ओम शाही
सुर्खेत, २६ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो जिल्ला अधिवेशनबाट कर्णाली प्रदेशका आठ जिल्लाका सभापति चयन गरेको छ । २०७९ को आम निर्वाचनबाट उदाएको रास्वपा गएको २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनाधार प्राप्त गरेपछि पहिलो पटक अधिवेशनमा होमिएको छ ।
रास्वपाले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार कर्णालीका नौ जिल्लामा आइतबारदेखि जिल्ला अधिवेशन आयोजना गरेको थियो । कर्णालीका एक जिल्ला डोल्पामा भने पार्टीको राष्ट्रिय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने पक्षमा रास्वपा छ । रास्वपाले नौ जिल्ला मध्ये दुई जिल्लामा मतदान र अन्य ६ जिल्लामा सर्वसम्वत नेतृत्व चयन गरेको छ ।
मुगुमा भने यो समाचार तयार (सोमबार साँझ) पार्दासम्म नेतृत्व चयन हुन सकेको थिएन । सार्वजनिक परिणाम अनुसार रास्वपा सुर्खेतको सभापतिमा पुनः रमेशकुमार सापकोटा सर्वसम्वत चयन भएका छन् । सुर्खेतमा रास्वपाको पहिलो जिल्ला भेलादेखि नै नेतृत्व सम्हाल्दै आएका सापकोटा लगातार दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।
सापकोटा हालै सम्पन्न २०८२ फागुनको आम निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशभरबाट रास्वपाका तर्फबाट निर्वाचित एकमात्र प्रतिनिधिसभा सदस्य हुन् । सभापतिमा सापकोटा सर्वसम्वत चयन भएपनि अन्य पदाधिकारीमा आंकाक्षी धेरै देखिएपछि सोमबार साँझसम्म अन्य पदाधिकारी तथा सदस्यको भने टुङ्गो लागेको छैन ।
त्यस्तै, हुम्लामा पनि रास्वपाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्वत चयन भएको हो । एडी यसअघि उपसभापति थिए । भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ । त्यस्तै, सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढा चयन भएका छन् । रास्वपा जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी चयन भएका छन् । भण्डारी नेतृत्वको जिल्ला कार्यसमिति पनि सर्वसम्वत चयन भएको हो ।
प्रथम अधिवेशनबाट उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । यस्तै, सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएका छन् । अधिवेशनले क्षत्रिय निर्वाचन समितिसमेत गठन गरेको छ । जसमा निर्वाचन क्षेत्र नंं. १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ, सदस्यमा जनकराज खत्री चयन भएका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नंं. २ को उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल र सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएका छन् । रास्वपा जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह पुनः सभापतिमा सर्वसम्मत चयन भएका छन् । सिंहको नेतृत्वमा २० सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्वत चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा प्रकाशकुमार कार्की, सचिवमा कर्णप्रसाद जैसी, सह–सचिवमा इन्द्रजित शाही र कोषाध्यक्षमा प्रमोदजंग शाह चयन भएका छन् । यस्तै, सदस्यहरूमा टीका विक, निरज सिंह, दलबहादुर खत्री, धिरेन्द्र पुन, जनक शाही, वीरबहादुर खड्का, केशव रावत, ज्ञानबहादुर घर्ती, संगीता थापा, मानबहादुर बुढाथोकी, रामबहादुर केसी, गौर शाही, सरिता पुन, प्रेमबहादुर सिंह र सुनिता विक सर्वसम्वत चयन भएका छन् ।
रास्वपा कालीकोटको नेतृत्व पनि सर्वसम्वत चयन भएको छ । अधिवेशनबाट सभापितमा प्रेमबहादुर केसी निर्वरोध चयन भएका छन् । उनी यसअघि पनि जिल्ला सभपति थिए । यस्तै, उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भुपेन्द्रजंग शाही, सहसचिवमा जीवनबहादुर शाही चयन भएका छन्् । उनीहरु पनि सर्वसम्वत चयन भएका हुन् । यस्तै, सदस्यहरूमा पवित्रा जैसी, कलशा शाही निर्विरोध चयन भएका छन् ।
रास्वपा कालीकोटले निर्वाचन क्षेत्र नम्बर १ मा धनिराम धमाला र २ मा दिनेश सन्ज्याललाई जिम्मेवारी दिएको छ । रास्वपा सल्यानको नेतृत्व पनि सर्वसम्वत चयन भएको छ । अधिवेशनले यसअघि पनि सभापति रहेका प्रकाश नेपालीलाई पुनः सभापतिमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन भएका छन् । यस्तै, सदस्यमा प्रेमबहादुर चलाउने, रूपलाल बूढा, रमेशबहादुर वली, पुष्कर चलाउने, तुलसा खत्री, शेरबहादुर केसी, केशवराज केसी, राजु सुनार र रुद्रमणी शर्मा चयन भएका छन् ।
जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह पुनः सभापतिमा सर्वसम्मत रूपमा चयन भएका छन् । आइतबारदेखि नेतृत्व चयनका लागि चलेको छलफल र सहमतिपछि सोमबार २० सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको हो ।
नवनिर्वाचित समितिको उपसभापतिमा प्रकाश कुमार कार्की, सचिवमा कर्ण प्रसाद जैसी, सह–सचिवमा इन्द्रजित शाही तथा कोषाध्यक्षमा प्रमोद जंग शाह चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा टीका बिक, निरज सिंह, दल बहादुर खत्री, धिरेन्द्र पुन, जनक शाही, वीर बहादुर खड्का, केशव रावत, ज्ञान बहादुर घर्ती, संगीता थापा, मान बहादुर बुढाथोकी, राम बहादुर केसी, गौर शाही, सरिता पुन, प्रेम बहादुर सिंह र सुनिता बिक चयन भएका छन् ।
अधिवेशनमा सभापति पदका लागि महेश सिंह, राघब कार्की, डिएन शाही र रमेश केसी आकांक्षी रहेका थिए । अन्ततः सहमति जुटेपछि महेश सिंहको नेतृत्वमा २० सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
नवनिर्वाचित समितिमा ५ पदाधिकारी र १५ सदस्य गरी जम्मा २० जना रहेका छन् । पार्टीलाई जिल्लाभर थप सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता नवनिर्वाचित नेतृत्वले जनाएको छ । नेतृत्व चयनको विषयलाई लिएर अधिवेशन हलमै केही समय विवादसमेत भएको थियो ।
दैलेख र रुकुममा निर्वाचन
जारी रास्वपाको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीका दुई जिल्ला दैलेख र रुकुम पश्चिममा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । सभापतिका आंकाक्षी धेरै भएपछि यी जिल्लामा रास्वपाले मतदानमार्फत नेतृत्व चयन गरेको हो ।
सोमबार सम्पन्न मतगणना अनुसार रास्वपा दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले ९२ मत प्राप्त गरी तीन जनालाई पछि पारेर सभापतिमा विजयी भए । दैलेखमा सभापतिका लागि चार जना आकांक्षी थिए । आकांक्षीबीच सहमति जुट्न नसकेपछि अधिवेशन निर्वाचनमा धकेलिएको थियो ।
सार्वजनिक मतपरिणा अनुसार सभापतिका आकांक्षी प्रकाश बुढाले ६९, बिनीबहादुर शाहीले ४३ र निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत प्राप्त गरे । यस्तै, उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी, सहसचिवमा रामबहादुर शाही निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भण्डारीले २०७९ मा दैलेख–२ मा रास्वपाबाटै प्रतिनिधिसभा चुनाव पनि लडेका थिए ।
त्यस्तै, रुकुम पश्चिममा पनि निर्वाचनबाट नेतृत्व चयन भएको छ । सभापतिका लागि आइतबार भएको निर्वाचनबाट सभापतिमा द्रोण खड्का निर्वाचित भए । खड्काले ४२ मत प्राप्त गरी विजयी बनेको हुन् । उनका निकटतम प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत पाए । यस्तै, उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएका छन् ।