स्याउ फुल्दै जुम्ला सेताम्मे

गाेल्डेन बुढा
जुम्ला,१ बैशाख।
जुम्लाको वातावरण यतिबेला रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो।जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपले प्रख्यात छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरु फूल फुलेर सेताम्य भएका छन्। चैत–वैशाखमा स्याउ फुल्ने र स्याउ भदौमा पाक्ने गर्छ, जुन बेला बगैँचा राताम्मे देखिन्छन्।जुम्लामा स्याउ फल्न २०२२ सालदेखि सुरु भएको हो। २०२२ सालमा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती अहिले जिल्लाभरि फैलिएको छ।स्याउ खेती विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो । २०३२ सालमा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि जुम्लाको चन्दननाथ नगरपालिका– १० (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो।उक्त बागवानी केन्द्रमा २०३४ सालमा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमुनाका रूपमा स्याउखेती सुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ।जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालगायत अन्य सातवटा गाउँपालिकाका र ६० वटै वडामा स्याउ खेती भइरहेको छ। जुम्लामा गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, इटालिएन फुजी र गालालगायत जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरु बताउँछन्।जुम्लाको स्याउले काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवनलगायत देशका ठूला सहरमा पनि आकर्षक बजार लिएको छ। जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम नीति लिएपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग भइरहेको छ,भने स्याउ खेतीको विकास भइरहेको छ।अहिले जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ। जुम्ली स्याउ मन नपराउने कोही नेपाली छैनन्। दशक अघिदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित छन् । पछिल्लो समय कर्णाली राजमार्ग कालोपत्रेपश्चात् बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा देखिन्छ।जुम्लाको सदरमुकाम खलंगादेखि १४ काेष टाढा छ।जुम्लाको सिंजा गाउँपालिका–५, फुङ्ग्र गाउँका परिलाल रोकायाले यसवर्ष स्याउ बेचेर ४ लाख ५० हजार रुपैयाँ कमाए। ‘पहिले गाउँमै स्याउ कुहिन्थ्यो, कहिलेकाहीं चाडबाडमा मात्रै खाने अवसर हुन्थ्यो। अहिले भने सडकले बजारसम्म पुर्यायो, व्यापारी घरमै आउँछन्, र मनग्य आम्दानी हुन्छ,’ उनले खुसी सुनाए।परिलालको फोइचौरमा रहेको ५ हजार वर्गमिटर क्षेत्रफलको बगैंचामा ६ सय ५० स्याउका बोट छन्। यस वर्ष मात्रै उनले प्रति केजी ७० रुपैयाँमा स्याउ बिक्री गरे।उक्त गाउँकै नर्मजङ रोकायाले सडक आउनुअघि खेप्नुपरेको उल्झन सम्झँदै भन्छन्, ‘पहिले एक दिन हिँडेर सदरमुकाम खलंगा पुर्याउनु पर्थ्यो। कहिले कुहिन्थ्यो, कहिले गाईभैंसीलाई खुवाउनु पर्थ्यो।
अहिले त गाडीले घरमै आएर स्याउ बोक्छ, पैसा हातमै आउँछ।’नर्मजङले यस वर्ष मात्र ४ लाख ३० हजार रुपैयाँका स्याउ बेचे। यस्तै, स्थानीय रामचन्द्र रोकायाले ४ लाख ४२ हजार, लालबहादुर रोकायाले १ लाख ७० हजार, र बमबहादुर रोकायाले २ लाख रुपैयाँको स्याउ बिक्री गरे।सडकले न केवल स्याउलाई बजारसम्म पुर्यायो, यहाँका किसानको दैनिकी समेत फेर्दै लगेको छ। उक्त गाउँपालिका -५ का अध्यक्ष कृष्णबहादुर रोकायाले भन्छन्, ‘गाउँका उत्पादन ठूला सहरहरू नेपालगञ्ज, पोखरा, काठमाडौं पुर्याउन सहज भएको छ। स्थानीयहरू आत्मनिर्भर बन्दैछन्।’फुङ्ग्र गाउँका १ सय १५ घरधुरीमध्ये सबैले स्याउ खेतीबाट न्यूनतम ३० हजारदेखि ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। किसान भन्छन्,स्याउ राम्मो फलाउनुपर्यो । किन्ने व्यापारी गाउँमै पुग्दा छन्। बेइन (बेच्न) केही समस्या नाईं, आत्मनिर्भर छन्। ‘स्याउ राम्मो फलाउनु पड्यो। किन्ने व्यापारी गाउँमै पुग्दा छुन्। बेइन (बेच्न) केही समस्या नाइँ’, स्याउ किसानहरु बताउँछन्। स्याउ खेती नै किसानको आम्दानीको मुख्य स्रोत भएको छ।। २०६४ सालमा जुम्लामा ‘एक घर एक स्याउ बगैँचा’ भन्ने अवधारणा ल्याएपछि धेरै जसो बगैँचामा अहिले स्याउ रोप्ने र उत्पादनमा वृद्धि भइरहेको छ ।कृषि कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन मात्रै जिल्ला बाहिर निर्यात भएको छ । निर्यातबाट ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए । यो तथ्याङ्क अघिल्ला दुई वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात भएको थियो । त्यसबाट ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ जिल्लामा भित्रिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा त २० हजार ५ सय ११.४६ मेट्रिक टन उत्पादन भई हालसम्मकै उच्च ६६ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो । कृषि कार्यालयका अनुसार यस वर्ष कुल उत्पादनको करिब ३० प्रतिशत मात्रै स्याउ निर्यात भएको छ । ४ हजार ४ सय १४.६० मेट्रिक टन जिल्लाभित्रै खपत भएको छ भने नासो र कोसेलीका रूपमा २ हजार ६ सय ४८.८१ मेट्रिक टन बाहिरिएको छ । कुल उत्पादनको १५ प्रतिशत चाना, जुस, जाम, साइडर र ब्रान्डी जस्ता प्रशोधनमा प्रयोग भएको छ । १० प्रतिशत (१ हजार ७ सय ६५.८८ मेट्रिक टन) भण्डारण गृहमा रहेको छ भने करिब १० प्रतिशत उत्पादन क्षतिग्रस्त भएको छ ।उत्पादकत्वमा पनि गिरावट आएको छ । गत वर्ष प्रतिहेक्टर ९.९२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर ८.३१ मेट्रिक टनमा सीमित भएको छ । ‘असिना र बेमौसमी वर्षाका कारण झन्डै १७ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको कार्यालय प्रमुख अधिकारीले भने, ‘उत्पादन घटे पनि स्याउको मूल्य भने बढेको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन ६५ हजार ४ सय रुपैयाँ रहेको बिक्री मूल्य यसवर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ । बगैँचामै प्रतिकिलो ६५ रुपैयाँ ५० पैसादेखि ७० रुपैयाँसम्म बिक्री भएको छ । इटालियन फुजी स्याउ भने १ सय ७५ रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भएको छ । ‘मूल्य वृद्धिले केही राहत दिएको छ,’ अधिकारीले भने। गत वर्ष ४ हजार ३ सय २५ हेक्टरमा सीमित स्याउ खेती यस वर्ष बढेर ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ । फल दिने क्षेत्रफल २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टरमा विस्तार भएको छ । स्याउ खेतीमा संलग्न घरधुरी संख्या १९ हजार १ सय २५ बाट बढेर १९ हजार १ सय ५० पुगेको छ । त्यस्तै बिक्री वितरणमा पनि कृषकहरूको संलग्नता उल्लेख्य मात्रामा बढेको छ । बिक्री वितरणमा लाग्नेको संख्या ७ हजार ३ सय २५ बाट बढेर ७ हजार ३ सय ५० पुगेको छ । यस्तै व्यापारमा संलग्न कृषक ५ सय २५ बाट बढेर ६ सय ३ पुगेको तथ्याङ्क कृषि कार्यालयसँग छ । देशभर उत्पादन हुने स्याउमध्ये ४१.२ प्रतिशत कर्णाली प्रदेशमै उत्पादन हुन्छ । त्यसमा पनि जुम्ला अग्रस्थानमा छ । जुम्ली स्याउ बगैँचामा गएको मूल्य प्रतिकेजी ६५ रुपैयाँ ५० पैसादेखिमाथि बगैँचामै बिक्री भएको थियोे।केही गाउँपालिकाका बगैँचामा ७० रुपैयाँमा पनि बिक्री भएको थियोे,भने इटालियन फुजी स्याउ १ सय ७५ रुपैँयाभन्दा माथिको मूल्यमा बिक्री भएको हो।






