सम्पादकीय : वादी वस्तीमा स्वच्छ खानेपानीको सुनिश्चितता गर 

सुर्खेतको वीरेन्द्रनगरमा यतिबेला राष्ट्रिय गौरव र प्राथमिकतासँग जोडिएको भेरी लिफ्ट खानेपानी आयोजना तीव्र गतिमा निर्माण भइरहेको छ । झण्डै ६ अर्ब रुपैयाँ लागतको यो आयोजना सम्पन्न भएपछि सन् २०५० सम्मका लागि वीरेन्द्रनगरवासीलाई दिगो खानेपानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने दृष्टिले यो निस्सन्देह कर्णालीकै रणनीतिक महत्वको आयोजना हो । तर, विडम्बना के छ भने यही आयोजनाको छेउमा रहेको झुप्रा खोलाको बादी बस्तीका नागरिक भने आज पनि स्वच्छ खानेपानीको आधारभूत सुविधाबाट वञ्चित छन् । नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । संविधानको धारा ३५(४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको अधिकार प्रदान गरेको छ । तर, कानुन र व्यवहारबीचको दूरी झुप्रा खोलाको बादी बस्तीमा स्पष्ट देखिन्छ । राज्यले अर्बौँ रुपैयाँ खर्च गरेर शहरका लागि खानेपानीको दीर्घकालीन समाधान खोजिरहँदा त्यही शहरको छेउमा बसोबास गर्ने एक सय पचासभन्दा बढी परिवारले प्रदूषित खोलाको पानी छानेर पिउन बाध्य हुनु लोकतान्त्रिक राज्य व्यवस्थामाथिकै प्रश्न हो ।

दशकौँदेखि झुप्रा खोला किनारमा बसोबास गर्दै आएका बादी समुदायका नागरिकको समस्या नयाँ होइन । उनीहरू वर्षौंदेखि खानेपानीको अभाव, स्वास्थ्य जोखिम र सामाजिक उपेक्षाको पीडा भोगिरहेका छन् । पहिले स्वच्छ रहेको झुप्रा खोलाको पानी अहिले फोहोर, अव्यवस्थित उत्खनन र वातावरणीय बेवास्ताका कारण प्रदूषित बनेको छ। स्थानीयहरू टाइफाइड, झाडापखाला, एलर्जी लगायतका सरसफाइजन्य रोगको जोखिममा बाँचिरहेका छन् । महिलाहरूले महिनावारीका समयमा समेत सुरक्षित पानीको अभाव झेल्नुपरेको अवस्था मानव मर्यादामाथिको गम्भीर चुनौती हो । झन चिन्ताजनक पक्ष के छ भने बस्तीमा खानेपानी पुर्‍याउने न्यूनतम प्रयाससमेत राज्यले गरेको देखिँदैन । स्थानीयले पटक–पटक नगरपालिका, प्रदेश सरकार र सम्बन्धित निकायलाई गुहारे पनि सुनुवाइ भएको छैन । बरु गैरसरकारी संस्थाहरूले सहयोग नगरेको भए आज बस्तीमा खानेपानीको पहुँच अझ दयनीय हुने थियो । आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्यको हो, दातृ निकायको होइन । जब नागरिकको मौलिक हक दाताको दयामा निर्भर हुन थाल्छ, त्यतिबेला राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठ्छ ।

अर्कोतर्फ, राजस्व संकलनको नाममा झुप्रा खोलामा भइरहेको अव्यवस्थित नदीजन्य पदार्थ उत्खननले स्थानीयको जीवन झन् जोखिमपूर्ण बनाएको छ । खोलाको प्राकृतिक स्वरूप बिग्रिएको छ, बाढीको जोखिम बढेको छ र पानीका स्रोतहरू थप प्रदूषित भएका छन् । वातावरणीय प्रभाव मूल्यांकनका मापदण्ड कागजमा सीमित हुँदा त्यसको प्रत्यक्ष असर विपन्न समुदायले भोग्नुपरेको छ । विकासको वास्तविक अर्थ ठूला आयोजना निर्माण गर्नु मात्र होइन, त्यसको लाभ सबै नागरिकसम्म न्यायपूर्ण रूपमा पुर्‍याउनु पनि हो । भेरी लिफ्ट खानेपानी आयोजना कर्णालीको गौरव बन्न सक्छ, तर त्यसको छेउमै रहेको बादी बस्ती तिर्खै रह्यो भने त्यो गौरव अपूर्ण रहनेछ । झुप्रा खोलाका बादी समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु कुनै ठूलो आर्थिक भार होइन, बरु संवैधानिक दायित्व र मानवीय जिम्मेवारी हो । अब राज्यले योजना, नीति र भाषणभन्दा माथि उठेर यस्ता उपेक्षित समुदायको आधारभूत अधिकार सुनिश्चित गर्ने काममा अग्रसर हुनुपर्छ । अन्यथा विकासका अर्बौँ खर्च र नागरिकको एक घुट्को स्वच्छ पानीबीचको यो विरोधाभास अझै लामो समयसम्म हाम्रो सामूहिक असफलताको प्रतीक बनेर रहनेछ ।

सम्पादकीय : वादी वस्तीमा स्वच्छ खानेपानीको सुनिश्चितता गर 

उपेक्षामा आँखाको हेरचाह

Leave a comment

Your email address will not be published. Required fields are marked *