दसैंमा तस्करी नियन्त्रणमा बाँके प्रहरी सक्रिय, खसी–बोका र अवैध सामग्री बरामद

बाँके,१४ असोज ।
दसैंको अवसरमा सीमापारीबाट हुने अवैध आयात रोक्न बाँके प्रहरीले सक्रियता बढाएको छ। यही क्रममा प्रहरीले सोमबार करिब दुई लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–१६ बाट भारततर्फबाट चोरी निकासी गरी ल्याइएका १० वटा खसी–बोका बरामद गरिएको छ। त्यस्तै, नेपालगन्ज–१० गणेशमान चोकबाट ठूलो परिमाणमा मोबाइल चार्जर, पावर बैंक र मोबाइल कभर समेत तस्करसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीका अनुसार आइतबार मात्रै २५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध कुखुरा बरामद गरिएको थियो। सोमबार भने खसी–बोका सहित १ लाख ८१ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
उहाँले दसैंको समयमा खसी–बोका तथा कुखुराको मासुको माग उच्च हुने भएकाले तस्करी गतिविधि बढ्ने गरेको उल्लेख गर्दै प्रहरीले तस्करलाई सफल हुन नदिने दृढता व्यक्त गर्नुभयो।
बरामद गरिएका सामान तथा खसी–बोका ओसारपसारमा संलग्न व्यक्ति र प्रयोग गरिएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ।

हालै मात्र बाँकेमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जिल्लामा सुरक्षा व्यवस्था कडा पार्न र सबै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। सो निर्देशनपछि प्रहरीले सीमावर्ती क्षेत्रमा सक्रियता बढाएको स्थानीयले बताएका छन्।






