जाडोसँगै जुम्लाीभेडा औल झार्न शुरु

गाेल्डेन बुढा
जुम्ला,१२ मंसिर।
मंसिर लागेसँगै जुम्ला र आसपासका हिमाली पाटनहरू चिसियाउन थालेका छन्। चिसोको तीखोपन बढ्दै जाँदा उच्च लेकमा चरिरहेका भेडाहरू ‘औल’तर्फ झर्न थालेका छन्। वर्षेनी दोहोरिने यो यात्रासँगै भेडापालकहरूको जीवन पनि हिमालदेखि तराईसम्म सरेर बस्ने अविरल चक्रमा बाँधिन्छ।जुम्लाको सिंजा, हिमा,तिला,पातारासी,गुठिचाैर ,तातोपानीसहित कनकासुन्दरी र आसपासका माथिल्लो बस्तीहरूमा भेडापालन केवल जीविकाको साधन मात्र होइन, पुस्तौंदेखि चलिआएको संस्कृतिसँग गाँसिएको पेशा हो।
गर्मीमा लेक, जाडोमा औल—यही उकालो–ओरालो को तालमेलले भेडापालन सम्भव हुन्छ। यही कारण भेडालाई एकै ठाउँमा बाँधेर पाल्न नसकिने किसानहरूको भनाइ छ।‘भेडा मौसमअनुसार हिँड्नैपर्छ,’ ८ सय भेडासहित औल झर्दै गरेका किसान सिंहरुप बाेहाेरा भन्छन्, ‘लेकमा ऊन निकाल्छौं। ऊन काटिसकेपछि औलमा झर्दा भेडा न्यानो रहन्छ।’ उनीहरूका लागि लेक केवल चरन क्षेत्र मात्र होइन,ऊन संकलनको मुख्य समय र स्थल पनि हो। ऊनबाट राडी–पाखी बनाई बेच्दा राम्रो आम्दानी हुने उनीहरू बताउँछन्।तर यो पेशा मेहनत र जोखिमबाट भरिएको छ। हिमालको चिसो र तराईको ताप, दुवै भेट्नुपर्ने यही सिलसिलाले भेडापालकको जीवन सधैं यात्रामै बित्छ। ‘कहिले हिमाल, कहिले तराई पुग्नुपर्छ। परिवार, चाडपर्व भन्नु हुँदैन,’ अर्का किसान भादरे बाेहाेरा भन्छन्। उनका अनुसार युवापुस्ताले यस्ता कठिनाइ देखेर यो पेशातिर आकर्षण कम गर्दै गएका छन्। ‘आम्दानी राम्रै हुन्छ, वर्षमा ५ -७ लाखसम्म आउँछ।तर कठिनाइले पेशा नै संकटमा परेको हो,’ उनी थप्छन्।बाेहाेराको अनुभूति यथार्थबाट टाढा छैन। भेडा अत्यधिक चिसो र अत्यधिक गर्मी दुवै सहन नसक्ने भएकाले गोठस्थान निरन्तर परिवर्तन गर्नुपर्ने बाध्यता छ। जाडो सुरु हुनेबित्तिकै जुम्ला, मुगु, डोल्पाका पाटनहरू हिउँले ढाकिन थाल्छन्। त्यसपछि गोठाला परिवारसहित औल झर्ने लामो यात्रा आरम्भ हुन्छ,जुन वैशाख सकिनेबेलासम्म मात्र फर्कन्छ।हिउँदभरि गोठालाहरू परिवार, भेडा र गोठालाका कुकुर लिएर औलका बस्तीहरूमा बस्छन्।यात्रा कठिन भए पनि पिढी–दर–पिढी चल्दै आएको यही चक्रमा उनीहरूको जीवन टिकेको छ।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लामा करिब ८८ हजार भेडा र ४६ हजार ३ सय ६ बाख्रा छन्। करिब ६९ हजार हेक्टर चरन क्षेत्र रहे पनि हिउँदमा अधिकांश क्षेत्र अवरुद्ध हुने भएकाले गोठ स्थानान्तरण अनिवार्य बन्छ।जुम्लाका यी भेडापालकहरूको वार्षिक यात्रा केवल चरन खोज्ने कथा मात्र होइन।
यो पहाडी जनजीवन, संस्कृतिको निरन्तरता र प्रतिकूल भौगोलिक अवस्थासँगको अदम्य सहनशीलताको जीवित दस्तावेज हो।प्रकृतिसँगको सहयात्रामा बाँधिएको यही पेशाले जति कष्ट दिन्छ, उतिनै पहिचान र गर्व पनि बोक्छ,हिमालको अँगालोमा सुरु भएर तराईको घाममा टिका लगाउने जुम्लाका भेडापालकहरूको जीवन यस्तै संघर्ष र सम्भावनाको संगममा बगिरहेको छ।






