बहुसूचक सर्वेक्षणमा कस्तो छ कर्णालीका महिला र बालबालिकाको अवस्था ?

ओम शाही
सुर्खेत, २९ बैशाख ।
राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ ले कर्णाली प्रदेशका महिला तथा बालबालिका सम्बन्धिका सूचकहरु मिश्रित रहेको पाइएको छ । सार्वजनिक तथ्यांक अनुसार महिला तथा बालबालिकासँग सम्बन्धित सामाजिक, स्वास्थ्य, शिक्षा लगायतका सूचकहरु मिश्रित रहेको देखाएको छ ।
मंगलबार वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्कमा आधारित नीति, योजना तर्जुमा तथा कार्यक्रमका लागि सार्वजनिक गरेको प्रदेशस्तरिय नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा अनुसार कर्णालीमा बालमृत्यु, किशोरी प्रजनन, बालविवाह, बालश्रम र कुपोषणजस्ता सूचक राष्ट्रिय औसतभन्दा उच्च छ भने जन्मदर्ता, पूर्वप्रसूति जाँच तथा संस्थागत प्रसूतिजस्ता क्षेत्रमा सुधार देखिएको छ ।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्याङ्कन, योजना तर्जुमा एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने उद्देश्यले बहुसूचक चौथो सर्वेक्षण गरिएको थियो ।
यो सर्वेक्षणले संघ तथा प्रदेश सरकारका योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यक्रमको अनुगमनका लागि आवश्यक पर्ने तथ्याङ्कहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणा, दिगो विकास लक्ष्यका सूचकको अनुगमन तथा बहुआयामिक गरिबी मापन गर्न ठोस योगदान पुग्ने विश्वास गरिएको छ ।
सर्वेक्षणमा शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सुरक्षा र विभेद, मानसिक स्वास्थ्य लगायत अन्य सामाजिक क्षेत्रका विविध विषयसँग सम्बन्धी तथ्यांक संकलन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता एवम् उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले बताए ।
उनका अनुसार सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभर पाँच सय ४० क्लष्टर (गणना क्षेत्र) मध्ये शहरी क्षेत्रबाट तीन सय चार र ग्रामीण क्षेत्रबाट दुई सय ३६ क्लष्टर छनोट गरिएको थियो । यसरी छनौट भएका हरेक क्लष्टरबाट गणना गर्न २४ घरपरिवार छनौंट भएका थिए । यसरी छनौंट गरिएको जम्मा १२ हजार नौ सय ६० घरपरिवारबाट पारिवारिक विवरण संकलन गरिएको लामिछानेले बताए ।
जसमा प्रत्येक घरपरिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५–४९ वर्ष उमेर समूहका पुरुष, ५–१७ वर्ष उमेर समूहका बालबालिका तथा पाँच वर्षमुनिका बालबालिकाको विवरण संकलन गरिएको थियो । साथै, बाल पोषणको स्थिति अवगत गर्न तौल तथा उचाइ पनि मापन गरिएको उनले बताए ।
पहिलो पटक १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विवरणसमेत संकलन गरिएको उनले बताए । साथै छनौटमा परेका घरपरिवारहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पिउने पानीमा रहेका हानिकारक जीवाणु इ–कोली तथा आर्सेनिकको स्थलगत परीक्षणसमेत गरिएको थियो ।
बालमृत्यु दर अझै उच्च
सर्वेक्षणअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशु, २७ शिशु तथा ३१ जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । कर्णाली प्रदेशमा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २२, शिशुमृत्युदर २९ तथा पाँच वर्षमुनिका बालमृत्युदर ३८ छ ।
प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० छ । शिशुमृत्युदर पनि सबैभन्दा बढी सुदूरपश्चिममा ३८ तथा सबैभन्दा कम बागमतीमा १७ छ । पाँच वर्षमुनिका बालमृत्यु दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४८ र सबैभन्दा कम गण्डकी प्रदेशमा २० रहेको प्रतिवेदनमा सर्वेक्षणमा छ ।
किशोरी प्रजनन र बालविवाह चुनौती
नेपालमा १५–४९ वर्ष उमेर समूहका महिलाको कुल प्रजनन दर प्रति महिला औसत १.९ जीवित जन्म छ भने कर्णालीमा यो दर २.३ छ । १५–१९ वर्ष उमेर समूहका किशोरीको प्रजनन दर राष्ट्रिय रूपमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म रहदा कर्णालीमा यो दर ७७ पुगेको छ । त्यस्तै २०–२४ वर्ष उमेर समूहका महिलामध्ये ११.२ प्रतिशतले १८ वर्षअघि नै बच्चा जन्माइसकेको देखिएको छ भने कर्णालीमा यस्तो प्रतिशत १८.८ छ । २०–२४ वर्ष उमेर समूहका महिलामध्ये १५ वर्ष उमेरअघि विवाह गर्नेको प्रतिशत राष्ट्रिय रूपमा ५.१ रहेको छ भने कर्णालीमा ९.९ प्रतिशत छ, जुन सबै प्रदेशमध्ये उच्च हो । त्यस्तै १८ वर्षअघि विवाह गर्ने महिलाको प्रतिशत राष्ट्रिय रूपमा २७.६ रहेकोमा कर्णालीमा ४१ प्रतिशत पुगेको छ । यो पनि सबैभन्दा उच्च दर हो ।
परिवार नियोजन र मातृस्वास्थ्यमा सुधार
कर्णालीमा १५–४९ वर्ष उमेर समूहका ३८.९ प्रतिशत विवाहित महिलाले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गर्ने गरेका छन् । आधुनिक परिवार नियोजनबाट आवश्यकता पूरा गर्ने दर ५८.७ प्रतिशत छ । पूर्वप्रसूति जाँच गराउने महिलाको प्रतिशत कर्णालीमा राष्ट्रिय औसतभन्दा बढी छ । सर्वेक्षणअनुसार जीवित शिशु जन्माएका १५–४९ वर्ष उमेर समूहका ९१.९ प्रतिशत महिलाले कम्तिमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, कर्णालीमा ९१.३ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् भने ९४ प्रतिशतले दक्ष प्रसूतिकर्मीको सहयोग लिएका छन् । सिजेरियन शल्यक्रियामार्फत प्रसूति गराउने दर भने ९.२ प्रतिशत छ, जुन राष्ट्रिय दर २४.४ प्रतिशतभन्दा निकै कम हो ।
यस्तै, पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर कर्णालीमा ९५.८ प्रतिशत छ, जुन देशकै सबैभन्दा उच्च हो । राष्ट्रिय स्तरमा यस्तो दर ८५.४ प्रतिशत छ । तर, बालश्रममा संलग्न ५–१७ वर्ष उमेर समूहका बालबालिकाको प्रतिशत कर्णालीमा २४.१ छ, जबकि राष्ट्रिय स्तरमा यो दर १२.१ प्रतिशत मात्रै छ ।
कुपोषणको समस्या गम्भीर
कर्णालीमा उमेरअनुसार तौल कमी भएका बालबालिका (लिखुरे) २० प्रतिशत तथा उमेरअनुसार उचाइ कम भएका बालबालिका (पुड्को) ३६.६ प्रतिशत रहेको तथ्यांकले देखाउछ । राष्ट्रिय रूपमा यस्तो दर क्रमशः १६.९ र २६.२ प्रतिशत छ । उचाइअनुसार तौल कम भएका बालबालिका (ख्याउटे) कर्णालीमा ५.३ प्रतिशत तथा उचाइअनुसार तौल बढी भएका बालबालिका ३.९ प्रतिशत छन् । सर्वेक्षणअनुसार कर्णालीमा ७१.६ प्रतिशत आमाले शिशुलाई जन्मेको ६ महिनासम्म केवल आमाको दूध खुवाउने गरेका छन् । जीवनको पहिलो वर्षभित्र आधारभूत खोप प्राप्त गर्ने १२–२३ महिना उमेर समूहका बालबालिकाको प्रतिशत कर्णालीमा ८१.६ छ, जबकि राष्ट्रिय दर ८९.४ प्रतिशत रहेको तथ्यांकले देखाउछ ।
झाडापखाला र श्वासप्रश्वास समस्या बढी
सर्वेक्षणअघिका दुई हप्तामा कर्णालीका ११.१ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको देखिएको छ । तीमध्ये २८.२ प्रतिशतले पुनर्जलीय झोलसँगै जिंक चक्की पाएका छन् । श्वासप्रश्वासका लक्षण भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत कर्णालीमा ४.४ छ, जबकि राष्ट्रिय स्तरमा यो दर २.७ प्रतिशत छ ।
प्रारम्भिक बाल विकास र शिक्षामा चुनौती
३६–५९ महिनाका ४८.८ प्रतिशत बालबालिका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने गरेका छन् । प्रारम्भिक बाल विकास सूचकांक कर्णालीमा ५०.९ प्रतिशत छ भने राष्ट्रिय स्तरमा ६३.३ प्रतिशत रहेको तथ्यांकले देखाउछ । विद्यालय बाहिर रहेका बालबालिकाको प्रतिशत भने कर्णालीमा राष्ट्रिय दरभन्दा कम देखिएको छ । कक्षा १–५ मा ३.७ प्रतिशत, कक्षा ६–८ मा ३ प्रतिशत तथा कक्षा ९–१२ मा १०.५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । कक्षा १ मा भर्ना हुने उमेरका बालबालिकामध्ये कर्णालीमा ५२.५ प्रतिशत विद्यालय भर्ना भएका छन्, जुन राष्ट्रिय दर ४१.२ प्रतिशतभन्दा बढी हो ।
गहिरिदै मानसिक स्वास्थ्य समस्या
सर्वेक्षणअघिको दुई हप्तामा डिप्रेसन वा चिन्ताका लक्षण अनुभव गर्ने १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरी कर्णालीमा ११.५ प्रतिशत छन् । राष्ट्रिय स्तरमा यस्तो दर ९.३ प्रतिशत छ । आत्महत्याको सोच आउने किशोरकिशोरीको प्रतिशत कर्णालीमा १.१ तथा आत्महत्याको प्रयास गर्नेको प्रतिशत १.८ छ । कर्णालीमा १५–४९ वर्ष उमेर समूहका १३.१ प्रतिशत महिला र १६.४ प्रतिशत पुरुष स्वास्थ्य बीमामा आबद्ध छन् । ५–१७ वर्ष उमेर समूहका १२.६ प्रतिशत तथा पाँच वर्षमुनिका ८.५ प्रतिशत बालबालिका स्वास्थ्य बीमामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ ।






