विप्लव माओवादी पहिलोपटक चुनावमा, जुम्लाबाट शाही सिफारिस

गाेल्डेन बुढा

जुम्ला,२५ पुस।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जुम्लाले पहिलो पटक संसदीय निर्वाचनमा सहभागिता जनाउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ बिर्खबहादुर शाही (प्रभाजित) सी लाई उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ।पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकले शाहीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको हो। जुम्लाबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका शाहीलाई उम्मेदवार बनाउने निर्णय संगठनात्मक छलफल र राजनीतिक मूल्याङ्कनपछि गरिएको पार्टी सचिव शक्तिसिंह सीले बताए।उनका अनुसार पार्टी स्थापनापछि पहिलो पटक निर्वाचन प्रक्रियामा सहभागी हुन लागेको हो। “यो निर्वाचन हाम्रो पार्टीका लागि ऐतिहासिक मोड हो,” सचिव सीले भने, “अब सडक संघर्षसँगै संसदीय मोर्चाबाट पनि जनताका मुद्दा उठाउने निर्णय गरिएको छ।”शाही लामो समयदेखि पार्टी संगठन विस्तार, जनआन्दोलन र कर्णाली क्षेत्रका सामाजिक–राजनीतिक मुद्दामा सक्रिय रहँदै आएका नेता हुन्।

स्थानीय तहमा उनको संगठनात्मक पकड र जनसम्पर्कलाई ध्यानमा राख्दै एकल सिफारिस गरिएको पार्टीको दाबी छ।पार्टीले परम्परागत संसदीय दलहरू जनजीविकाका सवालमा असफल भएको निष्कर्ष निकाल्दै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने उद्देश्यसहित निर्वाचनमा जाने निर्णय गरेको जनाएको छ। कर्णालीको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र राज्यको केन्द्रिकृत संरचनाविरुद्ध आवाज उठाउने एजेन्डासहित उम्मेदवारी सिफारिस गरिएको सचिव सीले बताए।केन्द्रिय कमिटीबाट अन्तिम निर्णय भएपछि उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरिने पार्टीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *