बत्तीले बदलियाे गिडिखाेला

गाेल्डेन बुढा

जुम्ला ,२१ माघ।
साँझ पर्नासाथ सल्लाको दियालो सल्काउने हातहरू आज स्विच थिच्छन्।झन्डै एक दशकअघिसम्म अन्धकारसँग जुध्दै रात काटिरहेका जुम्लाको तातोपानी–४ गिडिखोला क्षेत्रका बस्तीहरू अहिले २४सै घण्टा उज्यालोमा छन्। गाउँ नजिकै गिडिखोला जलविद्युत् आयोजना निर्माण भई बिजुली प्रवाह हुन थालेपछि यहाँ उज्यालो केवल बत्तीमा होइन, जीवनशैलीमै फैलिएको छ।जुम्लास्थित तातोपानी–४ गिडिखोला क्षेत्रमा निर्माण भएको गिडिखोला जलविद्युत् आयोजनाको विद्युत् गृहबाट २ सय किलोवाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ। यही बिजुलीले तातोपानी र चन्दननाथका दर्जनौँ गाउँबस्तीहरू झिलिमिली बनेका छन्।बिजुली पुगेपछि गाउँको दैनिकी नै फेरिएको छ। गाउँमै विद्युतबाट चल्ने मेसिनहरू स्थापना भएका छन्। विद्युतीय चुला प्रयोगमा आएका छन्।

घरघरमा वाइफाइ जडान भएको छ। बालबालिकाले गाउँमै बसेर अनलाइन शिक्षा लिन थालेका छन्।पहिले जंगलदेखि झरो र दाउरा संकलन गर्नुपर्ने बाध्यता थियो। धुवाँधुलोले रोगको संक्रमण बढ्थ्यो। रूघाखोकी लाग्ने, कालोधुँवा घरभित्र पस्ने, अनुहार कालो हुने समस्या सामान्य थिए। अहिले ती समस्या क्रमशः हराउँदै गएका छन्। स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष सुधार देखिएको छ।तातोपानी–४ का स्थानीय नरबहादुर रावत भन्छन्,“पहिले दियालो बाल्दा धुवाँले कपडा मलिन हुन्थे। अहिले बालबालिकाले राम्रोसँग पढ्न पाएका छन्।”गिडिखोला गाउँका गोकर्ण जैसीका अनुसार सल्लाको दियालोबाट छुटकारा पाएपछि स्वास्थ्यमा सुधार आएको छ।इन्टरनेट र बिजुलीले गाउँलाई संसारसँग जोडिदिएको छ।भद्रबिर सार्की भन्छन्,“२४सै घण्टा बत्ती हुँदा सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म घरमै बसेर भिडियो कल भइरहेको छ।”घरभित्रैबाट सामाजिक सञ्जाल प्रयोग भइरहेको छ। सूचना र सेवामा पहुँच बढेको छ।स्थानीय महिला कालिका नेपाली भन्छिन्,“भान्सादेखि घरसम्म सबै चिटिक्क देखिन्छ। अँध्यारोमा बत्ती नहुँदा गाह्रो हुन्थ्यो। अहिले घर नै उज्यालो छ।”दाउरा बाल्दा हुने धुवाँ हट्दै जाँदा महिलाको स्वास्थ्य सुधारिएको छ। दाउरा र झरो संकलनको बाध्यता घट्दा वनजंगल संरक्षणमा पनि टेवा पुगेको छ।पहिले हुनेखानेले सोलार बाल्थे, नहुनेले सल्लाको झरो। अहिले भने गरिब तथा विपन्न घरपरिवारमा समेत निःशुल्क विद्युत् लाइन जोडिएको छ। उज्यालो सबैका लागि समान बनेको छ।यो आयोजना जाल्पादेवी ग्रामीण विद्युत् सहकारी संस्थामार्फत सञ्चालनमा छ।२०६१ सालदेखि निर्माण सुरु भए पनि २०७४ सालदेखि मात्रै बिजुली उत्पादन भई गाउँबस्तीमा वितरण गरिएको थियो।कुल १६ करोड लागत स्टेटमेन्ट रहेको यो आयोजनाका लागि १२ करोडमा टेन्डर आह्वान भएको थियो। घटिघटाउपछि ठेकेदारले १० करोडमा निर्माणको जिम्मा लिएका थिए। समुदायको १ करोड ५० लाख रुपैयाँ नगद लगानी छ। १ करोड ६३ लाख ४० हजार रुपैयाँ ऋण लिइएको छ। वैकल्पिक ऊर्जामार्फत एडीबीले ५ करोड ७० लाख अनुदान दिने भनिए पनि ४ करोड मात्रै प्राप्त भएको छ।हाल तातोपानीका १५ गाउँमा सिधै विद्युत् सहकारीमार्फत बिजुली वितरण भइरहेको छ। थप १५ गाउँमा विद्युत् प्राधिकरणले यही विद्युत् गृहसँग सम्झौता गरी बिजुली बालिरहेको छ। चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका अधिकांश बस्तीहरू यही आयोजनाबाट उज्यालिएका छन्।न्यूनतम महसुल १ सय रुपैयाँ तोकिएको छ। हिउँदमा मासिक २ लाख २० हजार रुपैयाँसम्म र वर्षायाममा मासिक १ लाख २५ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ।

विद्युत् उत्पादनका लागि ३ किलोमिटर ७ सय मिटर टाढाबाट कुलो निर्माण गरिएको छ।गिडिखोला जलविद्युत् आयोजना अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार तातोपानी गाउँपालिकाका १ देखि ६ वडासम्म तथा चन्दननाथ नगरपालिका–८, ९ र १० का गाउँबस्तीहरू यो आयोजनाबाट कभर भएका छन्।सल्लाको दियालो निभेर बलेको यो बिजुली केवल प्रविधि होइन, परिवर्तनको प्रतीक बनेको छ।गिडिखोलाको उज्यालोले तातोपानी मात्र होइन, जुम्लाको ग्रामीण जीवनमा आशा, समानता र सम्भावनाको नयाँ अध्याय सुरु गरेको छ।

बत्तीले बदलियाे गिडिखाेला

दाङमा क्यान्सर रोकथाम र स्वास्थ्य परीक्षणमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *