समस्या समाधान गर्न विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा पहल गरिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए ।
प्रजिअ गौतमले विद्युत आपूर्तिको मुख्य समस्याको रुपमा ३३ केभी र ११ केभी प्रशारण लाईन बिचको अत्याधिक दुरी रहेको, सल्यान–रुकुम खण्डको जंगल क्षेत्रमा नाङ्गो ३३ केभी लाईन रहेकोले रुखका हाँगा लाग्ने र वर्षायाम तथा हावाहुरीले असर गर्ने गरेको, वैकल्पिक ३३ केभी विद्युत स्रोतको अभावका कारण एउटै प्रशारण लाईनमा पूर्ण निर्भरता रहेको जानकारी दिए ।
त्यसैगरी आवश्यक प्राविधिक जनशक्ति, सवारी साधन, ट्रान्सफर्मर तथा अन्य विद्युतिय सामाग्रीको अभाव रहेको, प्रणाली सुधार तथा पूर्वाधार विस्तारका लागि पर्याप्त वजेट नरहेको अवस्था रहेको छ । प्रतिवेदनले जिल्लाको विद्युत आपूर्ति दिगो बनाउन जाजरकोटको कुदु–मुसीकोट ३३ केभी नयाँ प्रशारण लाइन र्मिाण, बाँफिकोटको भम्पुचौरमा ३३/११ केभी सबस्टेशन, भविष्यमा १३२/३३ केभी ग्रिड सबस्टेशन निर्माण, जंगल क्षेत्रको नाङ्गो तार बिस्थापन, गुणस्तरिय प्रणाली स्तरोन्नती गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरी जीर्ण प्रशारण तथा वितरण संरचनाको आधुनिकिकरण, आवश्यक ट्रान्सफर्मर, उपकरण, जनशक्ति तथा बजेट व्यवस्थापन लगायतका समस्या समाधानका उपायहरु राखेर प्राधिकरणलाई कार्यान्वयनका लागि पहल गरिएको छ । प्रजिअ गौतमले प्रतिवेदनमा उल्लेख गरिएका समस्या, चुनौती र समाधानका प्रस्तावहरुलाई उच्च प्राथमिकतामा राखेर आवश्यक नीतिगत निर्णय, बजेट व्यवस्थापन, पूर्वाधार निर्माण, उपकरण तथा जनशक्ति व्यवस्थापनको कार्य यथासक्य अगाडी बढाउन प्राधिकरणलाई अनुरोध गरिएको बताए ।






