सम्पादकीय : तीजको गरिमा जोगाऔं !

मंगलबार नेपाली महिलाहरुको महान चाड हरितालिका तीज मनाइएको छ । हिन्दु महिलाहरूको महान चाडका रूपमा मानिने हरितालिका तीजले नेपाली समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण स्थान राख्छ । नेपाली महिलाहरूले यो पर्वलाई आत्मशुद्धि, पारिवारिक समृद्धि, वैवाहिक सम्बन्धको दृढता र आध्यात्मिक आस्थासँग जोडेर मनाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ । विशेषगरी भगवान् शिव र पार्वतीको आदर्श दाम्पत्य जीवनलाई सम्झँदै महिलाले ब्रत बस्ने, पूजा अर्चना गर्ने र आफ्नो मनोकामना पूरा हुने विश्वास गर्ने गरिन्छ । तीजलाई महिलाबीचको आत्मियता, स्नेह र सहकार्य प्रकट गर्ने अवसरको रूपमा पनि हेरिन्छ । दर खाने दिनदेखि नै दिदीबहिनीबीच भेटघाट, खुशी बाँड्ने र आपसी सम्बन्ध अझ मजबुत बनाउने संस्कारले यस पर्वलाई विशेष बनाएको हुन्छ । महिलाहरूले निराहार उपवास बसेर परिवारको सुख–शान्ति र दाम्पत्य जीवनको दीर्घायु कामना गर्ने परम्परा अझै पनि कायम छ ।

विगतमा तीज महिलाहरूको पीडा र गुनासो व्यक्त गर्ने माध्यम पनि थियो । महिला अधिकार, सामाजिक असमानता, घरेलु हिंसा र दमनका कुरा तीजका गीतमा अभिव्यक्त हुने गर्थे । यस कारण तीजलाई केवल धार्मिक मात्र नभई सामाजिक चेतना जगाउने पर्वका रूपमा पनि लिने गरिन्थ्यो । तर, पछिल्ला बर्षहरूमा तीजको स्वरूपमा मौलिकता भन्दा बढी देखासिकी र भड्किलोपन हावी भएको देखिन्छ । दर खाने दिनलाई विशेष महंगा होटलमा हुने भोजभतेरमा सीमित गरिँदैछ । होटल–रेस्टुरेन्ट र पार्टी प्यालेसमा भव्य भोज गर्ने चलनले तीजलाई सम्पन्न वर्गको पर्वजस्तै देखाउन थालेको छ । यसरी विलासीपन बढ्दा साधारण महिलाहरूको सहभागिता घट्ने र पर्वको समावेशीता कमजोर हुने चिन्ता व्यक्त हुन थालेको छ । त्यस्तै, तीजमा गाइने भक्ति–भजन र सामाजिक सन्देशमूलक गीतहरूलाई विस्थापित गर्दै मनोरञ्जनमुखी र आधुनिक शैलीका गीतहरूले बजार भरिएका छन् । कतिपय गीतहरूमा अश्लीलता र अति–नाटकीय प्रस्तुति देखिने गरेको छ, जसले परम्परागत संस्कृति र धार्मिक मूल्यमा धक्का पुर्‍याएको छ । पर्वसँग जोडिएको अर्को समस्या यसको अत्यधिक व्यापारीकरण हो ।

बजारमा तीजलाई लक्षित गर्दै लत्ता कपडा, गरगहना, सौन्दर्य–सामाग्रीदेखि आधुनिक गीत–संगीतसम्म आक्रामक प्रचार गरिन्छ । यसले महिलालाई उपभोगमुखी मानसिकतामा धकेल्ने र तीजलाई संस्कृतिभन्दा बढी व्यापारिक गतिविधिमा सीमित गर्ने खतरा बढाएको छ । तीज नेपाली महिलाहरूको गौरवपूर्ण र गरिमामय पर्व हो । यसलाई भव्यता र भड्किलोपनभन्दा बढी मौलिक संस्कृतिसँग जोडेर मनाउन सकियो भने मात्र यसको वास्तविक मूल्य र महत्व जोगाउन सकिन्छ । परम्परागत आस्था, धार्मिक विश्वास र सांस्कृतिक विशिष्टतालाई जोगाउँदै आधुनिकताको सकारात्मक पक्षलाई आत्मसात गर्ने हो भने तीज नेपाली महिलाहरूबीच आत्मियता, शक्ति र एकताको पर्वका रूपमा स्थापित रहन्छ । यसलाई भड्किलो तरिकाले भन्दा पनि परिस्कृत तवरबाट मनाउनु पर्छ । हिजोका दिनहरुमा महिलाहरुले भोगेका पीडा, दुख र बेदनाका गीतहरु बढी बज्थे भने अहिले सँगसँगै महिलाले गरेका संघर्ष, प्राप्त गरेका सफलताका गीतहरु गाउँदै, बजाउँदै एउटा उत्साहपूर्वक तबरबाट तीज मनाउने परम्परा बढ्दै जानु सकारात्मक पक्ष हो । तीज वर्षेनी आउने चाडा मात्र होइन । यसले महिलाहरुलाई आपसमा जोड्न मात्रै होइन, पारिवारिक मिलनलाई समेत ठुलो स्थान राख्छ । यसर्थ, तीजको मौलिकता र गरिमा जोगाउन आवश्यक छ ।

 

सम्पादकीय : तीजको गरिमा जोगाऔं !

तिलाकाे रारागाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी

Leave a comment

Your email address will not be published. Required fields are marked *