चुना मिश्रित माटो प्रविधिबाट जुम्ला–कालिकोटमा विपद् प्रतिरोधी आवासतर्फ डकर्मी तयार

गाेल्डेन बुढा

जुम्ला,४ बैैैशाख।
जुम्लाको सिंजा गाउँपालिकामा दुई दिने डकर्मी तालिम सकिएको छ। उक्त तालिममा १५ वटा डकर्मी सहभागी थिए। दुई दिनदेखि सञ्चालित “चुना मिश्रित सुधारिएको माटो प्रविधिमा डकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम” केवल सीप सिकाउने कार्यक्रम मात्र होइन, स्थानीय स्रोत–साधनको दिगो उपयोगमार्फत विपद् प्रतिरोधी र आत्मनिर्भर समुदाय निर्माण गर्ने दीर्घकालीन दृष्टिसँग जोडिएको पहल हो। कारितास जर्मनी, सि.आर.एस नेपाल, कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारी तथा सिंजा गाउँपालिका विपद् शाखाको समन्वयमा सञ्चालित ‘उत्थान परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।यही अभियान अन्तर्गत तिलागुफा नगरपालिका–२, रताडामा पनि पाँच दिने तालिम सम्पन्न भएको छ। गतचैत २८ देखि वैशाख ३ गतेसम्म सञ्चालन भएको तालिममा पनि १५ जना डकर्मी सहभागी थिए। “मानवीय सहायता तथा विपद् पूर्वतयारी (उत्थान) परियोजना” अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रमले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने र परम्परागत निर्माण शैलीलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको छ।तालिम सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई प्रयोगात्मक अभ्यासमा केन्द्रित थियो।

सहभागीहरुले माटोको गुणस्तर पहिचान र परीक्षणदेखि लिएर चुना, माटो, सुर्की, खरानी लगायत सामग्रीको वैज्ञानिक अनुपातमा मिश्रण तयार गर्ने सीप सिके। स्थानीय काठको ब्यान्ड प्रयोग गरी सिमेन्टबिनाको ढलान र प्लास्टर गर्ने विधि सिक्दै उनीहरुले परम्परागत घर निर्माणलाई सुरक्षित र दिगो बनाउने आधार तयार गरेका छन्। सहभागी धनराज रावतका अनुसार “यो सीपले माटोको घरलाई कमजोर भन्ने बुझाइ बदल्नेछ,” भने नवीन बिकले “अब सिकेको सीप गाउँभरि बाँड्ने जिम्मेवारी हाम्रो हो” भन्ने धारणा राखे।तिलागुफा नगरपालिका प्राविधिक रमेशकुमार कामतीले यस प्रविधिलाई हिमाली भूगोलका लागि उपयुक्त र प्राविधिक रूपमा मजबुत भन्दै नगरपालिकाबाट यसको विस्तारमा पहल गरिने बताए। तालिमले डकर्मीहरुलाई नक्सा र मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न सक्षम बनाउने विश्वास गरिएको छ।पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेका अनुसार यसअघि नै सिंजा गाउँपालिकामा १५ वटा घर यही प्रविधिबाट निर्माण भइसकेका छन् भने गत वर्ष १५ जनालाई यस्तै तालिम प्रदान गरिएको थियो।

उनले कालिकोटजस्ता हिमाली जिल्लामा यो प्रविधि भूगोल सुहाउँदो, सांस्कृतिक मौलिकता जोगाउने र विपन्न परिवारका लागि किफायती विकल्प भएको बताए। “कम लागतमा सुरक्षित आवास निर्माण सम्भव हुनु यस प्रविधिको सबैभन्दा ठूलो विशेषता हो,” उनले भने, “अब यसलाई अन्य जिल्ला र पालिकामा विस्तार गर्ने तयारी छ।”सि.आर.एस नेपालका प्रशिक्षक रुपेश श्रेष्ठले अन्य जिल्लामा सफल अभ्यास भइसकेको उल्लेख गर्दै यो प्रविधि आर्थिक रूपमा किफायती, विपद् प्रतिरोधी र वातावरणमैत्री भएकोले विस्तार अपरिहार्य रहेको बताए। वडा अध्यक्ष तुल बहादुर बोहोराले महँगो सिमेन्ट र ढुवानी खर्चको विकल्पका रूपमा स्थानीय माटो र चुनाको प्रयोगले दिगो र सुरक्षित आवास निर्माणको आधार तयार हुने बताए। उनले आगामी योजना र बजेटमै यस प्रविधिलाई समेट्ने प्रतिबद्धता जनाए।तालिमको अर्को महत्वपूर्ण पाटो भनेको रोजगारी सिर्जना हो।

सीप भएर पनि अवसरको अभावमा विदेशिन बाध्य युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। प्रशिक्षक सुरज थारुले “सीप बाँड्दा मात्र जीवित रहन्छ” भन्दै सिकेको ज्ञान समुदायमा विस्तार गर्न आग्रह गरे।हिमाली जिल्लाहरुमा बढ्दो टिनको प्रयोगले गाउँको मौलिकता हराउँदै गएको सन्दर्भमा यो प्रविधि केवल निर्माणको विकल्प मात्र होइन, सांस्कृतिक संरक्षणको माध्यम पनि बन्ने देखिन्छ। जुम्ला, कालिकोट लगायत क्षेत्रमा अत्यधिक जाडो सहने, स्थानीय वातावरणसँग मेल खाने र सौन्दर्य जोगाउने घर निर्माणका लागि चुना मिश्रित सुधारिएको माटो प्रविधि प्रभावकारी सावित हुने अपेक्षा गरिएको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *