नयाँ वर्षकाे दिन कर्णालीमा तागे संक्रान्ति परम्परा

गाेल्डेन बुढा

जुम्ला,१ बैशाख।
कर्णालीमा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ। नयाँ वर्षको सुरुआतका दिन महिलाले लगाएको तागा आगामी कात्तिक महिनाको ६ गते विधिपूर्वक पूजाआजा गरी विसर्जन गर्ने चलन रहेको संस्कृतिसम्बन्धी जानकार पूर्णसिंह कठायतले बताए।ब्राह्मणले विधिपूर्वक पूजाआजा गरेर नौवटा गाठो पारेर बनाएको तागा विवाहित महिलाले लगाउने प्रचलन छ। नयाँ वर्षलाई बाहुनक्षत्री महिलाले पतिव्रताको रूपमा मनाउने गर्दछन्। पतिले आफ्नी पत्नीको चोलीमा आफैंले हातले बनाएका नौवटा गाँठो भएको पहेलो रङको तागा बनाएर पूजापाठ गरी चोलीमा झुन्ड्याइने गरिन्छ।नयाँ वर्षको दिन झुन्ड्याइएको तागाको डोरी विधिपूर्वक पूजापाठ गरी कात्तिक ६ गते नदीमा बगाउने गर्दछन्। वर्षभरि पतिको दीर्घायुको कामना गर्दै महिलाले नयाँ वर्षलाई तागे वर्षका रूपमा मनाउँदै आएको स्थानीय जानकारहरू बताउँछन्। तागालाई गाँठो, गोली गाँठो, सिधा गाँठो गरी सातवटा गाँठा र विभिन्न सातवटा रङबाट रंग्याइन्छ। यो तागे संक्रान्तिमा मग्नी भएको युवतीको घरमा युवाको घरबाट युवतीलार्ई कोसेली र तागा लैजाने गरिन्छ।नयाँ वर्षको दिन तागा युवतीको घरमा नलगे मग्नी टुट्ने विश्वास छ। अन्य पर्वमा महिला आफ्नो माइतीघरमा जान्छन् भने नयाँ वर्षको अवसरमा मनाइने तागे पर्वमा माइतीघर गएका महिला पनि पहिला घरमा आएर तागा लगाउने गर्छन्। यसैदिन घरमा चामलको पुवालगायत विभिन्न परिकार बनाउने गरिन्छ, भने जुम्ली कालिमार्सी धानको बिउको बेर्नाबाट दुई हातले २० पटक पानी बेर्ना बाहिर फालिन्छ। यसलाई बिसे पानी फाल्ने दिनका रूपमा समेत चिनिन्छ।पछिल्लो चरणमा तागा लगाउने प्रचलन केही लोप हुँदै गए पनि अधिकतर स्थानमा यो प्रचलन कायमै छ। यो प्रचलनलाई कायम राख्न नयाँ वर्षले सद्बुद्धि दिऊन् भन्ने कामना सर्वत्र गरिएको पाइन्छ। नयाँ वर्षको अवसरमा हुने तागे संक्रान्तिका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने, नयाँ नयाँ परिकार सबै परिवार बसेर खाने र नयाँ वर्षमा सबै काम फलिफाप होऊन् भन्ने कामना गरिँदै आएको छ।कर्णालीमा बैशाख १ गतेको दिनलाई विवाहित महिलाले पोइल जाने दिनका रुपमा लिने चलन छ। बुहारीको सम्मान गरिने पर्व तागा सक्राति तागा सक्राति आउनु भन्दा सात दिन अघिदेखि गाउँका बुहारीहरु तागाका लागि रंगीन जनै डोरीहरु जम्मा गर्न लाग्दछन्। समय मिलाएर आफ्ना पोइली घरका सन्तानका जेठी बुहारी (कुल बधु) कहाँ गएर रंगीन डोरीहरुबाट आफ्नो सीपअनुसारका किसिमकिसिमका रंगीन फिताहरु तयार गर्दछन्। यी तागाहरुको विशेष किसिमको बुनाई हुन्छ र जनैका जस्ता अनन्त सात गाठाहरु कसिएका हुन्छन्। यी तागाहरु दाँयाहातको नाडीमा वा चोलाको घाटी नजिकको तुनामा बाँध्ने चलन छ।नयाँ वर्ष वा तागा सक्रातिको दिन सबै विवाहित महिलाले अनिवार्य पोइली घरमा आउनु पर्ने हुन्छ। यदि मगनी मात्र भएको छ भने पोईली घरबाट ससुरा वा सासुले तागा डोरी, एक जोर नयाँ कपडा र कोशेली लिएर केटीको माइतीमा जाने गर्दछन्। नयाँ कपडा र तागा डोरी लगाई दिएर कोशेली खान दिने चलन रहेको चन्दननाथ नगरपालिका -१ आचार्यबाडागाउँकी संगिता आचार्यले बताइन्। पोइलीमा रहेका बुहारीहरु बिहानै उठेर नुहाईधुवाई गर्दछन्।

नयाँ कपडा र गरगहना लगाएर सजिन्छन्।यो दिन चामल भिजाएर पिठो कुट्ने चलन छ। चामलको पिठोमा बेसार मिसाएर पहेलो बनाई मह मिसाएर पुवा र लगर जस्ता परिकार बनाईन्छ। घरमा अरु मिठा परिकारहरु पनि बनाइन्छ। घरबाट एक पुरुष मान्छे नुहाईधुवाई गरेर नयाँ कपडा लगाएर लगर र पुवा समाती मार्सी धानको बेर्ना पुज्न जान्छन्।एउटा सफा लामो ढुङ्गा बेर्ना राखेको खेतको आलीमा ठड्याइन्छ। बेर्ना राखेको खेतबाट सात पसर पानी बाहिर फाली बसुन्धराको पूजा गरिन्छ। त्यो ठड्याएको ढुङ्गालाई भूमेश्वर मानी पूजा गरिन्छ। पुवा र लगरको टुक्रा चढाएर केही बचाई घर ल्याएर बाँडेर खाने चलन पनि छ।त्यो बेलासम्म साखका सबै बुहारीहरु सजिएर सन्तानकै कुलबधुको घरमा गई पूजा गर्न थाल्दछन्। गाईको गोबर मिसाएका माटाका तीन ओटा दिया तयार गरी क्रमशः गौत, जल र दुध राखिन्छ। पाती, फूल र दुबो हाली जेठानी र देउरानीले आलोपालो पहिले गौतलाई पातीले, त्यसपछि जललाई फूलले र पछि दुधलाई दुबोले शरीरमा छर्किन्छन्। गौतको अभिषेक छर्ने बेला आयु वृद्धि, भाग्य वृद्धि, धर्म सन्तान वृद्धि… सर्व शुद्धवाल आदि मन्त्र उच्चारण गरिन्छ।जलबाट अभिषेक छर्किने बेला क्यानुहानी सरस्वती, क्यानहानी भागरथी, क्यानहानी गंगा, जमुना आदि मन्त्र उच्चारण गरिन्छ। त्यसैगरी दुधको अभिषेक छर्ने बेला पनि दुध कुवा नुहाई पवित्र हुवाई… आदि मन्त्र उच्चारण गरिन्छ। पूजा सकेपछि मागल गाइन्छ।कुलबधुले देउरानीहरुलाई तागा दायाँ हातको नाडीमा वा चोलीको माथिल्लो तुनामा बाँधिदिन्छिन् र गायत्री मन्त्र उच्चारण गर्ने चलन पनि छ। देउरानीहरुले जेठानीहरुलाई ढोग गरेर पतिहरुको दीर्घायुको कामना गर्दछन्। सबैका घरबाट साथमा ल्याएका कोशेली बाँडेर खान्छन्। घरमा पुरुष र पोइलीहरु हुने भएकाले सबै जना मानिसको चहलपहल कम हुने बारी किनारमा गएर ठट्टा, हाँसो र मनोरञ्जन गर्दछन्। देउडा खेल लगाउने र नाच्ने चलन पनि छ।
क्याप्सन: संगिता आचार्यले तागा लगाउँँदै गरेको तस्बिर गाेल्डेन बुढा जुम्ला !

नयाँ वर्षकाे दिन कर्णालीमा तागे संक्रान्ति परम्परा

स्याउ फुल्दै जुम्ला सेताम्मे

नयाँ वर्षकाे दिन कर्णालीमा तागे संक्रान्ति परम्परा

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *