सम्पादकीय : सडक दुर्घटना न्यूनिकरणको सवाल

सुर्खेतमा पछिल्लो समय सडक दुर्घटनामा बृद्धि हुँदै गएको छ । चार वर्षको अवधीमा सडक दुर्घटनामा परी जिल्ला भर यस अवधिमा एक हजार ६ सय ७० सवारी दुर्घटनामा एक सय २१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । सात सय ३० जना गम्भीर घाइते हुँदा दुई हजार एक सय ८९ जना सामान्य घाइते भएका छन् । सडक सुरक्षाको दृष्टिकोणले यो निकै कहाली लाग्दो अवस्था हो ।

सुर्खेतमा सबैभन्दा धेरै दुई पांग्रे सवारी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाउछ । दुई पांग्रे साधनमा मोटरसाइकल र स्कुटर छन् । गत आव २०८०/०८१ मा सुर्खेतमा ५७ प्रतिशत दुई पांग्रे सवारी साधन दुर्घटनामा परेको तथांका जिल्ला ट्राफिक प्रहरीसँग छ । १३ प्रतिशत अटोरिक्सा, १० प्रतिशत जीप कार, सात प्रतिशत फोर्स, चार प्रतिशत बस र ट्रक, चार प्रतिशत ट्याक्टर, एक प्रतिशत टिपर र साइकल दुर्घटना भएका छन् । प्रहरीको तथ्यांकलाई विश्लेषण गर्ने हो भने सडक दुर्घटनाको मुख्य कारण तीव्र गति हो ।

तीव्र गतिकै कारण अघिल्लो वर्ष ५७ प्रतिशत सडक दुर्घटना भएका छन् । चालु वर्षमा पनि ५५ प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएका छन् । दुर्घटनाका अन्य कारण सडकको अवस्था, मादक पदार्थ सेवन, लापरवाही र ट्राफिक नियम उल्लंघनका कारण पनि दुर्घटना भइरहेका छन् । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएका कारण सवारी चाप धेरै, सडक साघुँरो र आम जनमानसमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) का कारण जिल्लामा दिनानुदिन सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएको प्रहरीको तथ्यांकले पुष्टि गर्दछ ।

यो अवस्थाले जनस्वास्थ्य, पारिवारिक शान्ति र राष्ट्रिय उत्पादनशीलता तीनै पक्षमा गम्भीर असर पारिरहेको छ । यस्तो अवस्थामा सडक दुर्घटना न्यूनिकरणको विषय सबैको प्राथमिकता बन्नु अत्यावश्यक छ । सडक दुर्घटनाका प्रमुख कारणहरूमा तीव्र गतिमा सवारी चलाउने, मद्यपान गरी गाडी चलाउने, ट्राफिक नियमको उल्लघंन, सडक संरचनाको कमजोरी, असावधानीपूर्ण पैदल यात्रुहरू तथा सवारी साधनहरूको नियमित जाँच नहुनु लगायतका छन् ।

यी समस्या समाधानका लागि सरकार, सवारी चालक, पैदल यात्री तथा नागरिक समाज सचेत हुन आवश्यक छ । सरकारले यातायात पूर्वाधारको सुधार, सडक संकेत र सुरक्षा व्यवस्थाको सुदृढीकरण र ट्राफिक प्रहरीको प्रभावकारी परिचालनमा ध्यान दिनुपर्छ । त्यसैगरी, चालकहरूलाई तालिम दिई व्यावसायिक बनाउनु र ट्राफिक नियमको उल्लघंनमा कडाइका साथ कारबाही गर्ने संयत्रको विकास गर्नु आवश्यक छ ।

विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नु दीर्घकालीन समाधानको बाटो हो । सडक दुर्घटनाले केवल पीडित परिवारहरू मात्र नभई समर्ग राष्ट्रलाई थप आर्थिक भारसमेत बढाउछ । यस कारण सडक दुर्घटनाको विषयलाई हल्का रूपमा हेरिनु हुँदैन । आम नागरिकदेखि सम्बद्ध सबै निकायले आप्mनो जिम्मेवारी बहन गर्न सके मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव छ । अर्कोतर्फ राज्यले मापदण्ड अनुसारका सडक संरचना निर्माणमा ध्यान पुरयाउनु पर्दछ । सडक दुर्घटना न्यूनिकरणको पहिलो सर्त ट्राफिक नियमको पूर्ण पालना अनिवार्य नगरिएसम्म मानविय क्षति रोकिदैन । यसतर्फ नियामक निकायको ध्यान जान जरुरी छ ।

सम्पादकीय : सडक दुर्घटना न्यूनिकरणको सवाल

हिमा गाउँपालिका कर्णालीकै पहिलो बालविवाह मुक्त घोषणा

सम्पादकीय : सडक दुर्घटना न्यूनिकरणको सवाल

फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५

Leave a comment

Your email address will not be published. Required fields are marked *