विवाहको प्रलोभनमा योजनाबद्ध तबरबाट ‘बर्बरतापूर्वक’ हत्या

ओम शाही
सुर्खेत, ११ भदौं ।
दैलेखमा विवाह जस्तो पवित्र सम्बन्धको प्रलोभनमा पारी एक युवकको बर्बरतापूर्वक हत्या भएको खुलेको छ । गत साउनमा जिल्लास्थित छामघाट खोला किनारामा शव भेटिएका सुरेन्द्रबहादुर शाहीको योजनावद्ध हत्या गरी खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसका कारण एक परिवारले घरको धरोहर गुमाएको छ, भने एक परिवार जेलको बाटोतर्फ उन्मुख भएको छ ।
गत ११ साउन २०८२ मा वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाबाट ३३ महिनापछि फर्केका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, का २८ वर्षीय शाही जिल्लाकै दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा मृत भेटिएका थिए । संकास्पद अवस्थमा शाही मृत फेला परेपछि दैलेख प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।
घटनाको लामो अनुसन्धानपछि प्रहरीले बर्बरतापूर्ण तथ्य फेला पारेको छ । विवाह गर्ने आश्वासन दिएकी युवतीको धोकाधडीको दुष्चक्रमा शाहीले ज्यान गुमाउनु परेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानबाट शाहीको हत्यामा उनकी पे्रमिका भनिएकी गंगा वन र उनका बुवाआमा संलग्न भएको खुलेको हो ।
शाहीको हत्यापछि सुराक पाएको प्रहरीले आरोपितलाई केन्द्रमा राखेर झण्डै २८ दिनको अनुसन्धान गरेको थियो । अन्ततः उनीहरु नै शाहीको हत्यामा संलग्न भएको प्रमाणित भएपछि प्रहरीले दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको छ ।
महावु गाउँपालिका–५, काँशीकाध बस्ने २७ वर्षीय गंगासहित उनका बुवा नैने र आमा भकुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव निरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए । ‘सुरेन्द्रको शव भेटिएको मितिदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा गंगासहित बुवाआमा पनि संलग्न भएको देखियो,’ बराल भन्छन्, ‘प्रहरीले अनुसन्धान प्रक्रिया सकेर तीनै जनाविरुद्ध ज्यान मार्ने कुुरको मुद्दा जिल्ला अदालतमा दर्ता गरिसकेका छौं ।’
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका शाही झण्डै ३३ महिनापछि घर फर्केका थिए । तर, उनी भने पुग्न पाएनन् । ११ साउनको विहान ६ बजे सुरेन्द्रको शव दुल्लु नगरपालिका वडा नं. ११ कयलकुनास्थित छामघाट खोलाको किनारामा भेटिएको थियो ।
शरिरको तल्लो भाग नाग्गो र शरिरको माथिल्लो भागमा सेतो खैरो रंगको टिसर्टमा उनी मृत भेटिएका थिए । प्रहरीले घटनास्थल मुचुल्का लगायतका कार्यहरु गरी सनाखत गर्न शाहीको शव जिल्ला स्वास्थ्य कार्यालय दैलेख पुर्याएको थियो । शव भेटिदा सुरेन्द्रको पहिचान खुलेको थिएन् । १२ साउनमा मात्रै उनी सुरेन्द्र भएको पहिचान खुलेको थियो । १३ साउनमा जिल्ला प्रहरी कार्यालय दैलेखमा सुरेन्द्रका बुवा झक्कबहादुर शाहीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न भन्दै मुद्दा दर्ता गराएका थिए । सोही दिन सुरेन्द्रको शव पोष्टमार्टम गरेर आफन्तले अन्तिम संस्कारका लागि लगेका थिए ।
फेसबुकको चिनजान अन्ततः हत्यामा परिणत
दैलेखका प्रहरी प्रमुख बरालले घटना शंकास्पद रहेको र आफन्तलेसमेतले केही रहस्यमय सुराक दिएपछि अनुसन्धानको दायरा फराकिलो पारेका थिए । ‘विभिन्न माध्यमबाट अनुसन्धान गर्दै जाँदा गंगाको संलग्नता रहेको देखिने केही बलिया तथ्य फेला परे र उनलाई १४ साउनमा पक्राउ गर्यौं,’ बराल भन्छन्, ‘अनुसन्धानको क्रममा घटनाको प्रतिवादी गंगासहित बुबा नैने र आमा भकुकोसमेत संलग्नता रहेको पाइयो । सबै प्रक्रिया सकेर अदालतमा मुद्दा दर्ता गरिसकेका छौं ।’ सुरेन्द्र रोजगारीका लागि मलेसिया पुगेका थिए । ३३ महिनासम्म उनले उतै काम गरे । मलेसिया हुँदा नै सुरेन्द्र र गंगाबिच फेबुकबाट चिनजान भएको थियो । दुई वर्षसम्म उनीहरुबीच फेसबुकमा कुराकानी भइरहन्छ ।
‘साथी बनाई माया प्रेम गर्छु भनि विवााह गर्नेसम्मको आश्वासन गंगाले दिएको देखिन्छ,’ बराल भन्छन्, ‘यो क्रममा गंगाले प्रलोभनमा पारी विभिन्न बाहाना बनाई बिभिन्न मितिमा विभिन्न माध्यमबाट चार लाख ४६ हजार नौ सय २० रुपैयाँ ५३ पैसा आर्थिक लाभ सुरेन्द्रबाट लिएको अनुसन्धानबाट खुलेको छ ।’ आर्थिक लाभ लिइसकेपछि विस्तारै सुरेन्द्रबाट गंगा टाँढिन खोजिन ।
विस्तारै गंगा टाढिन थालेपछि सुरेन्द्रले आफू नेपाल आउन लागेको जानकारी गराए । तर, गंगाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेण्ड गर्नुका साथै मोवाइलमा ब्लक गरिन । सुरेन्द्र नेपाल आइ नपुग्दै गंगा पासपोर्ट बनाएर विदेश जान काठमाडौंसम्म पुगेको प्रहरी अनुसन्धानले दखाएको छ । नेपाल फर्किएका सुरेन्द्र गंगासँग सम्पर्क गर्न उनकै आफन्तबाट खोजी थाल्छन् । २ साउनमा सुरेन्द्र गंगा र उनका बुवाआमासँगको सम्पर्कमा पुग्छन् ।
‘हत्या गर्ने दिनसम्म तीनै जनासँग सुरेन्द्रको नियमित सम्पर्क भएको देखिन्छ,’ बराल भन्छन्, ‘बुबाआमाले गंगाको विवाह तपाईसंग गरिदिन्छौ भनेर १० साउनमा बोलाएको र सुरेन्द्र गएका रहेछन् । त्यहीँ दिन उनलाई झोलुंगे पुलबाट खोलामा फालेको बयान गंगाले प्रहरीलाई दिएकी छन् ।’
सुरेन्द्रलाई गंगाले महाबु गाउँपालिका–४, काप्रिखोला र ५ नम्बरमा पर्ने काँशीकाध जोड्ने रापटस्थित छामघाट खोला माथिको झोलुङ्गे पुलमा भेट्न बोलाएकी थिइन । सुरेन्द्र त्यहाँ पुगेपछि विस्तारै एकआपसमा झै–झगडा भएपछि १० साउनको राती ११ बजे सोही पुलबाट खोलामा खसाई शाहीलाई मारेको प्रहरी अनुसन्धानले देखाएको छ ।
‘सुरेन्द्रलाई मार्नु पूर्व नै ६ साउनमा गंगाका बुवा नैने र आमा भक्कुले सबै योजना बनाएको देखिन्छ,’ बराल भन्छन्, ‘अपराध गराउन सहयोग गरेको देखिएकोले नैने र भक्कुलाई कसुरको अपराधिक षडयन्त्र, उद्योग, दुरूत्साहन र मतियारको मुद्दा चलाइएको छ ।’ गंगाको हकमा कर्तव्य ज्यान तथा आपराधिक लाभको कसुरमा कारवाहीको मागसहित प्रहरीले अनुसन्धान प्रतिवेदन अदालतमा दर्ता गरेको छ । दैलेख जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले सो मुद्दाका प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिइसकेको छ ।






