नेपालगन्जमा तेस्रो ब्रोकर कार्यालयसहित शेयर कारोबार थप सक्रिय, लगानीकर्तामा उत्साह

बाँके ,१३ मंसिर ।

धितोपत्र बोर्डमा दर्ता भएका दलाल (ब्रोकर) कार्यालयको संख्या नेपालगन्जमा तीन पुगेको छ। पछिल्लो समय प्राइमो सेक्युरिटिज प्रालीले नेपालगन्जमा आफ्नो शेयर कारोबार सेवा औपचारिक रूपमा सुरु गरेपछि यहाँको पूँजीबजार गतिविधि झनै चहलपहलयुक्त बनेको छ। यसअघि नेपालगन्जमा इम्पेरियल र कालिका सेक्युरिटिज प्रालीले ब्रोकर सेवा दिँदै आएका थिए।

प्राइमो सेक्युरिटिजले स्थानीय लगानीकर्तासँग विशेष साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो, जसमा कम्पनीले शेयर बजारको वर्तमान अवस्था, सेवा, अवसर तथा सम्भावनाबारे जानकारी गराएको थियो।
कम्पनीका संस्थापक सञ्चालक बीजय बहादुर शाहका अनुसार नेपालगन्ज आर्थिक हैसियत, व्यापारिक पहुँच र भौगोलिक विस्तारका दृष्टिले देशका महत्वपूर्ण केन्द्रहरूमध्ये एक हो, जसका कारण यहाँको शेयर बजारको भविष्य उज्जवल देखिन्छ।
“नेपालगन्जमा वित्तीय गतिविधि तीव्र छ। बाँके–बर्दियामा लगानीकर्ताको चासो बढ्दै गएको छ। ब्रोकर कार्यालय विस्तारले यहाँका लगानीकर्ताले सहज रूपमा सेवा पाउनेछन्,” शाहले बताउनुभयो।

प्राइमो सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायले लगानीकर्तालाई छिटो, सहज र सुरक्षित सेवा प्रवाह प्राथमिकता हुने बताउनुभयो। उहाँले शेयर कारोबार प्रक्रिया, अनलाइन प्रणाली, जोखिम व्यवस्थापन तथा सेवालाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गर्दै उपस्थित लगानीकर्ताले राखेका जिज्ञासाको विस्तृत उत्तर दिनुभयो।

कार्यक्रममा सहभागी शेयर लगानीकर्ताहरूले नेपालगन्जबाटै उच्च गुणस्तरको ब्रोकर सेवा पाउन थालेपछि वित्तीय साक्षरता कक्षा र नियमित सचेतना कार्यक्रम सञ्चालन गर्न माग गरे।
शेयर लगानीकर्ता अर्जुन सुवेदीले भन्नुभयो— “नेपालगन्जमा ब्रोकर कार्यालय बढ्नु सकारात्मक छ, तर लगानीकर्ताको सुरक्षा र सही जानकारी महत्त्वपूर्ण हुन्छ। नियमित वित्तीय साक्षरता कार्यक्रम आवश्यक छ।”
यस्तै, लगानीकर्ता विकास भट्टराईले स्थानीय युवाहरु शेयर बजारतर्फ आकर्षित भइरहेकाले सिकाइका अवसर बढाउन आग्रह गर्नुभयो।
लगानीकर्ता पुष्प प्रधान र जीवनारायण वेल्बासेले पनि अनलाइन कारोबार, फरेन्सिक विश्लेषण र जोखिम न्यूनिकरणमा समेत तालिमको आवश्यकता रहेको बताउनुभयो।

वि.सं. २०५० साल माघ १ गतेदेखि शेयर कारोबार शुरू गरेको प्राइमो सेक्युरिटिजले नेपालगन्जलाई आफ्नो तेस्रो शाखाका रूपमा विस्तार गरेको हो। कम्पनीका अनुसार ब्रोकर कार्यालय खुल्नासाथ बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत लगायतकाबाट दैनिक रूपमा लगानीकर्ताहरू सेवाका लागि आउने गरेका छन्।

नेपालगन्जका ब्रोकर कार्यालयहरूमा दैनिक १ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको बताइएको छ। ब्रोकर सेवा सहज, द्रुत र पहुँचयोग्य बन्दै गएपछि अब नेपालगन्ज क्षेत्रको शेयर बजार गतिविधि झनै तीव्र हुने अपेक्षा गरिएको छ।

स्थानीय लगानीकर्ताले ब्रोकर कार्यालयको बढ्दो उपस्थिति नेपालको पश्चिम क्षेत्रलाई केंद्रित वित्तीय क्षेत्रका रूपमा उकास्ने महत्वपूर्ण आधार रहेको बताएका छन्।

 

नेपालगन्जमा तेस्रो ब्रोकर कार्यालयसहित शेयर कारोबार थप सक्रिय, लगानीकर्तामा उत्साह

पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको

नेपालगन्जमा तेस्रो ब्रोकर कार्यालयसहित शेयर कारोबार थप सक्रिय, लगानीकर्तामा उत्साह

पश्चिम नेपालमै पहिलोपटक हड्डी, मांसपेशी र छाला

Leave a comment

Your email address will not be published. Required fields are marked *