महँगा अस्पतालले नसकेपछि तातोपानीको भरोसा

गोल्डेन बुढा
जुम,२३ बैशाख । 

जुम्लाको सिंजा गाउँपालिका–६ की ६२ वर्षीया प्याउरी रावतलाई ढाँड, टाउको र खुट्टाको जोर्नी दुख्ने समस्या थियो। तातोपानी धारामा नुहाउन थालेदेखि उनलाई सन्चो भयो। उनी जस्तै तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठीक भएको सुनाउने धेरै भेटिन्छन्। विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरूका लागि आजभोलि कर्णालीकै पर्यटकीयस्थल मानिने जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा अवस्थित तातोपानी धारा प्राकृतिक उपचारका लागि आकर्षक स्थल बन्दै गएको छ।त्यहाँ बाह्य तथा आन्तरिक पर्यटकको भीड बढ्दै छ। ‘उपचार केन्द्रको गन्तव्य’ बनेको तातोपानी धारा पछिल्लो समय विदेशी पर्यटकहरू समेत बाक्लो रूपमा आउने गरेको स्थानीय बताउँछन्। बाथरोग, ढाँड दुख्ने, घुँडा दुख्नेलगायतका समस्याले ग्रसित मानिसहरू तातोपानी नुहाउन पुग्ने गर्दछन्। मूलबाट निस्कने प्राकृतिक तातोपानी धारामा नुहाएपछि चिसोबाट हुने रोग, ग्यास्ट्रिक, सडके मर्केको रोगीहरू निको भएर फर्किने गरेका कारण दर्जनौं बिरामीहरू आउने गरेको स्थानीय बताउँछन्।तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिसजस्ता रोग निको हुने जनविश्वास छ।त्यहाँ महिला तथा पुरुष नुहाउने छुट्टाछुट्टै धारा छन्। उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी धारामा नुहाएर निको भएको बिरामीहरू बताउँछन्।जुम्लाको छिमेकी जिल्ला कालिकोटकी ६६ वर्षीया राजकला सार्की आफू निरन्तर ८ वर्षदेखि उक्त नुहाउन आउने गरेको सुनाउँछिन्। उनले आफ्नो ढाँड र घुँडा दुख्ने समस्या रहेको तर, अहिले निको भएको सुनाइन्। अर्की बिरामी मुगुकी ६३ वर्षीया लालकली रावलले पनि बाथरोग, ढाँड दुख्ने, घुँडा दुख्ने समस्याले ग्रसित छन्। उनले पनि ५ वर्षदेखि निरन्तर नुहाउन आउने गरेको बताउँछिन्।धाराको सञ्चालन तथा व्यवस्थापनका लागि तातोपानी गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ। कार्यविधिअनुसार नयाँ शुल्क निर्धारण गरिएको छ। टिकट काट्ने सिस्टम छ। तातोपानी धारामा नुहाउनका लागि सम्बन्धित वडाका नागरिकलाई १० रुपैयाँ, गाउँपालिकाभित्रका स्थानीयलाई ३० रुपैयाँ, जिल्लाभित्रकालाई ४० रुपैयाँ र जिल्ला बाहिरको हकमा ५० रुपैयाँ र विदेशी नागरिकलाई एक सय रुपैयाँ शुल्क लाग्छ।यहाँ त्यस्तो शुल्कबापत् मासिक एक लाख बढी रुपैयाँ जम्मा हुन्छ। प्रतिदिन ५० देखि दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेका छन्। तातोपानी व्यवस्थापनका लागि तातोपानी पर्यटक व्यवस्थापन समिति गठन गरिएको छ।यस्तै तातोपानी गाउँपालिका–२ का अध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गर्ने उद्देश्य हो।

तातोपानीमा कालीकोट, मुगु, जाजरकोट, डोल्पाबाट मानिसहरू नुहाउन पुग्छन्। शनिबार र बिदा दिन अझ धेरै पर्यटक चाप हुन्छ। नुहाउन आउनेहरूको सामान सुरक्षा गर्न लकरको व्यवस्था छ। ‘धेरैजसो चर्मरोग र शरीर दुखाइ निको हुने आशामा आउने गरेका छन्।’स्थानीय अगुवा टेकबहादुर बुढाका अनुसार कर्णाली राजमार्ग हुँदै मुगुको राराताल पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक तातोपानी नुहाएर फर्कन्छन् । समुद्र सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा रहेको तातोपानी धारा सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । जनप्रतिनिधि गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्य बनाउन धारा व्यवस्थापनमा जोड दिइएको बताउँछन्।तातोपानीको पोखरीमा ३ र ४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ । नुहाएपछि खाइन उठ्न्या, छालामा केही रोग भए फाल्छ। पानी खायो भने ग्यास्ट्रिक चट हुन्छ। रागन (बाथ) तातोपानीमा नुहाएपछि ठिक हुन्छ। जिल्ला बाहिरबाट समेत जाडोको समयमा धेरै मान्छेहरु तातोपानीमा नुहाउनका लागि पुग्नेछन्।तातोपानीमा नुहाउन आएका धन सार्कीले तातोपानीले नुहाउने मात्रै नभइ औषधि समेत हुने विश्वास रहेको बताए। आफुलाई राम्रो स्वास्थ्य भएको बताए।“नुहाएपछि शरीर हलुका हुन्छ, भोक बढ्छ,” भन्नेहरू धेरै छन्। धन सार्की भन्छन्, “यो नुहाउने ठाउँ होइन, प्राकृतिक औषधि हो।”पछिल्लो समय तातोपानीमा सरसफाइ पनि निरन्तर गर्ने गरिन्छ।

 

महँगा अस्पतालले नसकेपछि तातोपानीको भरोसा

उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने भन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *