पश्चिम नेपालमै पहिलोपटक हड्डी, मांसपेशी र छाला क्यान्सरबारे बृहत चिकित्सक सम्मेलन खजुरामा हुँदै

बाँके ,१३ मंसिर ।
पश्चिम नेपालमा पहिलोपटक हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सर (Musculoskeletal & Skin Cancer) बारे केन्द्रित बृहत चिकित्सक सम्मेलन हुने भएको छ। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आयोजनामा, मस्कुलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (MOSON) तथा नेपाल अर्थोपेडिक एशोसियसन वेस्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६–२७ गते सम्मेलन सञ्चालन हुने तयारी गरिएको हो।
उद्घाटन कार्यक्रम खजुरामै आयोजना हुने र कार्यपत्र तथा वैज्ञानिक प्रस्तुतीकरण भने नेपालगन्जमा राखिने अस्पतालले जनाएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनलाई क्षेत्रमा क्यान्सर उपचार तथा अनुसन्धानको गुणस्तर uplift गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आयोजक समितिका अध्यक्ष तथा एमएसके अंको–सर्जन डा. गोपाल पौडेलले सम्मेलन पश्चिम नेपालका चिकित्सकका लागि अत्यन्तै उपयोगी हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “बाँके तथा आसपासका जिल्लामा कार्यरत सर्जन, प्याथोलोजिस्ट, अर्थोपेडिक्स, रेडियोलोजिस्ट, मेडिकल अंकोलोजिस्ट तथा रेडियसन अंकोलोजिस्टलाई अस्पतालको सेवा, सुविधाभारि जानकारी दिनेछौँ। साथै हड्डी, मांसपेशी र छालासम्बन्धी क्यान्सरको नयाँ प्रविधि, उपचार विधि र अनुभवहरूको आदान–प्रदान हुनेछ।”
डा. पौडेलका अनुसार सम्मेलनमा भरतपुर, विराटनगर, काठमाडौं, दाङ, सुर्खेत, कोहलपुर र नेपालगन्जका क्यान्सर विशेषज्ञहरूको सहभागिता रहनेछ। यसले विभिन्न क्षेत्रका चिकित्सकबीच सहकार्य, अनुसन्धान र उपचार प्रविधि आदान–प्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
आयोजक समितिका सचिव तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अंकोलोजिस्ट डा. मुकेश यादवले सम्मेलनमा करिब दुई सय जनाको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा ७ देखि ८ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।
डा. यादवले थपे, “यो पश्चिम नेपालकै लागि ऐतिहासिक कार्यक्रम हो। हामीले क्यान्सरको जटिल रूपमध्ये पर्ने हड्डी, मांसपेशी र छालाका क्यान्सरबारे नवीनतम शिक्षा, अनुसन्धान र उपचार विधि एकै स्थानमा साझा गर्नेछौँ। यसले रोगसँग लड्न चिकित्सा क्षेत्रलाई थप बलियो बनाइदिनेछ।”
पश्चिम नेपालमा क्यान्सर उपचार विस्तार हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस्तो सम्मेलनलाई क्यान्सर उपचार क्षेत्रमा नयाँ माइलस्टोनका रूपमा हेरिएको छ।






