कर्णाली राजमार्गमा ट्याक्टर दुर्घटना : दुई जना गम्भीर घाइते

हस्त चौलागाईं
कालिकोट ,२३ जेठ ।
कालिकोटकर्णाली प्रदेशको दुर्गम भौगोलिक क्षेत्र जोड्ने जीवनरेखा मानिने कर्णाली राजमार्गमा दुर्घटनाको श्रृङ्खला रोकिएको छैन। शनिबार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१ मा भएको ट्याक्टर दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जुम्लाको चन्दननाथ नगरपालिका–९ निवासी २४ वर्षीय भक्तबहादुर सुनार र पूजा निर्माण सेवाका साइट इन्चार्ज डडेलधुराको अमरगढी नगरपालिका–८ निवासी ३५ वर्षीय नरेश पाण्डे घाइते भएका हुन्।दुर्घटनामा परेका दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि दुवै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार साँघुरो सडक, जोखिमयुक्त मोड तथा भौगोलिक जटिलताका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।
कर्णाली राजमार्गले कहिले पाउला बिकास ?
जोखिमको भारसुर्खेतदेखि जुम्लासम्म जोडिएको कर्णाली राजमार्गमा कर्णालीका नागरिकको दैनिक जीवन, व्यापार, स्वास्थ्य सेवा र शिक्षासँग प्रत्यक्ष जोडिएको सडक हो। तर वर्षौंदेखि सडकको अवस्था कमजोर रहँदा यहाँ यात्रा गर्ने यात्रु तथा सवारी चालकले ठूलो जोखिम मोल्नुपर्ने अवस्था छ। राजमार्गका अधिकांश भागमा सडक साँघुरो, भिरालो तथा घुमाउरो छ। कतिपय स्थानमा सडक विस्तार र स्तरोन्नतिको काम भइरहे पनि निर्माणाधीन खण्डहरूमा धुलाम्मे सडक, खाल्डाखुल्डी र कमजोर संरचनाले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ। विशेषगरी कालिकोट, जुम्ला र दैलेखका पहाडी खण्डमा वर्षायाममा पहिरो तथा हिउँदमा धुलोका कारण यात्रा अझ कठिन बन्ने गरेको छ।
सडकको नियमित मर्मत सम्भार नहुँदा र कतिपय स्थानमा सुरक्षा बार तथा संकेतचिन्हको अभाव हुँदा दुर्घटनाका घटना दोहोरिने गरेका छन्।स्थानीयवासीका अनुसार कर्णाली राजमार्गमा सवारी दुर्घटना नयाँ विषय होइन। हरेक वर्ष सडक दुर्घटनामा परी सर्वसाधारणले ज्यान गुमाउने तथा घाइते हुने क्रम जारी छ। सडक स्तरोन्नति, नियमित मर्मत, ट्राफिक व्यवस्थापन र चालकहरूको सतर्कता बढाउन नसके दुर्घटनाका घटना अझ बढ्न सक्ने सरोकारवालाहरू बताउँछन्।यसपटकको ट्याक्टर दुर्घटनाले पुनः एकपटक कर्णाली राजमार्गको जोखिमपूर्ण अवस्थालाई उजागर गरेको छ। दुर्गम भौगोलिक बनावट, कमजोर सडक संरचना र सीमित यातायात पूर्वाधारका कारण कर्णालीका नागरिकले दैनिक रूपमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन।स्थानीयवासीले कर्णाली राजमार्गलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। दुर्घटनाग्रस्त ट्याक्टर हटाउने तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। माननीय देखि मन्त्रि हुँदै मुख्य मन्त्री समेत पाएकाे कालिकाेट लगायतका जिल्लाका नेताहरुका भाषण मात्र ठुला छन् तर कर्णाली राजमार्ग बारे कसैकाे चासाे छैन ।






