हिमा गाउँपालिकामा अष्ट्रेलियन प्राध्यापकको सहयोगमा सात हजार पुस्तककाे आधुनिक पुस्तकालय उद्घाटन

काली बहादुर परियार
जुम्ला ,२३ पुस।
हिमा गाउँपालिकामा अभिभावक विहीन बालबालिकाका लागि स्थापना गरिएको आवासीय विद्यालयमा ज्ञानको उज्यालो फैलाउने महत्वपूर्ण कदम चालिएको छ ।
बरिष्ठ पत्रकार मनऋषि धितालको सहजीकरण तथा अष्ट्रेलियन प्राध्यापक Gyabin Makormak को सहयोगमा स्थापना गरिएको सात हजार भन्दा बढी पुस्तक सहितको आधुनिक पुस्तकालय औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

पुस्तकालयको उद्घाटन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले गरेका हुन् । पुस्तकालय सँगै विद्यालयमा आवश्यक डेस्क, बेन्च, कार्पेट व्यवस्थापन तथा रंगरोगनको काम समेत सम्पन्न भएसँगै आवासीय विद्यालयको शैक्षिक तथा भौतिक वातावरण थप व्यवस्थित र आकर्षक बनेको छ ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले अभिभावक विहीन बालबालिकाका लागि आवासीय विद्यालय केवल बसोबासको थलो मात्र नभई भविष्य निर्माणको आधार भएको उल्लेख गरे ।
यी बालबालिकालाई गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु हाम्रो जिम्मेवारी रहेकाे अध्यक्ष शाहीले बताए । उनले भने, पुस्तकालयले उनीहरूको सोच, सीप र आत्मविश्वास विकासमा ठूलो योगदान पुर्याउने जानकारी दिए ।
यस्तै बरिष्ठ पत्रकार मनऋषि धितालले दुर्गम हिमाली क्षेत्रमा पुस्तकालय स्थापना हुनु आफैंमा ऐतिहासिक उपलब्धि भएको बताए । उनले अन्तर्राष्ट्रिय सहयोग र स्थानीय सरकारको सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएको उदाहरण प्रस्तुत भएको उल्लेख गरे ।
अष्ट्रेलियन प्राध्यापक Gyabin Makormak को सहयोगबाट संकलित पुस्तकहरू विभिन्न विधा साहित्य, विज्ञान, इतिहास, बालसाहित्य, जीवनोपयोगी सीप र सन्दर्भ सामग्री समेटिएका छन् । यसले बालबालिकालाई पाठ्यपुस्तक भन्दा बाहिरको ज्ञान सँग जोड्ने विश्वास गरिएको उनकाे भनाइ छ ।
स्थानीय शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूका अनुसार नयाँ पुस्तकालय र सुधारिएको भौतिक संरचनाले विद्यार्थीहरूको पठन संस्कृतिमा उत्साह थपेको छ । विद्यार्थीहरू पनि नयाँ पुस्तकालय प्रति उत्साहित देखिएका छन् ।
यस पहललाई शिक्षा क्षेत्रमा उदाहरणीय कदमका रूपमा लिँदै स्थानीयवासीले गाउँपालिका, सहयोगी दाताहरू र सहजीकरणकर्ता प्रति आभार व्यक्त गरेका छन् ।






