सहकार्य र नवीन मोडलको परिणाम : धनगढी बन्दैछ देशकै नमुना उपमहानगर

धनगढी ,२६ पुस।

दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै धनगढी उपमहानगरपालिकाको विकासले तीव्र गति लिएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा नगरप्रमुखमा निर्वाचित गोपाल हमालले अघि सारेको ‘धनगढी विकास मोडल’ र उपप्रमुख कन्दकला रानासँगको बलियो सहकार्यले नगरलाई देशकै नमुना सहरतर्फ उन्मुख गराएको स्थानीयको भनाइ छ ।
निर्वाचनपश्चात् सुरुवाती चरणमा राजनीतिक दलका प्रतिनिधिबाट अपेक्षित सहयोग नपाए पनि नगरको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढेपछि दलबाट निर्वाचित जनप्रतिनिधिहरू क्रमशः एकताबद्ध हुँदै गएको देखिन्छ । सुरुमा एमालेबाट निर्वाचित उपप्रमुखसहित केही जनप्रतिनिधि विपक्षी भूमिकामा देखिए पनि नगरप्रमुखसँगको संवाद र साझा लक्ष्यपछि उपप्रमुख रानाले ‘धनगढी विकास अभियानमा एमाले बाधक नहुने’ स्पष्ट सन्देश दिँदै नगरप्रमुख हमाललाई बलियो साथ दिनुभएको हो ।
नगरप्रमुख हमाल र उपप्रमुख रानाबीचको सहकार्यले धनगढीको विकासले नयाँ उचाइ लिएको नगरवासीहरू बताउँछन् । नयाँ जनप्रतिनिधिका कारण सुरुका केही महिनामा चुनौती देखिए पनि समयक्रमसँगै विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन थालेका छन् । व्यवसायिक पृष्ठभूमीबाट नगर नेतृत्वमा पुगेका हमालले देश–विदेशका विकास मोडल अध्ययन गर्दै ‘धनगढी विकास मोडल’ नामक अवधारणा अघि सार्नुभएको छ । ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने मूल नारासहित विभिन्न नवीन कार्यक्रम सञ्चालनमा ल्याइएका छन् ।
उज्यालो धनगढी : सहरको मुहार फेरिने अभियान
धनगढीलाई आकर्षक र आधुनिक सहरको अनुभूति गराउन उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गरेको छ । अन्धकार र फोहोरका कारण अस्तव्यस्त देखिँदै आएको नगर क्षेत्र अहिले झलमल्ल हुन थालेको छ । बजार क्षेत्र प्रवेश गर्दा देखिने अन्धकार हट्दै गएपछि रात्रीकालीन यात्रा सुरक्षित र सहज भएको छ भने सन्ध्याकालीन व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव परेको छ ।
त्रिनगर भन्सारदेखि ६ लेन सडकको उत्तर गोदावरी नगरपालिकाको सीमासम्म सडक क्षेत्रका २६८ पोलमा स्मार्ट लाइट जडान गरिएको छ । साथै नगरका विभिन्न स्थानमा स्मार्ट लाइट र हाईमास्ट लाइट जडान गरी धनगढीलाई उज्यालो बनाइएको छ । विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन विभिन्न स्थानमा विद्युतीकरणसमेत गरिएको छ, जसले नगरवासीलाई प्रत्यक्ष राहत दिएको छ ।
हरियाली, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड
पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । सडकबीचको मिडियन र फुटपाथ छेउछाउमा वृक्षारोपण गरी नगरलाई हरियाली बनाउने प्रयास गरिएको छ । यससँगै विशेषज्ञ स्वास्थ्य क्लिनिक, ‘आमा बचाऊ’ अभियान, फोहोरको सूक्ष्म वर्गीकरण, मुख्य सडक विस्तार, हरघडी नगर प्रहरी कार्यक्रमजस्ता योजना कार्यान्वयनमा छन् ।
नगरपालिकाले सर्पदंश नियन्त्रण र सर्प उद्धार सेवा सञ्चालन गर्दै सर्प र मानव दुवैको संरक्षणमा पहल गरेको छ । यस्तै, आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरिएको छ ।
लोककल्याणकारी सरकारको अनुभूति
लोककल्याणकारी सरकारको अनुभूति दिलाउने उद्देश्यले उपमहानगरपालिकाले शव चिस्यान सेवा, शव वाहन सेवा, अलपत्र मानव उद्धार, आकस्मिक सहयोग, बाढीपीडित उद्धार र आगलागी नियन्त्रणजस्ता सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ । यी सेवाका कारण नगरवासीले स्थानीय सरकारप्रति भरोसा बढेको बताएका छन् ।
जनसहभागितामा ‘हाम्रो धनगढी, सफा धनगढी’ सरसफाइ अभियान तथा दुर्व्यसन रोकथाम कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य, शिक्षा, वातावरण र दीर्घकालीन विकासमा प्रभाव पार्ने योजनाका कारण ‘धनगढी विकास मोडल’ अध्ययन गर्न विभिन्न व्यक्ति र संस्थाहरू धनगढी भ्रमणमा आउने गरेको उपप्रमुख कन्दकला रानाले जानकारी दिनुभयो ।
सहकार्य, नवीन सोच र जनमुखी सेवाका कारण धनगढी उपमहानगरपालिका अहिले देशकै नमुना नगरका रूपमा स्थापित हुँदै गएको छ ।

सहकार्य र नवीन मोडलको परिणाम : धनगढी बन्दैछ देशकै नमुना उपमहानगर

निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *