भूमिगत पानी संरक्षण गर्न  एकीकृत जलाधार गुरुयोजना लागू   

ओम शाही

सुर्खेत, १२जेष्ठ ।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिकाको उपत्यका क्षेत्रमा भूमिगत पानीको संरक्षण, जल र वायुजन्य प्रकोपको जोखिम न्यूनिकरण गर्न एकिृत जलाधार व्यवस्थापन गुरुयोजना कार्यान्वयनमा ल्याएको छ । बार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएको यो योजना चालु आर्थिक वर्ष २०८२/०८३ बाट कार्यान्वयनमा आएको हो । 

पछिल्लो समय कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा बढ्दो सहरीकरण, भू–उपयोग परिवर्तन तथा जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै जानुका साथै बाढी तथा भू–जोखिमको समस्या जटिल बन्दै गएपछि प्रदेश सरकारले दीर्घकालीन पानी सुरक्षा सुनिश्चितता र जलाधार व्यवस्थापन तथा जलवायू परिवर्तनको असर न्यूनिकरण गर्न एकीकृत जलाधार व्यवस्थापनका कार्यक्रम सञ्चालनार्थ गुरुयोजना तयार गरि कार्यान्वयनमा ल्याएको हो । 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८१/०८२ मा गुरुयोजना तयार गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा पठाएको थियो । निर्देशनालयको स्वीकृतीपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पाँच करोड बजेट विनियोजन गरी गुरुयोजना कार्यान्वयनमा ल्याएको हो । 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार मसान्तसम्म सञ्चालन हुने कार्यक्रमले वीरेन्द्रनगर उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण, भूगर्भीय जल पुनर्भरण, प्राकृतिक प्रकोप रोकथाम तथा समुदायमा आधारित जल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए । 

‘चुरे तथा महाभारत पर्वत शृङ्खलाबीच अवस्थित सुर्खेत उपत्यका पछिल्ला वर्षहरूमा तीव्र सहरीकरणको चापमा परेको छ,’ कार्यालय प्रमुख चपाई भन्छन्, ‘अनियन्त्रित संरचना निर्माण, बढ्दो सहरिकरण, वन विनाश तथा प्राकृतिक खोलानालाको उचित व्यवस्थापन नहुनु लगायतका कारण उपत्यकामा पानीको उपलब्धता घट्दै गएको देखिएपछि गुरुयोजना बनाएर अघि बढेका हौं ।’ विशेषगरी गर्मीयाममा खानेपानीको समस्या बढ्दै जानुका साथै आकस्मिक बाढी, भूक्षय र डुबानको जोखिम समेत बढिरहेको उनले बताए ।

यस अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले वैज्ञानिक अध्ययनमा आधारित दीर्घकालीन जलाधार व्यवस्थापन रणनीति अघि बढाएको कार्यालय प्रमुख चपाईले बताए । उनी भन्छन्, ‘उत्तरी जलाधार क्षेत्रको संरक्षण, भूगर्भीय जल पुनर्भरण संरचना निर्माण, जैविक इन्जिनियरिङ विधिबाट पहिरो नियन्त्रण तथा प्राकृतिक मुहान संरक्षणका कार्यक्रम समावेश गरिएको छ । साथै, सामुदायिक सहभागितामा आधारित संरक्षण प्रणालीलाई पनि प्राथमिकतामा राखिएको छ ।’ 

उनका अनुसार अध्ययनका क्रममा उपत्यकाका विभिन्न स्थानमा भूगर्भीय जलको अवस्था, मुहानहरूको वितरण तथा पुनर्भरण क्षेत्रको विस्तृत विश्लेषण गरिएको थियो । उक्त अध्ययनले उपत्यकाको उत्तरी क्षेत्र भूगर्भीय जल पुनर्भरणका लागि अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष निकालेको थियो । 

गुरुयोजना कार्यान्वयन अन्तर्गत स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, खानेपानी उपभोक्ता समिति तथा विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा संरक्षणका गतिविधि सञ्चालन गरिने जनाइएको छ । त्यस्तै, जलाधार संरक्षणका लागि वृक्षारोपण, बाँस तथा स्थानीय प्रजातिका बिरुवा रोपण, प्राकृतिक खोल्सा संरक्षण तथा वर्षाको पानी संकलनलाई प्रवद्र्धन गरिने कार्यालयले जनाएको छ ।

त्यस्तै, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न जैविक इन्जिनियरिङ प्रविधि, ढल तथा पानी निकास व्यवस्थापन, पहिरो नियन्त्रण र भू–क्षय न्यूनीकरणका कार्यहरूलाई समेत प्राथमिकतामा राखिएको छ । स्थानीय समुदायको जीविकोपार्जन सुधारका लागि हरित उद्यम तथा वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन गरिने कार्यक्रमहरु गुरुयोजनामा समावेश छन् । 

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई समेत सुदृढ बनाइने जनाइएको छ । भौगोलिक सूचना प्रणाली, रिमोट सेन्सिङ तथा सामुदायिक सहभागितामा आधारित अनुगमन प्रणालीमार्फत कार्यक्रमको प्रगति मूल्याङ्कन गरिने कार्यालयको दावी छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका अनुसार उक्त कार्यक्रमले दीर्घकालीन रूपमा सुर्खेत उपत्यकामा पानीको उपलब्धता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षण र भू–जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

बाढीको उच्च जोखिम रहेका खोलामा चेक ड्याम

चालु आर्थिक वर्षमा गुरुयोजनाले निर्दिष्ट गरे बमोजिम वीरेन्द्रनगर उपत्यकाका पानीका मूख्य श्रोत रहेका तथा वर्षा याममा पानीको उच्च वहाव भई बाढीको जोखिम निम्ल्याउने मूख्य खोलाहरुमा चेक ड्याम निर्माण गरिने छ । 

जसमा नेवारेखोला, ईत्रामखोला, आपखोली खोला र खोर्केखोलामा बहुउद्देशीय चेक ड्याम तथा तटबन्धन निर्माण गरिने छ । यस्ता प्रकृतिका चेक ड्याम तथा तटबन्धनले खोला किनारामा कटान नियन्त्रण, बाढी जोखिम न्यूनिकरण, बस्ती संरक्षण, पानीको गति नियन्त्रण गर्न सघाउने गर्छन । त्यस्तै, वर्षा याममा खोलामा बगिआएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी तथा वालुवा) संकलन गरी राजश्व तथा आम्दानीको श्रोतको रुपमा दिगो व्यवस्थापन गर्न पनि यी चेक ड्यामहरु उपयोगी हुनेगर्छन । 

माथिल्लो तटीय क्षेत्रमा पहिरो, भू–क्षय, पानीको मुहान संरक्षण तथा पानी पुनर्भरणका साथै गुरुयोजनाले निर्दिष्ट गरेका उद्देश्य पुरा गर्न वीरेन्द्रनगर उपत्यकाको उत्तरी क्षेत्रबाट निस्किएका मुख्य खोलाहरुमा निर्माण गरिने चेक ड्याम तथा तटबन्धनले सघाउ पुर्‍याउने जनाइएको छ । 

कार्यालय प्रमुख चपाईका अनुसार वीरेन्द्रनगरको उत्तरी जलाधार गुरुयोजना कार्यान्वयन अन्तर्गत इत्रामखोलामा चेक ड्याम निर्माण सम्पन्न भइसकेको छ भने, अन्य खोलाहरुमा चालु आर्थिक वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न हुनेछन् । उनका अनुसार वीरेन्द्रनगर उपत्यको भूमिगत पानीका स्रोत जोगाउन गुरुयोजना अन्तर्गत बुलबुले तालमा पनि जल संरक्षणका कार्य जारी छन् । गुरुयोजना मुताविक आगामी वर्षमा पनि संरक्षणका विभिन्न योजनाहरु क्रमश कार्यान्वयन गरिदै लगिने जनाइएको छ । 

भूमिगत पानी संरक्षण गर्न   एकीकृत जलाधार गुरुयोजना लागू   

रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

भूमिगत पानी संरक्षण गर्न   एकीकृत जलाधार गुरुयोजना लागू   

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *