सङ्कटमा जुम्लाको ‘आरन पेसा’

गोल्डेन बुढा
जुम्ला,९ मंसिर ।
जुम्लाका काठे घरमुनि एक समय घन्किरहने हातौडाको आवाज धम–धम, टन–टन—त्यो केवल एक पेशाको धड्कन मात्र थिएन, जुम्लीका जीवनशैली र इतिहासको संगीत थियो। तर,त्यो आवाज अहिले फुसफुसिएको छ, मानौँ समयका आँधी–हुरीले आरनको आगो नै निभाइदिएको हो।जुम्लाको दुर्गम पातारासी गाउँपालिका–२, पेरे गाउँका रिठे कामीका आँखा अझै पनि हातौडाको लयसँगै भविष्य देख्थे। सत्पुस्ता आरनकर्मीको गर्व, पुख्र्यौली सीपको चिनो, र परिवार पाल्ने साधन सबै एउटै धातुको चुलोमा बाँधिएका थिए। तर आज त्यो चुलो धुलाम्यै छ, घर अँध्यारो, र पेटसँगै भविष्य पनि खाली।“आरन छोडौँ भने पुर्खाको चिनो हराउने डर, नछोडौँ भने बच्चा पाल्नै नसकिने अवस्था,” रिठेको शब्दमा पुस्तौँको पीडा मिसिएको छ।

जुन गाउँमा चैत–वैशाख लागेपछि कोदालो, बन्चरो, हसियाँ बनाउने चटारोले दिनघण्टा छुट्टाउँदै सकिँदैनथ्यो, त्यहाँ अहिले ग्राहक हातगन्ने मात्र। सस्तो र चम्किलो कारखानाका रेडिमेड औजारले गाउँको परम्परागत आरनलाई छायामा धकेलेको छ। यस्तै मुनिराम कामीको दिन–चर्या अझै पनि उस्तै—आगो ताप्नु, फलाम पिट्नु, पसिना पोख्नु। तर आम्दानी भने धुलोझैँ उडेर जान्छ।“दिनभर फलाम पिटे पनि न खाएकै जस्तो, न बचाएकै जस्तो। धेरै साथी त विदेश पुगिसके,” उनी भन्छन्।कोइला र दाउरा एकताका गाउँकै जंगलले पुनः–पुनः दिइरहन्थे। अहिले त्यही कोइला दुर्लभ, फलाम महँगो। “आरन चलाउँदा नाफाभन्दा घाटै बढी छ,” आरनकर्मीहरू सुँघार निकाल्छन्।६ सयदेखि १ हजारमा बिक्ने कोदालो, तीन सय नपुग्दै बेचिने हसियाँ—दुई दिनको मेहनतले पनि एक दिनको खर्च नधानेपछि कसरी भविष्य टल्किएला?मुनिराम भन्छन्, “हामीले त बाउ–बाजेबाट सिक्यौँ, तर अहिलेका बालक–केटाकेटी? हातमा मोबाइल छ, बजारका चम्किला औजारले पुर्खेको धुलो चाख लाग्दैन।”आरनको धुवाँ, फलामको गन्ध र आगोको तापसँग जोडिएको जीवनशैली नयाँ पुस्तामा प्रवेशै गर्न सकेको छैन। अनि आरन धिमे–धिमे इतिहासको पानामा खुम्चिँदै छ।झन्डै वीस वर्षदेखि आरनको धड्कनमा बाँचेका रिठे कामी भन्छन्, “अहिलेसम्म धान–चामल–पिठो—यिनै दिन्छन् मानिसहरू। तर नगद चाहियो भने आफैँलाई दोष दिएर बस्नुपर्छ।”खाद्यान्नमा ज्याला दिने पुरानो परम्परा आजका आर्थिक संरचनामा ‘घातक’ बनिरहेको छ। बजार क्यासमा चल्छ, जीवन खर्च पैसामा। तर आरनकर्मीको हातमा अझै पनि ‘अन्नको ज्याला’कै भारी।जुम्लाका आठै स्थानीय तहमा आरनकर्मी त छन्, तर उनीहरूको योगदान आर्थिक संरचनामा गायबजस्तै। स्थानीय सरकारसँग न स्पष्ट योजना छ, न आरनलाई समेट्ने नीति।आरन आज ‘पेशा’भन्दा बढी ‘पहिचान जोगाउने’ भावनात्मक कर्तव्यमा सीमित छ।
विज्ञहरू भन्छन् सीप अद्यावधिक, प्रविधिजन्य उपकरण, सजिलो कच्चा सामग्री, र व्यवस्थित बजार व्यवस्थापन बिना यो पेसा टिक्दैन।यदि स्थानीय तह र समुदायले संयुक्त लगानी गरे ।खुकुरीदेखि बन्चरो, चक्कुदेखि कोदालोसम्म गाउँमै उत्पादन भई बजारमा पुनर्जीवित हुन सक्छ।
गाउँमै रोजगारी सिर्जना हुन सक्छ।आरन जुम्लाको केवल जीविकोपार्जनको माध्यम होइन,यो पहिचान हो,संस्कृति हो,पुख्र्यौली गौरव हो।तर आज, जुम्लाका गाउँतिर धिमे–धिमे चिसिँदै गएको यो आगो केवल एक पेशा मर्दै गएको संकेत होइन।एक जाति,एक संस्कृति,एक पुर्ख्यौली गर्व ओझेलिँदै गएको चेतावनी पनि हो।यदि आधुनिकीकरण सुरु भएन भने,भोलि हातौडा, सुठी, चिम्टा—सबै वस्तु संग्रहालयमा मात्र देखिने छन्। रिठे–मुनिराम जस्ता आरनकर्मीको कथा पुस्तकका पानामा मात्र बाँकी रहनेछन्।जुम्लाको आरन अझै निभेको छैन।तर चिसिँदै छ—तेसैले आजैबाट फेरि बल्ने यात्रा सुरु हुनुपर्छ।






