नेपालगन्जमा आयुर्वेदिक उपचार विस्तार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पञ्चकर्म सेवा सुरु

बाँके, ३१ असार ।
नेपालगन्ज उपमहानगरपालिकाले आयुर्वेदिक उपचार सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले नेपालगन्ज–४ गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सेवाको शुभारम्भ गर्दै आयुर्वेद उपचार पद्धति नागरिकको स्वास्थ्य संरक्षण र रोगको रोकथामका लागि प्रभावकारी माध्यम भएको बताए । उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोग तथा मानसिक तनाव न्यूनीकरणमा आयुर्वेद र पञ्चकर्म उपचारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख विष्टले आधारभूत स्वास्थ्य सेवासँगै आयुर्वेदिक उपचारलाई पनि उपमहानगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्न यस्ता सेवाको विस्तारलाई निरन्तरता दिइने बताए । उनले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सञ्चालन गरिएको पञ्चकर्म सेवाबाट स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा व्यक्त गरे ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डा. शंकर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य वसन्त कुमार कनोजिया र मो. मुजम्निल हुसेन, जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेत, आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुन, भवानीयापुर आयुर्वेद औषधालयका प्रमुख डा. मनोज कुमार यादव, परसपुर आयुर्वेद औषधालयकी प्रमुख लिला बिष्ट तथा पतञ्जली योग समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्वकर्म तथा पञ्चकर्म उपचार विधिको महत्व, आयुर्वेदमा शरीर शोधन प्रक्रियामा यसको भूमिका, वातजन्य रोग, नसर्ने रोग तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा यसको प्रभावकारिताबारे जानकारी गराइएको थियो। पूर्वकर्मअन्तर्गत दीपन, पाचन, स्नेहन र स्वेदन तथा पञ्चकर्मअन्तर्गत वमन, विरेचन, बस्ती, नस्य, शिरोधारा, शिरोविरेचन र रक्तमोक्षण जस्ता उपचार विधिबारे सहभागीलाई विस्तृत जानकारी प्रदान गरिएको थियो ।
सहभागीहरूले पञ्चकर्म सेवा नागरिकको स्वास्थ्य प्रवद्र्धन र रोग नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सेवालाई आगामी दिनमा थप विस्तार र निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण डा. शिवराज सुवेदीले गर्नुभएको थियो। शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अनुसार सेवा शुभारम्भकै दिन विभिन्न सेवाग्राहीलाई पूर्वकर्म तथा पञ्चकर्म उपचार सेवा प्रदान गरिएको थियो । यस सेवाको सञ्चालनसँगै नेपालगन्जका नागरिकले स्थानीय स्तरमै आयुर्वेदिक पञ्चकर्म उपचार सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।






