कर्णाली प्रदेश अस्पतालका दुःख पाँच सय बेडबाट सेवा दिन सक्ने अस्पतालको स्वीकृत दरवन्दी जम्मा एक सय ५० बेडमा सीमित

ओम शाही
सुर्खेत, २२ बैशाख ।
देश संघीयता कार्यान्वयनमा गएससँगै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा सञ्चालित छ, कर्णाली प्रदेश अस्पताल । अत्याधुनिक उपकरणसहित विशिष्टिकृत सेवा प्रदान गर्ने यो अस्पताल पछिल्ला समय भौतिक संरचनाले सुसज्जित बन्दै गएको छ । अस्पतालमा आकस्मिक उपचार सेवा, आइसियू एनआइसियू, अन्तरंग, बहिरंग सेवा, शल्यक्रिया, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, पुनरस्थापन लगायतका थुप्रै स्वास्थ्य सेवाहरू अस्पतालबाट प्रवाह भइरहेका छन् ।
समग्र कर्णाली प्रदेशका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच स्थापित गराउने लक्ष्यका साथ प्रदेश सरकारले यस अस्पतालका पूर्वाधार निर्माणमा ठुलो लगानी गरिरहेका छ । संघीय सरकार र विभिन्न विकास साझेदार संस्थाहरुले समेत अस्पतालको पूर्वाधार र उपकरणमा ठुलो लगानी गरेका छन् ।
प्रदेश सरकारले यो अस्पताललाई स्तरोन्ती गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सपना देखेको छ । जसका लागि प्रदेश सरकारले आफ्ना वार्षिक नीति, कार्यक्रम तथा बजेटमा यो विषय प्राथमिकताका साथ राख्छ । अस्पताललाई स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गर्न सकिने वा नसकिने विषयमा महिनौ लगाएर विज्ञहरुबाट अध्ययनसमेत गराइएको छ । बिडम्बना भौतिक पूर्वाधारले पाँच सय शैया क्षमतामा सेवा दिनसक्ने अस्पतालमा स्वीकृत दरवन्दी भने जम्मा एक सय ५० शैयाको छ ।
प्रदेश सरकारको निर्णयानुसार तीन सय शैयाको स्वीकृती भएता एक सय ५० शैयाको दरबन्दी तेरिज स्वीकृत छ । तर, अस्पतालले सेवा भने तीन सय शैयाबाट दिइरहेको छ । देशको पुनर्संरचना भई संघीयता लागु भए पश्चात कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी सञ्चालनको अनुमति दिएको थियो ।
१३ कार्तिक २०७५ मा प्रदेश सरकारको निर्णयानुसार मध्यपश्चिम क्षेत्रीय अस्पतालको नाम परिवर्तत गरी प्रदेश अस्पताल स्थापना गरिएको थियो । हाल अस्पतालमा एक सय ५० शैयाका लागि दरवन्दी स्वीकृत भएतापनि बिरामीको चापका कारण विभिन्न श्रोतबाट जनशक्ति व्यवस्थापन गरी तीन सय शैयाबाट सेवा प्रवाह अस्पतालले गरिरहेको छ ।
अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीका अनुसार पाँच सय बेडबाट सेवा दिन सकिने गरी भौतिक संरचना तयार भएका छन् । सोही अनुसारका उपकरणसमेत अस्पतालमा जडान भएका छन् । तर, दक्ष जनशक्ति व्यवस्थापनमा संघ र प्रदेश सरकारले चासो भने नदिएको उनले बताइन ।
‘संरचनागतरुपमा पाँच सय शैयाबाट सेवा दिन सक्ने अवस्थामा अस्पताल पुगेको छ । तर, त्यहि अनुरुपको जनशक्ति व्यवस्थापन हुन सकेको छैन । अहिलेको जनशक्तिले जेनतेन तीन सय शैया धानेको अवस्था छ ।’ उनले ओएनएम अनुसारको जनशक्तिलाई तत्काल स्थायीरुपमा राख्न नसकिने भए अस्थायी दरवन्दी संरचना स्वीकृत गरेर अस्पतालको आन्तरिक स्रोतबाट व्यहोर्नेगरी जनशक्ति व्यवस्थापन गर्नतर्फ संघ र प्रदेश सरकारले निर्णायक कदम चाल्न आवश्यक रहेको उनले बताइन ।
लगानी अनुसार अब अस्पताललाई कुन मोडेलमा सञ्चालन गरिने हो त्यसको स्पष्ट खाका प्रदेश सरकारले तय गर्नुपर्ने उनले बताइन । ‘छिमेकी प्रदेशका नागरिक र प्रदेशभित्रकै नागरिकको आवश्यकता र माग अनुसारको सेवा दिन अस्पताललाई पूर्वाधार, अत्याधुनिक प्रविधिमा आधारित उपकरणसँगै विशिष्टिकृत सेवा प्रदान गर्न त्यहि अनुरुपको विशेषज्ञ जनशक्ति आवश्यक पर्छ । यसको व्यवस्थापन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयले आवश्यक पहल थाल्न आवश्यक छ,’ ज्ञवालीले भनिन् ।
अस्पताललाई पाँच सय शैयामा विस्तार गर्ने योजनामा प्रदेश रहेको भएपनि जनशक्ति व्यवस्थापनमा भने चासो नदिइएको उनले बताइन । विशेषज्ञ जनशक्ति अभावका कारण जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताइन । जनशक्ति अभावकै कारण अस्पतालले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनको दावी छ । उनका अनुसार हाल दैनिक तीन हजार बढी नागरिकले अस्पतालबाट नियमित उपचार सेवा लिइरहेका छन् ।
तत्कालिन हेल्थ सेन्टरबाट स्तरोन्नती गरी विक्रम संवत् २०३० मा १५ शैयामा सञ्चालित जिल्ला अस्पताल सुर्खेत नै हालको प्रदेश अस्पताल हो । त्यसपछि ७ फागुन २०६२ मा स्तरोन्नती गरी ५० शैया पुर्याइएको अस्पताललाई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नाम दिएर वीरेन्द्रनगर–४, कालागाउँमा सञ्चालनमा ल्याएको थियो ।
तत्कालिन क्षेत्रीय अस्पतालमा बिशेषज्ञ चिकित्सकसहित ८१ जनाको स्वीकृत दरबन्दि भएपनि २/४ जना बिशेषज्ञ चिकित्सक बाहेक थप चिकित्सकहरु हाजिर नहुँदा बिरामीलाई थप उपचारका लागि अन्यत्र अस्पतालमा प्रेषण गर्नुपर्ने बाध्यता थियो । यो बाध्यता अmझै पनि कायम छ ।
प्रदेश सरकारले यस अस्पताललाई बिशेष प्राथमिकतामा राखेको छ । सोहिअनुसार अस्पतालले पनि विशिष्टकृत तथा बिशेषज्ञ सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । अस्पतालले आर्थिक वर्ष २०७८/०७९ मा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा जडान गरिएको तीन टेस्ला ६४ च्यानलको अत्याधुनिक एमआरआई मेसिनबाट सेवा दिइरहेको छ ।
अस्पतालले आफ्नै ब्लड बैंक सञ्चालन गरिरहेको छ । यस्तै, मृर्गौला प्रत्यारोपणसहित विरामीहरुलाई डाईलासिस सेवासमेत दिइरहेको छ । जसका कारण मृर्गौला रोगीलाई अंग प्रत्यारोपण र नियमित डायईलाइसिस सेवा लिन प्रदेश छाड्नु पर्ने बाध्यताको अन्य भएको दावी अस्पतालको छ । यस्तै, क्यान्सर पहिचान सेवा पनि अस्पतालले दिइरहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालकै बजेटबाट क्याथ ल्याव/सिटी स्क्यान खरिद भई सञ्चालनमा छ ।
सोही आर्थिक वर्षबाटै क्यान्सर रोगको विभाग र जलेका बिरामीहरुका लागि बर्न युनिट स्थापना भई सेवा प्रवाह हुँदै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा थप ६ वटा अत्याधुनिक ओटिहरु, १५ विभागका लागि सशुल्क क्लिनिक गरी पाँच सय बेड क्षमतामा अस्पताल विस्तार भएको जनाइएको छ । यहीँ आर्थिक वर्षमै बिरामी कुरुवा घर र कृत्रिम अंग तथा अर्थोटिक्स कार्यशाला भवन निर्माण भई सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अस्पतालले तीन वटा अक्सिजन प्लान्ट सञ्चालन गरी बिरामीहरुलाई पाईपलाईनबाट अक्सिजन प्रदान गर्दै आइरहेको छ । यस्तै, आपत्कालिन उद्दारका लागि नवनिर्मित भवनको छतमा हेलीप्याडसमेत सञ्चालनमा आइसकेको छ । अस्पतालले बाल अस्पताल निर्माणको लक्ष्यसमेत राखेको छ ।






