दसैंमा पनि दाङका किसानको केरा बिक्री नहुंदा ठुलो मर्का

दाङ,१४ असोज ।

नेपालीहरूको ठूलो चाड दसैंमा समेत दाङका किसानले उत्पादन गरेको केरा बिक्री नहुँदा उनीहरू ठूलो समस्यामा परेका छन्। भारतबाट सस्तो दरमा ठूलो मात्रामा केरा भित्र्याइँदा त्यसको प्रत्यक्ष असर दाङमा व्यावसायिक रूपमा केरा खेती गर्ने किसानहरूमा परेको हो।

राप्ति गाउँपालिका–७ का किसान रणप्रसाद सुवेदीले ५४ बिघा क्षेत्रमा व्यावसायिक रूपमा मालभोग केरा खेती गर्दै आएका छन्। तर, यसपालि भारतीय केरा सस्तो मूल्यमा बजारमा आएको कारण उनका बगैँचामा पाकेका केरा खेर गएका छन्। सुवेदीले भने, “बजारमै मूल्य पाइनँ, २५ रुपैयाँ दर्जनमा पनि व्यापारी लिन आएनन्। केरा बोटमै पाकेर खेर गयो। भारतीय केराकै कारण हाम्रो उत्पादनलाई कसैले वास्ता गरेन।”

त्यस्तै अर्का किसान तीर्थराज ज्ञवालीले पनि बजार र मूल्यको ठुलो अभाव भएको बताएका छन्। “हामीले उत्साहका साथ लगाएको केरा अहिले बेच्नै नसक्ने अवस्था आएको छ। बजार पाउने बेला धोका पायौँ,” उनले दुःखेसो पोखे।

दाङ जिल्लामा करिब एक हजार बिघा जमिनमा किसानहरूले चाडपर्व र विशेष सिजनलाई लक्षित गरेर केरा खेती गर्दै आएका छन्। तर, बजारमा भारतबाट आउने केराले स्थानीय उत्पादनलाई ओझेल पार्दा किसानलाई वर्षेनी घाटा सहनु परेको छ।

स्थानीय किसानहरूको भनाइमा दाङमा केरा खेतीका लागि जमिन, हावा, पानी र वातावरण अत्यन्त उपयुक्त छ। यही कारण धान खेती गर्दै आएका धेरै किसानले पछिल्लो समय धान छोडेर केरा खेतीतर्फ आकर्षित भएका छन्। तर, भारतीय केरासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले उनीहरूको पसिना मोलिन नसक्ने अवस्था सिर्जना भएको छ।

उत्पादन बढ्दै गए पनि बजार र मूल्य सुनिश्चित नभएकाले किसान हरेक वर्ष घाटामा पर्ने गरेका छन्। यसपालि पनि दसैं जस्तो ठूलो चाडमा बिक्री नहुँदा किसानहरूको उत्साहमा ठेस पुगेको छ। किसानहरूका अनुसार उत्पादनलाई जोगाउन र घाटाबाट उन्मुक्ति दिलाउन सरकारले बजार व्यवस्थापन र आयात नियन्त्रणमा विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ।

दसैंमा पनि दाङका किसानको केरा बिक्री नहुंदा ठुलो मर्का

सदरमुकाम खलंगामा जुम्ली घोडा दौड

दसैंमा पनि दाङका किसानको केरा बिक्री नहुंदा ठुलो मर्का

जेन–जी आन्दोलन प्रहरीको गोलीले सन्तोषका गुमे दुवै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds