खेर जाने सालका पात बने आयआर्जनको आधार : कोहलपुरको दुना–टपरी उद्योगले बढायो रोजगारी र वातावरणीय सचेतना

बाँके ,२६ जेठ ।
वातावरण संरक्षण, स्थानीय रोजगारी सिर्जना र सामुदायिक वनमा आश्रित परिवारको आर्थिक सशक्तीकरणलाई एकैसाथ जोड्ने उदाहरणका रूपमा बाँकेको कोहलपुरमा सञ्चालित दुना–टपरी उद्योग स्थापित हुँदै गएको छ। सामुदायिक वनबाट संकलन गरिने सालका पातलाई उपयोग गरेर उत्पादन गरिने दुना–टपरीले एकातिर स्थानीयलाई आम्दानीको अवसर दिएको छ भने अर्कोतर्फ प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा वातावरणमैत्री अभ्यासलाई समेत प्रोत्साहन गरेको छ।
कोहलपुर नगरपालिका–२ स्थित जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ले कोहलपुरमा पहिलो पटक सालको पातबाट दुना–टपरी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो। सामुदायिक वनबाट संकलन गरिएका सालका पात प्रयोग गरी तयार पारिने दुना–टपरीले अहिले स्थानीय बजारमा राम्रो माग पाउन थालेको छ।

पहिले जंगलमा खेर जाने सालका पात अहिले स्थानीय उपभोक्ताका लागि आयआर्जनको महत्वपूर्ण स्रोत बनेका छन्। विशेषगरी सामुदायिक वनमा आश्रित एकल महिला, दलित तथा विपन्न परिवारहरू पात संकलन, सुकाउने तथा दुना–टपरी निर्माण कार्यमा संलग्न भएर नियमित आम्दानी गर्न थालेका छन्।
जनएकता मध्यवर्ती वन उपभोक्ता समितिकी अध्यक्ष पुण्यप्रभा मल्ल ले सामुदायिक वनका उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको बताइन्। उनका अनुसार वनबाट प्राप्त हुने स्रोतको दिगो उपयोग गर्दै स्थानीयको जीवनस्तर उकास्ने प्रयासस्वरूप यो अभियान अघि बढाइएको हो।

प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा नकारात्मक असर परिरहेका बेला सालको पातबाट बनेका दुना–टपरी वातावरणमैत्री विकल्पका रूपमा लोकप्रिय बन्दै गएका छन्। प्राकृतिक रूपमा सहजै कुहिने भएकाले यस्ता सामग्रीले फोहोर व्यवस्थापनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
जनएकता मध्यवर्ती वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर बुढा ले दुना–टपरी उद्योगबाट समूहका सदस्यहरूको वैकल्पिक आम्दानीको स्रोत विस्तार हुँदै गएको बताए। उनका अनुसार स्थानीय स्रोत र श्रमको उपयोग गर्दै सञ्चालन गरिएको उद्योगले आर्थिक लाभसँगै सामाजिक र वातावरणीय फाइदा पनि प्रदान गरिरहेको छ।
समितिकी सदस्य जया थापा का अनुसार पहिले खेर जाने सालका पातबाट अहिले उपयोगी सामग्री उत्पादन भइरहेको छ। होटल, भोज, विवाह तथा विभिन्न सामाजिक कार्यक्रममा प्लास्टिकका प्लेट र कपको सट्टा दुना–टपरीको प्रयोग बढ्दै गएको उनले बताइन्। यसले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै वातावरण संरक्षणप्रति जनचेतना पनि बढाएको उनको भनाइ छ।

स्थानीय स्रोत, सीप र श्रमको प्रयोगबाट सञ्चालन भएका यस्ता उद्योगले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै वनजन्य स्रोतको सदुपयोग र वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याइरहेका छन्। दुना–टपरी उद्योगको विस्तारसँगै कोहलपुरमा हरित उद्यमशीलताको नयाँ सम्भावना देखिएको छ भने सामुदायिक वनसँग जोडिएका परिवारका लागि यो दिगो आयआर्जनको भरपर्दो आधार बन्दै गएको छ।






