सहकारी सुशासन र गुणस्तरीय ऋण व्यवस्थापनमा जोड, जनहितकारी सहकारीको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत, २६ जेठ ।
वीरेन्द्रनगर नगरपालिका–१ स्थित टाकोमा रेष्टुरेन्टमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा “गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन” विषयक एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमोद कुमार घिमिरे विशेष अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव यामराज गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य धर्मा सुवेदीले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट दीप प्रज्वलन तथा राष्ट्रिय गानमार्फत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरिहरनाथ योगीले सहकारी संस्थाको दिगो विकासका लागि सदस्य, कर्मचारी तथा नेतृत्व तह संस्थाप्रति प्रतिबद्ध, उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुभयो। संस्थाप्रति अपनत्व र भावनात्मक सम्बन्ध विकास गर्न सके मात्र तालिम तथा अनुभवबाट प्राप्त ज्ञान व्यवहारमा रूपान्तरण हुने उहाँको भनाइ थियो। सकारात्मक सोच, समर्पण र जिम्मेवारीबोधले संस्थागत सफलतामा महत्वपूर्ण योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो।
तालिमको पहिलो सत्रमा प्रमुख प्रशिक्षक प्रमोद कुमार घिमिरेले गुणस्तरीय कर्जा लगानी, जोखिम व्यवस्थापन, कर्जा असुली तथा कानुनी प्रक्रियासम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले वित्तीय निर्णय गर्दा व्यक्तिको मानसिक अवस्था सन्तुलित हुनुपर्ने उल्लेख गर्दै Hungry, Angry, Lonely and Tired (HALT) अवस्थाहरूमा महत्वपूर्ण निर्णय लिन नहुने सुझाव दिनुभयो। कर्जा प्रवाहमा जोखिम न्यूनीकरण, प्रभावकारी अनुगमन तथा असुली व्यवस्थापनका उपायबारे पनि उहाँले विस्तृत जानकारी गराउनुभयो।
दोस्रो सत्रमा प्रशिक्षक हरिहर बस्नेतले नेतृत्व विकास तथा संस्थागत सुशासनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुभयो। उहाँले नेतृत्व र सुशासनबीचको अन्तरसम्बन्ध स्पष्ट पार्दै नेतृत्व, उत्तरदायित्व, संरक्षकत्व, पारदर्शिता र इमान्दारिताजस्ता सुशासनका आधारभूत पक्षहरूको प्रभावकारी अभ्यासले संस्थागत सफलता सुनिश्चित गर्ने बताउनुभयो।
तेस्रो सत्रमा प्रशिक्षक दिपेन सुवेदीले सहकारी ऐन, नियमावली तथा नियामकीय मापदण्डसम्बन्धी प्रशिक्षण दिनुभयो। उहाँले नेपालमा सहकारिता आन्दोलनको विकासक्रम र वर्तमान अवस्थाबारे जानकारी गराउँदै आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार देशभर ३२ हजार ९ सय ६५ सहकारी संस्था सञ्चालनमा रहेको, १ करोड ९ लाखभन्दा बढी सदस्य आबद्ध रहेको तथा सहकारी क्षेत्रले ९० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको तथ्य प्रस्तुत गर्नुभयो। साथै सहकारी क्षेत्रको नियमन, प्रवर्द्धन र प्रशिक्षणका लागि राज्यले गरेको संस्थागत व्यवस्थाबारे पनि जानकारी दिनुभयो।
तालिमको चौथो तथा अन्तिम सत्रमा प्रमोद कुमार घिमिरेले सकारात्मक सोच, तनाव व्यवस्थापन तथा समय व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले व्यक्तिगत तथा संस्थागत कार्यसम्पादनमा समयको उचित सदुपयोग, सकारात्मक सोच र तनाव नियन्त्रणको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो।
समापन कार्यक्रममा सह-व्यवस्थापक मित्रेन्द्रनाथ योगी, सञ्चालक सदस्य लक्ष्मी भुसाल तथा प्रमुख प्रशिक्षक प्रमोद कुमार घिमिरेले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागी सम्पूर्णलाई प्रशंसापत्र वितरण गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष नवराज कंडेलले तालिममा सहभागी हुनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक कार्यसम्पादन तथा संस्थागत विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो। तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक सहयोगका लागि संस्था सदैव तत्पर रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
तालिममा संस्थाका सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन, नेतृत्व विकास, संस्थागत सुशासन तथा सहकारी कानुनसम्बन्धी ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।






