सिलाई गर्ने हातबाट समाज सिउन थालेकी नेतृ

सिर्जना बुढाथोकी
सुर्खेत, १४ जेठ ।
एक समय थियो, जब उनी कुवामा पानी भर्न घण्टांै पालो कुर्नुपथ्र्यो । गैरदलितले पुग्ने पानी भरेपछि मात्र उनको पालो आउँथ्यो । आज भने त्यही समाजमा उनी सम्मानित नेतृको रूपमा बोल्छिन्, निर्णय गर्छिन्, अनि परिवर्तनको पहरेदार बनेर उभिएकी छन् ।

उनी हुन्, सुर्खेतको वीरेन्द्रनगर–९ की दलित महिला वडा सदस्य रत्ना नेपाली । अलायाचौरकी ४७ वर्षीया रत्नाको जीवनको मोड तब बदलियो, जब तीन वर्षअघि नेकपा एमालेबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनिन् ।

प्रौढ शिक्षा मात्र हाँसिल गरेकी रत्नालाई राजनीति भनेको के हो भन्ने थाहा थिएन । पार्टीका स्थानीय नेताहरुले बुहारीलाई वडा सदस्यको उम्मेदवार बन्न प्रस्ताव राखेका थिए । ‘बुहारीसंग मतदाता परिचयपत्र नहुँदा मलाई अफर आयो, शुरुमा त मैंले नाईनास्ती गरेँ, सबैले उम्मेदवार बन्नुप¥यो भनेपछि नाइँ भन्न सकिनँ, उनी भन्छिन्, ‘पार्टी कमिटीमा नबसेरै जनप्रतिनिधि हुने अवसर पाएँ, अहिले ठीकै गरेछु भन्ने लागेको छ ।’ उनी प्रतिनिधित्वविहीन दलित समुदायको आवाज बन्ने जिम्मेवारी पाउँदा गौरवान्वित छिन् । हाल उनी एमालेको वडा कमिटी सदस्य छिन् ।

शुरु–शुरुमा वडा अध्यक्षकै अगाडि उभिन आँट नगर्ने रत्ना अहिले आफ्नो वडाको हरेक बैठकमा आत्मविश्वासका साथ बोल्छिन् । पहिला अनुहार हेरेर एक शब्द बोल्न नसक्ने उनी अहिले महिला, दलित र समग्र समाजका सवालमा चर्को स्वरमा मुद्दा उठाउँछिन् । उनको आत्मविश्वासले न केवल परिवर्तन ल्याएको छ, तर समाजलाई नै सोच्न बाध्य पारेको छ । उनको परिवर्तन देखेर समाजका मानिस दंग छन् ।

दलित भनेरै नटेर्ने समाजका व्यक्ति अहिले रत्नालाई सम्मान गर्छन् । शान्त स्वभावकी रत्ना, जसले विगतमा कसैको अगाडि बोल्न सक्दिनथिन्, अहिले सामाजिक झैंझगडा मिलाउनेदेखि नयाँ योजनामा सहभागिता जनाउनेसम्मका काममा अगाडि हुन्छिन् । समाजले अब उनलाई पत्याउन थालेको छ । कुनै काम, योजना वा छलफल होस्, उनलाई अनिवार्य उपस्थित गराइन्छ । गाउँलेहरू अब भन्छन्, ‘रत्ना आएनन् भने कुरा अपुरो हुन्छ ।’

सामाजिक विभेदको पीडाबाट गुज्रिएकी रत्ना, आज नेतृत्वको भूमिकामा छन् । उनले दलित समुदायका मात्र होइन, वडाभरिका जनताको प्रतिनिधित्व गरिरहेकी छन् । उनको आत्मबल, प्रतिवद्धता र इमान्दारिता आज धेरै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । रत्नाले कार्यकालको तीन वर्षे अवधिमा घरघरमा खानेपानीको धारा, दलित परिवारका लागि कुखुरा, बाख्रा, बंगुरपालनका लागि वडाबाट सहुलियत गराएकी छिन् । दलित परिवारका महिलाका लागि सीपमुलक तालिम प्रदान गर्ने काम गरिन् ।

अवसर पाएमा वडाध्यक्षकै भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वास बढेको छ, उनीमा । ‘वडा सदस्य भएर धेरै कुरा सिकेँ, सबैले सम्मान पनि गर्छन्, गैरदलित समुदायका मानिसले समेत नमस्कार गर्छन्, रत्ना भन्छिन्, ‘जनप्रतिनिधि भएपछि अक्षर चिन्न पाएँ, सिंगो समुदायको नेतृत्व गर्न पाएँ, अवसर पाएँ अझैं ठूलो जिम्मेवारी पनि पुरा गर्न सक्छु जस्तो लाग्छ ।’

रत्ना नेपालीको कथा केवल एक दलित महिलाको संघर्ष मात्र होइन । यो संघर्षबाट सम्भावना देखाउने, मौनतालाई आवाजमा बदल्ने र नेतृत्वमा रूपान्तरण हुने जीवन कथा हो । साँचो अर्थमा, ती सिलाई गर्ने हातहरूले अब समाज सिलाउने काम गरिरहेका छन् । न्याय, समानता र आत्मसम्मानको धागोले । उनको सक्रियता देखेर वडाध्यक्ष ऋषि गिरी पनि दंग छन् । ‘रत्नाजी पहिले त सामान्य गृहिणी हो, अहिले हाम्रो वडामा अब्बल वडा सदस्यको भूमिका निर्वाह गर्न सक्नुभएको छ, अह्राएको काम पनि मज्जाले गर्नुहुन्छ,’ उनी भन्छन्, ‘जनप्रतिनिधि चुनिएपछि वडा कार्यालयले नै सञ्चालन गरेको प्रौढ कक्षा पढेर हस्ताक्षर गर्न, पत्रपत्रिका पढ्न सक्ने हुनुभयो ।’

बलियो पारिवारिक साथ
रत्नाको सफलताको पछाडि उनको परिवारको ठुलो योगदान छ । श्रीमान शेरबहादुर नेपाली उनका हरेक काममा हरहमेशा हौसला दिन्छन् । उनी भन्छिन्, ‘मेरो राजनीतिक, सामाजिक अभियानमा सिंगो परिवारको साथ छ, त्यही भएर निर्धक्क काम गर्न, आफ्नो क्षमता बढाउन पाएकी छु ।’ घरको सिलाई कटाईको काम पनि उनीहरूकै सामूहिक प्रयासले चलिरहेको छ ।

आर्थिक, सामाजिक र भावनात्मक साथले रत्नाको यात्रा सम्भव बनाएको छ । रत्नाको परिवारले गाउँभरीका मानिसको कपडा सिलाउँछन् । त्यसबापत उनीहरुले नगदमा ज्याला लिँदैनन् । अनाज लिन्छन् । वडा सदस्यले पाउने भत्ताबापतको मासिक ६ हजार पाँच सय र बालिघरेबाट प्राप्त अनाजले रत्नाको घरखर्च चल्ने गरेको छ ।

सिलाई गर्ने हातबाट समाज सिउन थालेकी नेतृ

लुम्बिनीमा वडघर ऐन ल्याउछाैं:मुख्यमन्त्री आचार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *